काठमाडाैं- त्रिभूवन विश्वविद्यालय जन-प्रशासन केन्द्रीय विभागले २०७५ ब्याचको एमफिलको प्रश्नपत्र बाहिरिएकाे विषयमा तत्कालीन केन्द्राध्यक्ष हरिभक्त शाही मुछिएपछि उनकाे बचाउ गर्दै डिनमाथि दोषारोपण गरेकाे छ। प्रश्नपत्र बाहिरिनुमा तत्कालीन केन्द्राध्यक्ष शाहीको संलग्नता रहेको पुष्टि नहुने दाबी गर्दै विभागले डिन कार्यालयमाथि दाेषाराेपण गरेकाे छ।
२०७५ ब्याचको एमफिलको प्रश्नपत्र बाहिरिएका विषयमा नेपाल लाइभले 'जनप्रशासन क्याम्पस प्रमुखबाटै प्रश्नपत्र 'आउट' भएको आरोप, परीक्षा हलमा वाइफाई र म्यासेन्जर सुविधा' विषयमा समाचार प्रकाशन गरेपछि विभागले बुधबार विज्ञप्ति निकालेर प्रश्नपत्र बाहिरिनुमा शाहीको संलग्नता रहेको दाबी गरेको हाे। विभागले परीक्षा सञ्चालनमा केन्द्राध्यक्षभन्दा व्यवस्थापन संकाय डिन कार्यालयकाे जिम्मेवारी बढी हुने दाबी गर्दै शाहीकाे बचाउमा गरिएको हो। शाही हाल विभागकाे निमित्त प्रमुख तथा जन-प्रशासन क्याम्पस बल्खुका प्रमुखसमेत हुन्।
विज्ञप्तिमा परीक्षाको जिम्मा डिन कार्यलयको हुने भन्दै शाहीलाई बचाएर विभागमाथि दोषारोपण गर्न खाेजिएकाे छ। 'सञ्चारमाध्यममा उल्लेख गरिएजस्तो उहाँ (शाही) यस विभागसम्बन्धी आन्तरिक तथा बाह्य परीक्षा कुनैमा पनि सहभागी भएको यस विभागको रेकर्डमा भेटिँदैन,' विज्ञप्तिमा भनिएकाे छ, 'यद्यपि यस विभाग जनप्रशासन क्याम्पसमा भएकाले र यस क्याम्पसमा क्याम्पस प्रमुखसमेत हरिभक्त शाही नै भएकोले केन्द्राध्यक्ष हरिभक्त शाही नियुक्त भए पनि जाँचका आन्तरिक तथा बाह्य परीक्षाका सबै कार्यक्रम व्यवस्थापन संकाय डिनको कार्यालयले यस विभागका प्रतिनिधिमाफत् गर्ने गराउने गरेको हो। तसर्थ केन्द्राध्यक्ष नियुक्त भएकै आधारमा हालका प्रमुख हरिभक्त शाहीकाे प्रत्यक्ष र अप्रत्यक्ष कुनै पनि संलग्नता रहेको भन्ने कुरालाई पुष्टि गर्दैन।'
विभागले प्रश्नपत्र बाहिरिनुमा उनकाे भूमिका नरहेकाे दाबी गरेपनि डिन कार्यलयले परीक्षा केन्द्रमा प्रश्नपत्र पठाएपछि मर्यादित रुपमा परीक्षा सम्पन्न गर्ने जिम्मेवारी केन्द्राध्यक्षको हुने गर्दछ।
क्याम्पस प्रमुख शाहीमाथि विद्यार्थीको प्रतिवेदन दुरुपयोग गरेको भनी लागेको आराेपमा विभागले प्रतिवेदन नियम अनुसार नै नष्ट गरिएको जिकिर गरेकाे छ। विद्यार्थीका रिपोर्टहरू ६ महिनामा जलाउने नियम भएपनि विश्वविद्यालयमा विद्यार्थीले बुझाएको प्रतिवेदन सो समय नपुग्दै नष्ट गरिएको प्रति भने विभागले जारी गरेको विज्ञप्तिमा स्वीकार गरिएको छ।
जनप्रशासन क्याम्पस प्रमुखबाटै प्रश्नपत्र 'आउट' भएको आरोप विषयमा नेपाल लाइभमा प्रकाशित समाचार यस्ताे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।