काठमाडौं– नेपाली कांग्रेस नेपालीसँग विवाह गरेर आउने विदेशी नागरिकलाई दिइने नागरिकताको सम्बन्धमा नागरिकता ऐन २०६३ को प्रावधानमा अडिने भएको छ।
सभापति शेरबहादुर देउवा निवासमा बसेको शीर्ष नेताको बैठकले राज्य व्यवस्था समिति सदस्यहरुलाई साबिककै व्यवस्थामा अडान राख्न निर्देशन दिएका हुन्। मंगलबारको समितिको बैठकमा राज्यव्यवस्था सचिवालयले विवाह गरी आउने महिलाका लागि सात वर्ष पुगेपछि मात्रै अंगीकृत नागरिकता प्रदान गर्ने प्रस्ताव गरेको छ।
बैठकमा सहभागी सहमहामन्त्री डा प्रकाशशरण महतले संविधानमा भएको व्यवस्थाकै निरन्तरताको पक्षमा कांग्रेस रहेको बताए। महतले भने, ‘विवाह गरी आएका भारतका मात्रै नहुने भएकाले सात वर्षे अवधि राख्नुपर्ने देखिदैन।’
बिहे गरी आएपछि जन्मेको देशमा नागरिकता छोडेको हुनुपर्ने व्यवस्था संविधानमा भएकाले समयावधि राख्न आवश्यक नहुने उनले बताए। उनले भने, ‘अर्को देशको नागरिकता समाप्त भइसकेपछि यति वर्ष, उति वर्ष भनेर हामी राख्नुपर्दैन।’
भारतबाट मात्रै बिहे गरेर नेपाल आउने जस्तो गरी प्रावधान राख्न नहुने उनले बताए।
भारतले आफ्नो संविधानमा सात वर्षको अवधि पुगेको राखेकै आधारमा नेपालले पनि त्यही समय राख्न उचित नहुने उनले बताए।
लामो समयदेखि नागरिकता विधेयकको छलफल समितिमा रोकिएको थियो। मंगलबारको बैठकमा सत्तारुढ दल नेकपाका समिति सदस्यहरु बहुमतको आधारमै भए पनि निर्णय गर्नुपर्ने पक्षमा थिए।
नेपाली कांग्रेसका समिति सदस्य दिलेन्द्र बडु र डिला संग्रौलाले पार्टीमा थप छलफल गर्न समय मागेका थिए। कांग्रेसका सदस्यहरुले समय मागेपछि बुधबार टुंग्याउने गरी बैठक सारिएको थियो।
राज्य व्यवस्था समितिमा रहेका कांग्रेस सांसद अमरेशकुमार सिंह अवधि नराख्ने पक्षमा अडिग थिए। समिति सदस्यद्वय बडु र संग्रौला पछिल्लो परिस्थिति अनुसार समयावधि राख्नुपर्ने पक्षमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।