काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका १ जना विद्यार्थीलाई विद्यालय भर्ना गरिदिएका छन्।
मुगुको मुगुम कार्मारोग गाउँपालिका–८ निवासी छिजु तामाङ र कार्मा टोन्डु लामाकी ६ वर्षीया छाेरी थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले विद्यालय भर्ना गरिदिएका हुन्। तामाङलाई बुद्ध मावि मांग्रीमा विद्यालय भर्ना गरिएको हो।
छात्राको अभिभावकत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गरेका प्रधानमन्त्रीले तामाङलाई पोसाक र पुस्तक प्रदान गरेका थिए।

प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरिदिएकी छिन्। शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गरेकी छिन्।
‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को उद्घाटनका लागि मुगु पुगेका प्रधानमन्त्रीले भर्ना सप्ताह सुरु भएको अवसरमा ती बालिकाको अभिभावत्कव लिँदै विद्यालय भर्ना गरिदिएका हुन्।
प्रधानमन्त्रीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तिमा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।