काठमाडौं– विद्यार्थी भर्ना अभियानको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसम्मले विद्यार्थी भर्ना गराएका छन्।
प्रधानमन्त्री ओलीले मुगुका ठिन्ले साँवु लामा, रक्षामन्त्री ईश्वर पोखरेलले सूर्यदेवी रोकाय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पुन्नबहादुर कुमाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले विनीता नेपाली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कर्मा याङजिङको स्वेच्छिक अभिभावकत्व ग्रहण गरेका हुन्।
योसँगै अन्य सरकारी अधिकारीसमेत अभियानमा सहभागी भएको शिक्षामन्त्री पोखरेलले बताए। अभियानमा छुटेका बालबालिकाको हकमा विशेष सहायतासहित बालबालिका पहिचान तथा भर्ना कार्य अगाडि बढाइने उनले बताए।
विद्यार्थी भर्नाको कुरा गरिरहँदा विद्यार्थीलाई विद्यालयमा टिकाइराख्ने भन्ने चुनौती भएकोले त्यसको अलग्गै रोडम्याप निर्माण गरेको मन्त्री पोखरेलले बताए। यो समस्यालाई समाधान गर्न अभिभावक सहायता कार्यक्रम अगाडि सारेको उनको भनाइ छ।
शिक्षामा समतामूलक पहुँच र गुणस्तरियतालाई सँगसँगै अघि बढाउन आफ्ना बालबालिकालाई अनिवार्य रुपमा भर्ना गराउन, उनीहरुलाई नियमित रुपमा पोषणयुक्त सन्तुलित भोजन व्यवस्था गर्न, नियमित रुपमा विद्यालय पठाउन र सिकाइका निम्ति अनुकूल वातावरण सिर्जना गर्नसमेत मन्त्री पोखरेलले आग्रह गरेका छन्।
५ गतेसम्म घरदैलो अभियान
सरकारले नयाँ शैक्षिकसत्रका लागि आजदेखि भर्ना अभियान सञ्चालन गरेको छ।
‘हामी सबैको इच्छा अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नारासहित यस वर्ष शिक्षा मन्त्रालयले पाठ्यपुस्तकसहित भर्ना अभियान सञ्चालन गरेको हो। आजदेखि भर्ना अभियान सञ्चालन भए पनि अभियानकै रुपमा भने आगामी बैसाख ५ गतेदेखि घरदैलो रुपमा सञ्चालन गर्ने मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले बताए।
सहसचिव अर्यालले प्राथमिक तहको कक्षामा ५ देखि ९ वर्षसम्मका बालबालिकालाई भर्ना अभियान सञ्चालन गरिएको जानकारी दिए।
विद्यालय तहको शैक्षिक तथ्याङ्क, २०७४ अनुसार प्राथमिक तहमा ५ देखि ९ वर्षका २.८ प्रतिशत र कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समूहका ७.७ प्रतिशत विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन्।
प्राथमिक तहमा ९४ हजार ६४६ जना र आधारभूत तहमा ३ लाख १३ हजार २८९ जना विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन्। सरकारले २०६१ सालदेखि भर्ना अभियान सञ्चालन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।