धुन्चे– रसुवा र नुवाकोटको सीमा क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजनाको ड्याम साइटमा झरेको पहिरो नियन्त्रणको काम धमाधम भइरहेको छ। यु क्रेसन इन्पेक्स प्रालिले आयोजनाको ड्याम जोगाउनका लागि पहिरो नियन्त्रणको काम गरिरहेको छ।
६० मेगावट क्षमताको उक्त आयोजनाको ड्याम साइटमा झरेको पहिरो रोक्न ‘रक फल प्रोटेक्सन’को काम भइरहेको यु क्रेसन इन्पेक्स प्रालिका म्यानेजिङ डाइरेक्टर विजय श्रेष्ठले बताए। उनले भने, ‘स्विट्जरल्यान्डबाट सामग्री आयात गरेर पहिरो नियन्त्रण गर्न एकै ठाउँमा रक नेटिङ, रक बोल्टिङ र रक फल प्रोटेक्सन गरेका छौं, पहिरोसम्म जाली लैजानका लागि हेलिकप्टरको प्रयोग गरिएको छ भने अन्य सामग्री लैजान रोपवे निर्माण गरेका छौं,’

निर्माण गरिएको फेन्स नेटिङले ३ देखि ५ हजार किलोजुल गतिको ढुङ्गा रोक्न सक्ने उनको भनाइ छ। गत साउनदेखि सुरु भएको पहिरो नियन्त्रणको काम २०७५ जेठ मसान्तसम्ममा सम्पन्न हुने यु क्रेसन इन्पेक्स प्रालिले जनाएको छ।
३२ करोड लागतमा निर्माण गरिएको प्रोटेक्सनको कार्य ८० प्रतिशत सम्पन्न भएको श्रेष्ठले बताए। गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड अन्तर्गत नेपाली सेनाले निर्माण गरिरहेको मैलुङ–स्याफ्रुबेंसी सडक निर्माण अन्तर्गत नै पहिरो नियन्त्रणको काम भइरहेको मैलुङ–स्याफ्रुबेंसी सडक निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी सञ्जय केसीले बताए।

चिनियाँ गेजुवा ग्रुफ अफ कम्पनी (सिजिजिसी) ले निर्माण गरिरहेको माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको ७५ प्रतिशत काम पूरा भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।