एजेन्सी- एटलान्टामा प्रहरीको गोली लागेर अश्वेत नागरिक रेसर्ड ब्रुक्सको मृत्यु भएपछि अमेरिकी शहरहरुमा पुनः हिंसा फैलिएको छ। मिनियापोलिसमा प्रहरी नियन्त्रणमा जर्ज फ्लोयडको मृत्युपछि शुरु भएको आन्दोलन थामिन नपाउँदै एटलान्टामा अर्का अश्वेत नागरिकको हत्या भएपछि आन्दोलनसँगै हिंसात्मक घटना बढेको हो।
स्वास्थ्य परीक्षणमा एटलान्टाका २७ वर्षीय रेसर्ड ब्रुक्सको हत्या भएको खुलेपछि अमेरिकी शहरहरुका सडकमा प्रदर्शन तातिएको छ नै स्थानीय प्रहरी प्रमुखले राजीनामा समेत गरेका छन्। क्रुद्ध प्रदर्शनकारीले ब्रुक्सको हत्या भएको स्थान नजिकको वेन्डी रेस्टुराँमा आगो लगाइदिएका छन्। ब्रुक्सले यही रेस्टुराँमा जाने बाटोमा कार तेर्स्याएर आवतजावतमा अबरोध गरेको भन्दै प्रहरीले उनीमाथि गोली चलाएको थियो।
एटलान्टाका मेयर केशा लान्स बटम्सले पत्रकार सम्मेलन गरेर प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिएको घोषणा गरेका थिए। मेयर बटम्सले प्रहरीले शक्तिको दुरुपयोग गरेको भन्दै क्षमा समेत मागेका थिए। ब्रुक्समाथि गोली चलाउने प्रहरी अधिकृत ग्यारेट रोल्फलाई सेवाबाट बर्खास्त गरिएको छ।
फुल्टोन काउन्टीका न्यायाधीवक्ता पल होवार्डले दोषी प्रहरी अधिकृत रोल्फमाथि फौजदारी अभियोग लगाउने वा नलगाउने भन्ने बारेमा चाँडै निर्णय हुने जानकारी दिए। गत शुक्रबारको यो घटना हुँदा ब्रुक्स आफ्नो कारमा सुतिरहेका थिए। वेन्डी रेस्टुराँमा आवतजावत गर्ने मार्गमा अवरोध गरेको भन्दै उक्त रेस्टुराँले प्रहरीलाई खबर गरेको थियो।
तत्काल उक्त स्थानमा पुगेको प्रहरी र कारभित्र सुतिरहेका ब्रुक्सलाई प्रहरीले उठाएर कार बाहिर निकालेको थियो। कार बाहिर आएका उनले मदिरा सेवन गरे नगरेको परीक्षणपछि प्रहरीले हत्कडी लगाउन खोज्दा हातपात सुरु भएको थियो। भिडियो फुटेजमा दुई प्रहरीले ब्रुक्सलाई नियन्त्रणमा लिन निकै प्रयास गरेको देखिन्छ। उनले प्रहरीकै हतियार खोसेका ताक्दै भाग्न थालेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीबाट खोसिएको हतियार घातक नरहेको र त्यसबाट मानिसको मृत्यु नहुने अनुसन्धान अधिकारीहरुले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।