काठमाडौं- सुधीर बस्नेत सञ्चालक रहेको ओरियन्टल को-अपरेटिभका पीडित बचतकर्ता र अपार्टमेन्ट खरिदकर्तालाई डुबेको रकम फिर्ता पाउनका सरकारले आवेदन माग गरेको छ।
आइतबारदेखि विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की अध्यक्ष रहेको समस्याग्रस्त सहकारी जाँचबुझ आयोगले आवेदन माग गरेको हो।
आयोगका अध्यक्ष कार्कीले देशभरका जिल्ला सम्वन्वय समिति, भक्तपुरमा रहेको आयोगको कार्यालय, नेपालगञ्ज, सुर्खेत, धनगढी र विराटनगरमा निवेदन संकलन कार्यालय राखिएको बताए। हाउजिङ, अपार्टमेन्ट र सहकारी गरी करिब ७ अर्ब रुपैयाँ बस्नेतले ठगी गरेको थिए भने ८ हजार सर्वसाधारणले आफ्नो रकम फसेको भन्दै उजुरी दिएका थिए। आयोगमा परेको उजुरीको आधारमा निवेदन माग गरिएको कार्कीले बताए।
उनका अनुसार निवेदन आएपछि छानबिन गर्दै रकम वितरणको कार्य हुनेछ। आयोगले २०७१ जेठ २ गते पूर्वप्रधानमन्त्री सुशील कोइराला समक्ष प्रतिवेदन पेश गरेको थियो।
ओरियन्टल ऋण तथा बचत सहकारी संस्था एउटै उपर (अध्यक्ष सुधीर बस्नेत भएको) ६,८९४ उजुरी दर्ता भई ११,८४० खाताको उजुरी परेकोमा ब्याजबाहेक सावाँमा ४ अर्ब २० करोड रुपैयाँको दाबी परेको थियो। ब्याज तर्फ १ अर्ब २९ करोडको दाबी भएको थियो। दुवैगरी ५ अर्ब ५० करोडको दाबी प्राप्त भएको थियो।
हाउजिङमा १ अर्ब ३६ करोडसमेत बस्नेतसँग ६ अर्ब ८६ करोडको दायित्व भएको आयोगको ठहर थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।