नयाँ दिल्ली- बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा नयाँ मोड आएको छ। सुशान्तको आत्महत्याका लागि केही चर्चित सेलिब्रेटिको हात रहेको दाबी गर्दै अधिवक्ता सुधीर कुमार ओझाले ४ जनाविरुद्ध मुद्दा दायर गरेका छन्। ओझाले चर्चित निर्माताहरू करण जोहर, सञ्जयलिला भन्साली, सलमान खान, एकता कपुरसमेतलाई जिम्मेवार मान्दै निवेदन दर्ता गराएका हुन्।
विहारको मुजफ्फरपुर अदालतमा उनले निवेदन दर्ता गराएका हुन्। एएनआईका अनुसार आइपिसीको धारा ३०६,१०९,५०४ र ५०६ अनुसार कारबाही हुनुपर्ने माग निवेदनमा गरिएको छ। ‘सुशान्तलाई कम्तिमा सातवटा फिल्मबाट हटाइएको थियो, उनका केही फिल्म रिलिज भएका थिएनन्’ उनले भने‚ ‘सुशान्तको वरपर यस्तो अवस्था सिर्जना भयो‚ जसले उनी सुसाइडको कदम उठाउन बाध्य भए।’
आफूविरुद्ध मुद्दा दायर भएपछि एकता कपुरले इन्स्टामा मुद्दा दर्ता गरेकोप्रति धन्यवाद दिएकी छन्। उनले सुशान्तलाई आफूले नै सुशान्तलाई अवसर दिएको भन्दै उनले यस्ता सिद्धान्तबाट चिन्तित भएको लेखेकी छन्। उनले सुशान्तको परिवार र साथीलाई शान्तिसँग बस्न दिन पनि उनले आग्रह गरेकी छन्।
सुशान्तको सुसाइडपछि बलिउडका धेरै कलाकारको ट्रोल बनाउन सुरु भएको थियो। यसमा करण जोहरको नाम अग्रपंक्तिमा रहेको छ। अभिनेत्री कंगना रनौतले त यो योजनाबद्ध हत्याजस्तै भएको आरोप लगाएकी थिइन्। बलिउडमा रहेको नातावादका कारण उनले आत्महत्या गरेको रनौतको जिकीर थियो। तर हालसम्म सुशान्तको आत्महत्याको कारण खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।