एजेन्सी- सिंगापुरमा शुक्रबार भएको आम निर्वाचनबाट पनि सत्तारुढ दल नै विजयी भएको छ। सत्तारुढ दल पिपल्स एक्सन पार्टी (पिएपी) ले नै निर्वाचन मार्फत फेरि सत्ता सञ्चालनको जनादेश पाएको हो।
कुल खसेको मतमध्ये ९० प्रतिशतसम्मको नतिजा आउँदा ९३ सिटमध्ये विपक्षी दल वकर्स पार्टी (डब्लुपी)ले १० मात्रै सिटमा जित्न सफल भएको छ।
निर्वाचनको नतिजा औपचारिक रुपमा घोषणा भएपछि सत्तारुढ दलले फेरि सरकार गठनका लागि गृहकार्य गर्ने साउथ चाइना मर्निङ्ग पोष्टले लेखेको छ।
अहिले सत्तामा रहेको दल सन् १९५९ देखि सत्तामा रहँदै आएको छ। अहिले भएको निर्वाचनमा कुल मतदातामध्ये ६१.२४ प्रतिशतमात्रै मतदाता सहभागी भएका थिए।
आफ्नो पक्षमा निर्वाचनको नतिजा आएपछि प्रधानमन्त्री लि हसिन लुङ्गले नतिजालाई सकारात्मक र सन्तोषजनक रुपमा लिएको बताएका छन्।
यसलाई अति ठूलो उपलब्धिको रुपमा लिनुपर्ने अवस्था नरहेको र यो अनपेक्षित नतिजा नभउको उनको भनाइ छ।
उनले भने, ‘अहिले जुन मत हाम्रो पक्षमा आएको छ, त्यो एकदमै बलियो मतादेश हैन, मैले त्योभन्दा धेरै आउला भन्ने आशा गरेको थिए, तर पनि राम्रो चाहिं भएको छ।’
उनले आफ्नो पक्षमा आएको ६१ प्रतिशत मत लोकप्रिय मत नै भएको र यसको पूर्ण आदर गर्ने पनि बताए।
सत्तारुढ दल पिएपीले यसअघि सन् २०१५ मा ६९.९ प्रतिशत मत ल्याएकोमा अहिले ८.७ प्रतिशत घटेर ६१.२४ प्रतिशतमात्रै ल्याएको हो।
मतदानका लागि सामाजिक दूरी कायम राखेर मतदान गर्ने व्यवस्था गरिएको थियो भने कोराना भाइरसका लागि अपनाउनुपर्ने अन्य सतर्कताहरु अपनाउन पनि लगाइएको थियो।
देशभरि मतदानका लागि यसअघि ८८० मतदान केन्द्रहरु रहेकोमा यस पटक बढाएर ११ सय पुर्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।