एजेन्सी–पोल्याण्डको राष्ट्रपतिमा एण्ड्रेज डुडा पुनः निर्वाचित भएका छन्। आइतबार भएको राष्ट्रपति निर्वाचनमा डुडाले प्रतिस्पर्धी रफाल ट्रजास्कोस्कीलाई साँघुरो मतान्तरमा पराजित गरेका हुन्। ट्रजास्कोस्की वार्सा नगरका मेयर हुन्।
राष्ट्रिय निर्वाचन आयोगले डुडा ५१.२ प्रतिशत मत ल्याएर निर्वाचित भएको जनाएको छ। सन् १९८९ मा कम्युनिष्ट शासन अन्त्य भएयता पोल्याण्डमा यति कम मतअन्तरमा राष्ट्रपति निर्वाचित भएको पहिलो पटक हो।
डुडाले नेसनल ल एण्ड जस्टिस पार्टी नेतृत्वको गठबन्धन सरकार चलाउँदै आएका छन्। यसपटकको निर्वाचनको मुख्य मुद्दा युरोपियन युनियनसँगको तनावपूर्ण सम्बन्धको भविष्य थियो।
डुडाको निर्वाचनले उनको विवादास्पद सुधार योजना तथा समलैंगिक अधिकार र गर्भपतनविरोधी नीतिले निरन्तरता पाउने अनुमान गरिएको छ। निर्वाचन अभियानका क्रममा उनले समलैंगिक अधिकार कम्युनिजमभन्दा पनि बढी विनाशकारी भएको अभिव्यक्ति दिएपछि निकै आलोचना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।