काठमाडौं-देशभर तीन दिनदेखि लगातार भईरहेको वर्षाका कारण आधा दर्जन जलविद्युत आयोजना प्रभावित भएका छन्।
चमेलिया खाेलामा धमिलो पानी आएपछि ३० मेगावाट उत्पादन क्षमताको चमेलिया जलविद्युत आयोजना मंगलबार बिहान ८ बजेदेखि साढे ११ बजेसम्म बन्द भएको थियो। अहिले भने उक्त आयोजना सञ्चालनमा आईसकेको छ।
भारी वर्षाबाट सिर्जित समस्याकै कारण ७० मेगावाट उत्पादन क्षमताको मध्यमर्स्याङ्दी, १६ मेगावाटको त्रिशुली र १४ मेगावाट उत्पादन क्षमताको देवीघाट विद्युतगृह बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। त्यस्तै, ६० मेगावाट उत्पादन क्षमताको त्रिशुली ३ ए जलविद्युत आयोजना र १४ मेगावाट उत्पादन क्षमताको मोदी जलविद्युत आयोजना पनि प्रभावित भएका छ।
भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुख ढल्दा लाइनमा क्षति पुग्ने गर्दा विद्युत् आपूर्तिमा समस्या भएको छ। प्रसारण लाईनमा अवरोध पुगेपछि १ सय ४४ मेगावाटकाे कालीगण्डकी जलविद्युत आयोजना आधा क्षमतामा मात्रै चलाईएकाे छ।
निरन्तर वर्षाका कारण कुलेखानी जलासयमा भने १५ वर्ष यताकै बढी पानी भरिएको छ। वर्षायाममा बढी पानी भरिँदा त्यसले सुख्खा याममा आयोजनालाई पूर्ण क्षमतामा राख्न सहयोग पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।