एजेन्सी–भारतीय र चिनियाँ सैनिकबीच लद्दाखमा भएको भिडन्तमा मारिएका २० सैनिकको नाम भारतले सार्वजनिक गरिसकेको छ। तर चिनियाँ पक्षले भने अहिलेसम्म एक जनाको पनि ज्यान गएको पुष्टि गरेको छैन। मंगलबार र बुधबार भारतीय मिडियाले चिनियाँ सैनिक पनि मारिएको दाबी गर्दै आएका थिए। तर चीनले त्यसलाई पुष्टि गरेको छैन। बुधबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयले पनि यो विषयमा गोलमटोल जवाफ दिएको छ।
पत्रकार सम्मेलनमा भारतीय समाचार एजेन्सी पिटिआइका तर्फबाट भारतीय मिडियामा आएका चिनियाँ सैनिकको हताहतीका समाचारबारे प्रश्न सोधिएको थियो। यसमा विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले ठोस उत्तर दिएनन्। ‘मसँग यहाँ त्यस्तो कुनै जानकारी छैन, जुन यहाँ सार्वजनिक गरुँ,’ उनले भने, ‘दुवै देशका सैनिक ग्राउन्डमा समस्या समाधान गर्ने प्रयासमा छन्।’
उनले यो घटना भएदेखि नै समाधान गर्ने विषयमा दुवै देशबीच कुराकानी भइरहेको बताए। विश्वका दुई विकासशील देश र फैलँदो बजार भएका भारत र चीनका बीचमा मतभेदभन्दा साझा हित आवश्यक भएको उनको भनाइ थियो। दुवै देशले आ–आफ्ना नागरिकहरुको हित र आशालाई ध्यानमा राखेर सम्वन्ध विस्तार गर्नुपर्ने भन्दै उनले कुनै सहमतिमा पुगेर त्यसको पालना गर्नुपर्ने बताए।
प्रवक्ता चाओले भारतीय पक्ष चीनसँग मिलेर काम गर्ने र सगै अघि बढ्ने आशा गरेको उल्लेख गरे। फेरि हिंसात्मक झडप हुँदैन भनेर बुझ्न सकिन्छ? भनि सोधिएको प्रश्नमा उनले आफूहरुले सीमामा थप तनाव नचाहेको टिप्पणी गरे।
गलवान उपत्यकामाथि चिनियाँ दाबी
यही विवादका बीचमा चिनियाँ जनमुक्ति सेनाले गलवान उपत्यकाको सार्वभौमिकता सधै चीनसँग रहेकाले यसमा भारतीय दाबी नपुग्ने अभिव्यक्ति दिएको थियो। यसै विषयमा विदेश मन्त्रालयका प्रवक्तालाई सोधिएको प्रश्नमा पनि उनले घुमाउरो रुपमा उक्त भूभाग चीनको भएको दावी गरे।
‘अहिले भारत र चीन सैन्य र राजनीतिक दुवै स्तरमा वार्ता गरिरहेका छन्। तर तथ्य प्रष्ट छ, जे भयो एलएसीको क्षेत्रमा भएको छ,’ प्रवक्ता चाओले भने, ‘भारतीय पक्ष चिनियाँ क्षेत्रमा प्रवेश गरेपछि भएकाले यसमा थप केही पुष्टि गरिरहनु पर्दैन ।’ समाचार एजेन्सी पिटीआईका अनुसार भारतीय विदेश मन्त्रालयले चीनको गलवान उपत्यकामाथि चिनियाँ दाबी अस्वीकार्य भएको टिप्पणी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।