एजेन्सी–तिब्बतको मुद्दामा जारी असहमतिबीच चीन र अमेरिकाले एक–अर्का देशका अधिकारीहरुमाथि भिसा प्रतिबन्ध लगाएका छन्।
अमेरिकाले तिब्बती मुद्दामा केही चिनियाँ अधिकारीहरुमाथि भिसा प्रतिबन्ध लगाएको भोलिपल्टै चीनले पनि सोही विषयमा गलत व्यवहार गर्ने अमेरिकीमाथि भिसा प्रतिबन्धको घोषणा गरेको हो।
मंगलबार अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकाको नयाँ कानुनुअनुसार चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्ध लगाइएको बताएका थिए। उनले तिब्बतमा अमेरिकी नागरिकलाई जानबाट रोक लगाउने चिनियाँ अधिकारीहरुमाथि भिसा प्रतिबन्ध लगाएको जनाएका छन्। अमेरिकाले तिब्बती स्वतन्त्रताको समर्थन गर्दै आएको छ भने चीनले त्यहाँ जानबाट अमेरिकी नागरिक र पत्रकारहरुलाई रोक लगाउँदै आएको छ।
जवाफमा चिनियँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले अमेरिकाको यो कदमको विरोध गर्दै तिब्बतसँग सम्बन्धित मुद्दाको माध्यमबाट आफ्नो देशको आन्तरिक मामिलामा गरिएको हस्तक्षेप रोक्न माग गरेका छन्।
यसअघि अमेरिकाले हङकङ मामिलामा पनि चिनियाँ अधिकारीहरुमाथि भिसा प्रतिबन्ध लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।