काठमाडौं– 'लिटिल बुद्ध' दाबी गर्दै आएका रामबहादुर बम्जनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। बम्जनको आश्रममा गएका अनुयायीहरु बेपत्ता भएको खबर बाहिर आएसँगै प्रहरीले अनुसन्धान सुरु गरेको हो।
अनुसन्धानकै क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली बम्जनको आश्रमस्थल सिन्धुपाल्चोक पुगेको छ।
यसबारे नेपाल लाइभलाई जानकारी दिँदै सिआइबीका डिआइजी निरज शाहीले भने, ‘टोली सिन्धुपाल्चोक गएको छ। अहिलेसम्म त्योभन्दा बढी जानकारी केही छैन। हामी अनुसन्धानको प्रारम्भिक चरणमा छौं।’
बम्जनविरुद्ध बारा र मकवानपुरमा उजुरी परेको छ। बम्जनमाथि लागेका आरोप सार्वजनिक भएसँगै सम्बन्धित प्रहरी कार्यालयलाई अनुसन्धान गर्न निर्देशन दिइसकेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।
बम्जन अहिले सिन्धुलीको आश्रममा रहेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले चौबीसै घन्टामा निगरानीमा राखेको छ।
पुस १३ गतेमात्रै राजधानीमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले बम्जनको आश्रमबाट बेपत्ता भएकाहरुको खोजी गर्न माग गरेका थिए। बम्जनको आश्रमबाट चार जना बेपत्ता भएको पीडित परिवारले बताएका छन्।
नुवाकोट म्यगङ गाउँपालिका–३, देउरालीकी चिनीमाया तामाङ ६ वर्षदेखि बेपत्ता भएको बताइएको छ। उनी सुरुमा सिन्धुलीको आश्रममा गएको र २०६९ सालदेखि बेपत्ता भएको भन्दै उनकी दिदी गंगामायाले उजुरी समेत दिएकी छिन्।
बाराको हलखोरियामा आनी बन्न गएकी हेटौंडा–१६ की पासाङ भन्ने फूलमाया रुम्बा २०७१ सालदेखि हराएको परिवारले बताएका छन्।
बम्जनपीडित परिवार सबैले आश्रममा गएका आफनतलाई बेपत्ता पारेको, अभद्र व्यवहार गरेको, सम्पर्क गर्न नदिएको लगायतका आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।