काठमाडौं– काठमाडौँ महानगरपालिकाले जलवायु न्याय, समावेशी विकास र उत्थानशील शहर निर्माणका लागि सातबुँदे प्रतिविद्धतासहित ‘काठमाडौँ जलवायु घोषणा २०८३’ जारी गरेको छ ।
आइतबार काठमाडौँ जलवायु कार्य सप्ताह, २०८३ को समापन समारोहमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले घोषणा सार्वजनिक गरेकी हुन् ।
मंसिर ७ देखि १३ गतेसम्म सञ्चालन भएको काठमाडौँ जलवायु कार्य सप्ताहमा प्राप्त ज्ञान, अनुभव, सुझाव र सिकाइलाई कार्यान्वयनमा लैजाने उद्देश्यले घोषणा जारी गरिएको डंगोलले बताइन्। घोषणामा जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट, वायु प्रदूषण तथा प्राकृतिक र सांस्कृतिक सम्पदामाथिको जोखिम न्यूनीकरण गर्न साझा प्रयास र सहकार्यमा जोड दिइएको छ ।
महानगरपालिकाले जलवायु परिवर्तनसम्बन्धी विषयलाई विद्यालय तहको स्थानीय पाठ्यक्रममा समावेश गर्ने, बालबालिका तथा युवालाई निर्णय प्रक्रिया र जलवायु समाधानका गतिविधिमा सहभागी गराउने प्रतिबद्धता जनाएको छ ।
त्यस्तै, रैथाने ज्ञान, सीप र वैज्ञानिक अनुसन्धानलाई विकास आयोजनासँग जोड्दै प्रकृतिमा आधारित समाधानलाई प्राथमिकता दिने घोषणा गरिएको छ । काठमाडौँ उपत्यकालाई जलवायु उत्थानशील सहर बनाउन वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन, आकाशे पानी संकलन तथा पुनर्भरण, नदी तथा खोलाको पुनर्जीवन, हरित क्षेत्र विस्तार, हिटी, पोखरी र राजकुलो संरक्षण तथा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै, स्वच्छ ऊर्जा, ऊर्जा दक्षता, फोहोर मैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण र पानीको मितव्ययी उपयोगलाई नागरिकको दैनिक जीवनसँग जोड्ने प्रतिबद्धता पनि घोषणामा समेटिएको छ । जलवायु न्यायको केन्द्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय तथा अनौपचारिक बस्तीका बासिन्दालाई राखिएको छ । जलवायु सुरक्षालाई सुविधा नभई प्रत्येक नागरिकको अधिकारका रूपमा स्थापित गर्ने घोषणा गरिएको छ ।
कार्यवाहक मेयर डंगोलले भनिन् ‘जलवायु परिवर्तनका कारण बढ्दो बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट, वायु प्रदूषण तथा प्राकृतिक र सांस्कृतिक सम्पदामाथिको जोखिम न्यूनीकरण गर्दै जलवायु न्याय, समावेशी विकास र उत्थानशील सहर निर्माण गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाको नेतृत्वमा २०८३ मंसिर ७ देखि १३ गतेसम्म आयोजित काठमाडौँ जलवायु कार्य सप्ताहबाट प्राप्त ज्ञान, अनुभव र सुझावलाई कार्यान्वयनमा रूपान्तरण गर्न हामी प्रतिबद्ध छौँ । जलवायु परिवर्तन मानव सभ्यताको साझा चुनौती भएकाले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य, समन्वय र समावेशी सहभागिता सुनिश्चित गर्दै जलवायु न्यायको सिद्धान्त आत्मसात गर्नेछौँ । विद्यालय तहदेखि जलवायु शिक्षा, वातावरण संरक्षण र विपद् जोखिम न्युनिकरणसम्बन्धी ज्ञान तथा सीप विकास गरी बालबालिका र युवाको सक्रिय सहभागिता सुनिश्चित गर्नेछौँ । विकासका योजना तथा आयोजनामा वातावरणीय संवेदनशीलता र जलवायु जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिँदै रैथाने ज्ञान, स्थानीय सीप र प्रकृतिमा आधारित समाधान अपनाउनेछौँ । नदी, पोखरी, हिटी, वन, जलाधार र सांस्कृतिक सम्पदाको संरक्षण, वायु प्रदूषण नियन्त्रण, हरित क्षेत्र विस्तार, वर्षाको पानी सङ्कलन तथा विद्युतीय सार्वजनिक यातायातको प्रवर्द्धन गर्दै काठमाडौँलाई जलवायु उत्थानशील सहर बनाउनेछौँ । स्वच्छ ऊर्जा, फोहोर मैला व्यवस्थापन, उत्सर्जन न्यूनीकरण, पानीको दिगो उपयोग र विपद् पूर्वतयारीलाई नागरिकको दैनिक जीवनसँग जोड्नेछौँ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, विपन्न तथा जोखिममा रहेका समुदायको आवश्यकता र सहभागितालाई प्राथमिकता दिनेछौँ । साथै, प्रतिविद्धतालाई समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य उपलब्धिसहित कार्यान्वयन गर्दै तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार र समुदायबीच सहकार्य, अनुगमन तथा जवाफदेहिता सुनिश्चित गर्नेछौँ ।’
घोषणामा प्रतिबद्धता र घोषणामा मात्रै सीमित नभई कार्यान्वयन र परिणामलाई प्राथमिकता दिने उल्लेख छ । यसका लागि कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य उपलब्धिसहित कार्यक्रम अघि बढाउने महानगरपालिकाले जनाएको छ । त्यस्तै, स्थानीय, प्रदेश र संघीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र तथा अनुसन्धान संस्थाबीच सहकार्यको संयन्त्र विकास गर्दै जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।