काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आशिकुडा प्रणाली (नेपाल कस्टम्स अटोमेटेड सिस्टम्स)अन्तर्गत विकास गरिएको मेनिफेस्ट मोड्युलको सुरुवात गरिएको छ। भन्सार विभागका महानिर्देशक सुमन दाहालले यसको शुभारम्भ गरेका हुन्।
मेनिफेस्ट भन्नाले हवाइजहाज सञ्चालकले विमान गन्तव्यका लागि प्रस्थान गर्नुअगावै कार्गो ह्यान्डलिङ गर्ने कम्पनीलाई दिनुपर्ने मालवस्तुको विवरणलाई जनाउँछ। यस्तो मेनिफेस्टमा मालवस्तु बोक्ने हवाइजहाज, छुटेको स्थान, मालवस्तु धनी, कार्गोको संख्या, तौल र प्याकेजिङको प्रकारलाई जनाउने भन्सार विभागले जनाएको छ।
यस्तो मेनिफेस्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो ह्यान्डलिङ गर्ने कम्पनीहरूले विमानस्थलमा कार्गो व्यवस्थापन गर्ने जिम्मेवारी पाएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीलाई उपलब्ध गराउने र कम्पनीले आफ्नो प्रणालीमा प्रविष्ट गरेपछि स्वत: भन्सारको एनइसिएएस प्रणालीको मेनिफेस्ट मोड्युलले प्रशोधन गर्ने गरी भन्सारको स्वचालित प्रणालीलाई प्राप्त हुने गरी विकास गरी कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ।
मेनिफेस्ट मोड्युलको कार्यान्वयनले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जाँचपास स्वचालित बनाउन सहयोग गर्ने र यो महत्वपूर्ण काम भएको विभागको भनाइ छ। यसले व्यापार सहजीकरण गरी राजस्व जोखिम न्यूनीकरण गर्ने विभागले जनाएको छ।
मेनिफेस्ट मोड्युलको कार्यान्वयनसँगै भन्सारलाई प्राप्त अग्रिम सूचनाका आधारमा मालवस्तुमा रहेको जोखिम अध्ययन गर्न पर्याप्त समय प्राप्त हुने विभागको भनाइ छ। 'यसबाट कुन दिन कस्ता जोखिमपूर्ण वस्तुको पैठारी हुँदैछ भन्ने अनुमान गरी भन्सारले थप निगरानीका उपाय अपनाउने, धेरै मालवस्तु आउने दिन त्यसैअनुसार कर्मचारी खटाउनेलगायतका पूर्वतयारी गर्न सक्नेछ,' विभागले प्रेस विज्ञप्तिमा भनेको छ।
यो व्यवस्थासँगै अब भन्सारमा न्यून घोषणा हुने संभावना पनि अन्त्य भएको विभागको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।