एजेन्सी- भारतीय र चिनियाँ सेनाबीच सोमबार लद्दाख क्षेत्रमा भएको हिंसात्मक झडपप्रति संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ। मंगलबार बिहान संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसका तर्फबाट सहप्रवक्ता एरी कानेकोद्वारा जारी विज्ञप्तिमा दुवै देशका सीमामा भएको घटनाप्रति सजगता अपनाएर वार्ताामा बसेर सामाधान गर्न पनि आग्रह गरिएको छ।
सोमबारको घटनाप्रति चिन्ता व्यक्त गर्दै भारत र चीन दुवैलाई अधिकतम संयम अपनाउन संयुक्त राष्ट्र संघले भनेको छ। उक्त भिडन्तमा २० भारतीय सैनिकको ज्यान गएको छ भने चीनतर्फको विवरण सार्वजनिक भएको छैन। भारतीय सञ्चार माध्यमले भने ३५ जनाको मृत्यु भएको दाबी गर्दै आएका छन्।
‘लाइन अफ कन्ट्रोलमा भएका हिंसात्मक झडप र मृत्युका खबरप्रति हामी चिन्तित छौं’ संयुक्त राष्ट्र संघले भनेको छ‚ ‘भारत तथा चीनलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछौं।’ साथै दुई देशबीचको तनावलाई कम गर्न प्रयास सुरु हुनुलाई सकारात्मक रुपमा लिएको समेत विज्ञप्तिमा उल्लेख छ।
भारत र चीनबीच विगत एक महिनादेखि कायम रहेको तनाव बढ्दै गएर सोमबार साँझ हिंसात्मक झडपको रुप लिएको थियो। पूर्व लद्दाखको गलवन उपत्यकामा भएको झडपमा सैनिकले ज्यान गुमाएपछि यो झन् संवेदशील भएको थियो। घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।