एजेन्सी- भारत-चीन सीमा क्षेत्रमा भएको झडपमा मारिएका तीन सैनिकमध्ये २ जनाको पहिचान खुलेको छ। बिबिसी हिन्दीका अनुसार गलवान घाँटीमा भएको झडपमा मारिनेमध्ये एक भारतीय सेनाका कर्नेल सन्तोष बाबु हुन्। तेलंगानाका उनी भारत-चीन सिमामा डेढ वर्षदेखि कार्यरत थिए।
उनी बिहार रेजिमेन्टका हुन्। बिबिसी हिन्दीका अनुसार उनकी आमालाई भारतीय सेनाले सोमबार दिउँसो घटनाबारे जानकारी गराएका थिए। उनकी श्रीमती भने दिल्लीमा बस्दै आएकी छिन्।
अर्का सैनिक जवानको नाम पलनी हुन् र उनी तामिलनाडु निवासी हुन्। उनी २२ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए। सोमबार बेलुका सेनाका अधिकारीले फोन गरेर आफ्नो दाजुको मृत्यु भएको जानकारी दिएको पलनीका भाईले बिबिसी हिन्दीलाई बताएका छन्। सो मुठभेडमा चीनियाँ पक्षतिर के कति क्षति भयो भन्ने सार्वजनिक भएको छैन।
चीनिया सैनिकसँगको मुठभेडमा मारिने तीन सैनिक जवानमध्ये एक जनाको पहिचान अझै सार्वजनिक भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।