एजेन्सी-भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ सत्तामा आएयता प्रहरी इन्काउन्टरमा १ सय १९ अभियुक्त मारिएका छन्। जसमा ७४ वटा इन्काउन्टरमा प्रहरीले ‘क्लिन चिट’ पनि पाइसकेको छ।
इण्डियन एक्सप्रेसमा प्रकाशित समाचारअनुसार योगी आदित्यनाथ सन् २०१७ मा मुख्यमन्त्री बनेयता विकास दुबे प्रहरी इन्काउन्टरमा मारिएका १ सय १९ औं अभियुक्त हुन्।
ती इन्काउन्टरमध्ये ७४ वटामा प्रहरीले क्लिन चिट पाइसकेको छ भने ६१ वटाको प्रहरीले अन्तिम रिपोर्ट पनि बुझाइसकेको छ, जसलाई अदालतले पनि स्वीकार गरिसकेको छ।
समाचारअनुसार उत्तर प्रदेश प्रहरीले ३ वर्षयता ६ हजार १ सय ४५ अपरेशन चलाइसकेको छ, जसमा १ सय १९ अभियुक्त प्रहरीको गोली लागेर मारिएका थिए भने २ हजार २ सय ५८ घाइते भएका छन्। ती घटनामा १३ प्रहरी पनि मारिएका छन्, जसमा गत साता कानपुरमा मारिएका ८ प्रहरीसमेत छन्। कूल ८ सय ८५ प्रहरी घाइते भएको बताइएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी इन्काउन्टरमा अभियुक्तको हत्याको विषयलाई लिएर उत्तर प्रदेश सरकारलाई २०१७ यता तीन वटा नोटिस पठाइसकेको छ। तर हालसम्म एउटा पनि जवाफ नपठाएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।