राखिने– बंगलादेशमा शरणार्थी जिवन बिताइरहेका रोहिंग्या मुसलमानको पहिलो परिवार घर फर्किएको म्यानमार सरकारले जनाएको छ। संयुक्त राष्ट्रसंघले म्यानमार फिर्ताका लागि अझै सुरक्षित वातावरण बनिनसकेको बताइरहँदा यस्तो समाचार आएको हो।
गएको अगस्टमा म्यानमारमा भएको कु्रर सैनिक कारबाहीका कारण करिब ७ लाख रोहिंग्या मुसलमान म्यानमार छोडेर बंगलादेशलगायतका देशमा गएका थिए।
राष्ट्रसंघले भने म्यानमारको सेनाले जातीय सफाइको अभियान नै चलाएको बताउँदै आएको छ। म्यानमार सरकारले भने आतकंवादी क्रियाकलापमा संलग्न रोहिंग्या मुसलमानका लागि मात्रै उक्त कारबाही सञ्चालन गरिएको बताउँदै आएको छ।
म्यानमारले ५ सदस्य भएको एक परिवार शनिबार ‘फिर्ती शिविर’मा आइपुगेको र उनीहरुलाई आवश्यक खाद्यान्न र परिचय पत्र प्रदान गरिने बताएको छ।
यदि म्यानमारको भनाइ पुष्टि भएमा सैनिक कारबाहीपछि म्यानमार फर्किने यो नै पहिलो रोहिंग्या परिवार हुने छ।

बंगलादेशमा रोहिंग्या शरणार्थीकाे बसाइ
बंगलादेशमा रहेका रोहिंग्या शरणार्थीका अनुसार तत्कालिन समयमा विनाकारण हत्या, बलात्कार तथा घरहरुमा आगलागीलगायतका घटना व्यापक मात्रामा हुने गरेको थियो।
यस महिनाको सुरुवातमा १० रोहिंग्या मुसलमानको हत्या गरिएको आरोपमा म्यानमारका ७ जना सैनिकलाई जेल सजाय सुनाइएको छ।
म्यानमारमा रोहिंग्या मुसलमानलाई अल्पसंख्यक समुदायको रुपमा लिने गरिन्छ। बंगलादेशबाट अवैधानिक रुपमा बसाइसराइ गरेर आएको भन्दै उनीहरुलाई स्थानीय प्रशासनले नागरिकता दिन समेत इन्कार गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।