काठमाडौं–हत्या र बलात्कारको आरोप लागेका रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा प्रहरीले १० घण्टासम्म छापा मारेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को प्रहरी टोलीले बिहीबार १० घण्टा लगाएर आश्रममा छापा मारेको हो। ‘लिटिल बुद्ध’ दाबी गर्दै आएका उनी आश्रम आएको सूचनाको आधारमा छापा मारिएको थियो।
सिआइबी स्रोतअनुसार बम्जन आश्रममा आएको सूचना पाएपछि प्रहरी टोली सिन्धुली पुगे पना प्रहरीको आएको पूर्व जानकारी पाएपछि उनी आश्रमबाट जंगलतर्फ फरार भएका थिए। ‘हामी पुग्नुभन्दा केही समय अघि नै उनी जंगलतर्फ भागिसकेछन्। १० घण्टासम्म खोजतलास भए पनि फेला पार्न सकेनौं,’ सिआइबी स्रोतले नेपाल लाइभसँग भन्यो।
गत माघ २३ गते जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले माघ २४ गते पनि बम्जनको सिन्धुलीस्थित आश्रममा छापा मारेको थियो। त्यसबेला पनि उनी भेटिएका थिएनन्। त्यसपछि ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई बम्जनलाई पक्राउ गर्न भन्दै प्रहरीले सर्कलुर गरेको थियो।
सिन्धुलीको कमलामाई नगरपालिका–८, बेसारे भन्ने ठाउँमा करिब ४० बिगाहा क्षेत्रफलमा बम्जनको आश्रम फैलिएको छ। सोही ठाउँमा पुगेर प्रहरीले सर्च अपरेसन चलाए पनि बम्जन फेला पर्न सकेनन्।
बम्जनको आश्रममा गएका अनुयायीहरू बेपत्ता भएको खबर बाहिर आएसँगै प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको थियो। केही अनुयायीले बलात्कारको आरोपसमेत लगाएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले बम्जनको सिन्धुपाल्चोक आश्रमस्थलमा पुगेर अनुसन्धान गरे पनि प्रतिवेदन सार्वजनिक गरेको छैन। हराएका अनुयायीको हत्या गरेर शव गाडेको आशंकामा खोजी गर्दा एक खाल्डोमा नुनको पोका फेला परेको थियो।
शव गाडेर चाँडो कुहाउन नुन हालेको प्रहरीको आशंका थियो। तर, कंकालसमेत फेला परेको थिएन। बम्जनविरुद्ध बारा र मकवानपुरमा समेत उजुरी परेको छ।
बम्जनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता भएको आरोप उनलाई लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।