काठमाडौं-व्यवस्थापन संकाय डिन कार्यालयले २०७६ जेठ ३ गते भएको एमफिल परीक्षाको प्रश्नपत्र आउट प्रकरणमा दोषी देखिए तत्कालीन केन्द्राध्यक्ष हरिभक्त जोशीलाई कारबाही गर्ने जनाएको छ।
एमफिल पहिलो सेमेस्टरको गणित विषयको परीक्षा जेठ ३ गते तोकिएको थियो। तर २ गते उक्त विषयको प्रश्नपत्र २ गते नै बाहिरिएको थियो।
नेपाल लाइभमा समाचार प्रकाशित भएपछि व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले तत्कालीन केन्द्राध्यक्ष एवं जनप्रशासन क्याम्पसका प्रमुख हरिभक्त्त शाहीलाई बोलाएर प्रस्टीकरण सोधेको जानकारी दिए।
‘समाचार प्रकाशित भएपछि डिन कार्यालयले उहाँलाई प्रस्टीकरण सोधेको छ,’ डिन शर्माले भने, ‘अन्य प्रमाण जुटाएर छानबिन गर्दैछौँ। दोषी देखिए कारबाही गर्छौं।’
प्रस्टीकरणमा शाहीले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै गल्ती देखिए कारबाही भोग्न तयार रहेको बताएको शर्माले बताए।
त्यस्तै परीक्षा मर्यादित रुपमा सञ्चालन भए–नभएको हेर्ने जिम्मा केन्द्राध्यक्षको हुने पनि शर्माले बताए।
प्रविधिको दुरुपयोग गरेको, परीक्षाअगावै प्रश्नपत्र आउट भएको, परीक्षा हलभित्रै फ्रि वाइफाइको व्यवस्था गरिएको, परीक्षा सञ्चालन भइरहेकै समयमा बखत मेसेन्जरबाट आदानप्रदान भएकोलगायतका विषयमा डिन कार्यालयलाई थाहा नभएको शर्माले दाबी गरे।
‘परीक्षा महाशाखाअन्तर्गत परीक्षा हुने हो। हाम्रो तर्फबाट केही कमजोरी भएको छैन,’ डिन शर्माले भने, ‘परीक्षालगत्तै उजुरी आएको भए हामी छानबिन गर्थ्याैं।’
जनप्रशासन क्याम्पसले एमफिल २०७५ ब्याचको २०७६ जेठ ३ गते तय भएको परीक्षाको प्रश्नपत्र अघिल्लै दिन आउट भएको विषयमा नेपाललाइभले समाचार प्रकाशित गरेको थियो।
समाचार प्रकाशनलगत्तै जनप्रशासन केन्द्रीय विभागले परीक्षाको जिम्मा डिन कार्यालयको हुने भन्दै तत्कालीन केन्द्राध्यक्षलाई चोख्याउने गरि प्रेस विज्ञप्ति जारी गरेको थियो।
याे पनि
जनप्रशासन क्याम्पस प्रमुखबाटै प्रश्नपत्र 'आउट' भएको आरोप, परीक्षा हलमा वाइफाई र म्यासेन्जर सुविधा
जन-प्रशासन क्याम्पस प्रश्नपत्र ’आउट’ प्रकरण : केन्द्राध्यक्षकाे बचाउ गर्दै डिन कार्यालयमाथि दाेषाराेपण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।