काठमाडौं– 'लिटिल बुद्ध' भनेर चिनिने रामबहादुर बम्जनबाट पीडित परिवारले बेपत्ता पारिएका आफन्तको खोजी गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले बम्जनको आश्रमबाट बेपत्ता भएकाहरुको खोजी गर्न माग गरेका हुन्।
नुवाकोट म्यगङ गाउँपालिका–३, देउरालीकी चिनीमाया तामाङ ६ वर्षदेखि बेपत्ता भएको उनकी दिदी गंगामायाले बताइन्। ‘मेरो साहिँली बहिनी बेपत्ता भएको ६ वर्ष भयो। बहिनी मरेको भए लास पाऊँ, बाँचेको भए भेट्न पाऊँ,' उनले भनिन्।
चिनीमाया तामाङ सुरुमा सिन्धुलीको आश्रममा गएको र २०६९ सालदेखि बेपत्ता भएको उनले पत्रकार सम्मेलनमार्फत जानकारी दिइन्।
हलखोरियामा आनी बन्न गएकी हेटौंडा–१६ की पासाङ भन्ने फूलमाया रुम्बा २०७१ सालदेखि हराएको बताइएको छ।
मकवानपुरको पदमपोखरी वनस्पतिका महेन्द्र वाइबाका बुवा पनि बम्जनकै आश्रमबाट बेपत्ता भएको उनका छोरा महेन्द्र वाइबाले बताए।
बम्जनपीडित परिवार सबैले आश्रममा गएका आफनतलाई बेपत्ता पारेको, अभद्र व्यवहार गरेको, सम्पर्क गर्न नदिएको लगायतका आरोप लगाएका छन्।
‘अहिलेसम्म भगवान् हुन भन्दै पूजा गरियो; वास्तविकता त्यस्तो रैनछ। हाम्रा बेपत्ता मानिसको खोजी गरिदिनुपर्यो,’ वाइबाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।