काठमाडौं– खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ।
विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमति–पत्र लिए पनि समयमा खोजतलास नगरेपछि अनुमति–पत्र रद्द गरेको हो। विभागका सूचना अधिकारी कृष्णदेव झाले चालू आर्थिक वर्षमा ३ सय ३१ कम्पनी तथा संस्थालाई खनिज खोजतलास कार्यका लागि अनुमति तथा नवीकरण गरिएको बताए।
जसमा खानी खोजतलासको प्रमाणपत्र ९५, खानी खोजतलास प्रमाणपत्र नवीकरण १ सय ६८, खानी उत्खनन प्रमाणपत्र प्रदान १२ र खानी उत्खनन प्रमाणपत्र नवीकरण ७६ वटा कम्पनीलाई प्रदान गरिएको छ।
यस्तै विभागले चालू आर्थिक वर्षको चैतसम्ममा खानीका नयाँ इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन तथा नक्सा बिक्रीबापत ९३ करोड ५५ लाख ६१ हजार ७ सय ६८ राजश्व संकलनसमेत गरेको छ।
नामटार चुनढुंगा मकवानपुरको विस्तृत अध्ययन तथा फलामखानी मकवानपुरको अन्वेषण कार्य सम्पन्न भइसकेको छ भने ड्रिलिङ चुनढुंगा धादिङको ड्रिलङ कार्य भइरहेको, सञ्चालनमा रहेका ५० खानीको अनुगमन भइरहेको, खनिजअन्तर्गत १५ खनिजमा आधारित उद्योग प्रवद्र्धन कार्य भइरहेको विभागले जनाएको छ।
यसैगरी, प्राकृतिक ग्याँस अन्वेषण गर्न बोलपत्र स्वीकृतिको आशयको सूचना प्रकाशन, धौवादी फलाम खानीको मापन कार्य भइरहेको, महादेवस्थान चुनढुंगा च्यानल नमूना छनोट भइरहेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।