काठमाडौं- तीन खेलको टेस्ट सिरिजका लागि इंग्ल्याण्ड जाने वेस्ट इन्डिज टिमका सबैको कोरोना भाइरस (कोभिड १९) को परीक्षण गरिएको छ। जसमा कसैमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन। उनीहरु सोमबार चार्टर फ्लाइटमार्फत इंग्ल्याण्ड जानेछन्।
म्यानचेस्टरमा तीन हप्ता बन्द प्रशिक्षणमा रहेपछि टिम जुलाई ३ मा साउथह्याम्पटन जानेछ। जहाँ जुलाई ८ देखि पहिलो टेस्ट सुरु हुनेछ।
गएको हप्ता टेस्ट सिरिजका लागि वेस्ट इन्डिजले २५ सदस्यीय टोलीको घोषणा गरेको थियो। जसमा ११ अतिरिक्त खेलाडी सामेल छन्।
कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण रोकिएका क्रिकेट गतिविधिमा सबैभन्दा पहिले सुरु हुन लागेको यहि टेस्ट सिरिज हो। जसलाई आइसिसीको पछिल्लो सबै मापदण्ड पूरा गर्ने हिसाबले तयारी गरिएको छ।
बेलायत सरकारको नियमअनुसार इंग्ल्याण्ड पुगेका वेस्ट इन्डिज खेलाडीहरु १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने छ। तर त्यो समयमा पनि अभ्यास गर्न पाउने गरी वातावरणको निर्माण गरिएको छ।
सिरिजको दोस्रो टेस्ट जुलाइ १६ देखि २० सम्म हुनेछ। तेस्रो तथा अन्तिम टेस्ट जुलाइ २४ देखि २८ सम्म हुने तय छ। यही सिरिजले क्रिकेटका अरु गतिविधि कसरी हुन्छन् भन्नेमा सहयाग गर्ने भएकाले पनि विशेष रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।