काठमाडौं- नागरिकता विधेयकलाई आजै टुंगो लगाउने तयारीका साथ बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकले विधेयकलाई टुंग्याउन नसक्दा भोलि पनि बैठक बस्ने भएको छ।
मंगलबार (आज) को बैठकमा समिति सभापति शशी श्रेष्ठले नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई सात वर्षपछि मात्रै नागरिकता दिने राखेकी थिइन्।
बैठकमा सभापतिका तर्फबाट प्रस्तुत प्रस्तावमा भनिएको छ‚ ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नेपाली नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्ष स्थायी बसोबास कायम गरेको रहेछ भने निजले नेपालको नागरिकता प्राप्त गर्न सक्नेछन्।’
सो प्रस्तावलाई कांग्रेसका दिलेन्द्र बडू लगायतका नेताले असहमति नजनाए पनि पार्टीसँग छलफल गर्न माग गरेका छन्। आजै मतदानबाट भए पनि टुंगो लगाउने भनिएको विधेयकलाई एक दिन पछि सार्न सभापति श्रेष्ठ तयार भएपछि विधेयकको टुंगो लाग्ने समय भोलि सम्मलाई लम्बिएको हो।
नागरिकता विधेयकलाई टुंगो लगाउन भोलिको बैठकलाई अन्तिम भनिएको छ। भोलि पनि कुरा नमिले मतदानबाट भए पनि टुंगो लगाउने सभापति श्रेष्ठको योजना छ।
नेपालीसँग विवाह गरेर आउने महिलालाई नागरिकता दिने समयावधि निर्धारण गर्न नसक्दा विधेयक अघि बढ्न सकेको थिएन। विवादका अन्य विषय भने लगभग टुंगिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।