साधारणतया स्वस्थ हुनु भनेको शरीरले आफ्नो क्रियाहरू बिना कुनै गतिरोध, बिना कुनै अप्ठ्यारो, हामीलाई असजिलो महसुस नगराईकन गर्नुका साथै मन सकारात्मक र प्रशन्न हुनु हो।
जब शरीरले हामीलाई कुनै असजिलो महसुस नगराईकन आफ्ना जैविक क्रियाहरू गर्छन्, साथै जबे मन–मस्तिष्क प्रशन्न, शान्त, सकारात्मक र छलकपट मुक्त हुन्छ तब मात्र हामी पूर्णतया स्वस्थ हुन्छौं ।
शरीरले आफ्ना क्रियाहरू राम्रोसँग गर्न पाउँदैन, हाम्रो मन–मस्तिष्क निरास, नकारात्मक र अशान्त हुन्छ भने हामी रोगको भागीदार बन्छौं अर्थात् रोगी बन्छौं।
शरीरका जैविक क्रियाहरू जस्तै– भोक, प्यास, पाचन, दिसा, पिसाब, रगत सञ्चालन, निद्रा, पसिना, श्वास–प्रश्वास क्रिया आदि सजिलैसँग कुनै गतिरोध तथा अवरोध बिना, कुनै औषधि वा जडिबुटीको प्रयोग बिना, स्वचालित, स्वतः स्फूर्त आफैं हुनुपर्छ ।
यी क्रियाहरू शरीरलाई राम्रोसँग सञ्चालन गर्न र निरोगी राख्न प्रकृति निर्मित क्रियाहरू हुन्।
राम्रो स्वास्थ्यका संकेत
राम्ररी भोक लाग्नु, भोक लाग्दा सादा र सात्विक खाना खाने इच्छा हुनु ।
प्यास लाग्दा पानी मात्र पिउने इच्छा हुनु ।
दिसा ठोस, सफा र नियमित हुनु ।
पिसाब सफा वा हल्का पहेंलो र दुर्गन्धरहित हुनु ।
पसिना दुर्गन्धरहित हुनु ।
निद्रा गहिरो र आरामदायी हुनु ।
बिहान उठ्दा आनन्दित र स्फुर्तिलो महसुस हुनु ।
श्वास–प्रश्वास स्वभाविक र स्वचालित हुनु ।
तन र मन आनन्दित हुनु ।
अनुहार चम्किलो र उज्यालो हुनु ।
आँखा चम्किलो र निडर हुनु ।
छाला नरम हुनु ।
शरीर लचिलो हुनु ।
काम गर्न जाँगर लाग्नु र बिनाथकावट लामो समयसम्म काम गर्न सक्नु ।
ढाड सिधा हुनु ।
पेटको परिधि छातीभन्दा भित्र हुनु ।
काँधहरू सिधा वा एउटै तहमा हुनु ।
सधैं जोसिलो, जाँगरिलो, सिर्जनात्मक र सकारात्मक सोच हुनु ।
रिस, निरास, डर, तनाव, मानसिक समस्या तथा चिडचिहटरहित हुनु ।
सुत्दा मुख बन्द हुनु, आदि ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।