काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा फेरि अनिश्चित बनेको छ। सरकारले लकडाउन अन्त्य गरे पनि सभा सम्मेलन गर्न रोक लगाएका कारण साउन अन्तिम साताका लागि तय भएको महासंघको साधारणसभा स्थगित गर्ने तयारी भएको छ।
यससँगै अब महासंघको साधारणसभा र नेतृत्व हस्तान्तरण कहिले हुन्छ अनिश्चय बढेको छ।
‘सरकारले अन्य क्षेत्र खुला गरे पनि सभा सम्मेलन नगर्न भनेको छ, त्यसकारण साउन २६ र २७ गतेका लागि तय भएको साधारणसभा सार्ने तयारी भएको छ,’ महासंघ स्रोतले भन्यो।
विहीबार बस्ने महासंघको पदाधिकारी बैठकले यसबारे निर्णय गर्नेछ। ‘सरकारले सभा सम्मेलन गर्न खुला गरेको १५ दिनमा साधारणसभा गर्ने गरी अहिलेका लागि सार्न लागिएको हो,’ महासंघका एक पदाधिकारीले भने।
सरकारले बुधबार लकडाउन अन्त्यको घोषणा गरे पनि स्कूल कलेज, सिनेमा हल, सभा सम्मेलन गर्न रोक लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।