नेपालगन्ज- दुर्लभ वन्यजन्तु सालकको करिब ५ केजी खपटासहित नेपालगन्जबाट पक्राउ परेका कोन छिरिङ लामा वन्यजन्तु तस्करीका 'मोस्ट वान्टेड' भएको खुलेको छ। हुम्ला सिमिकोटका लामा गत फागुन २५ गते पक्राउ परेका थिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को पिल्लर फोरले करिब एक महिना लगाएर गरेको अनुसन्धानबाट लामा नेपाल, भारत र तिब्बतमा समेत हुने वन्यजन्तुको अवैध कारोबारमा ८ वर्षदेखि संलग्न हुँदै आएको तथ्यहरु फेला परेको छ।
लामा सन् २०११ देखि भारतको पिलिभित सम्पूर्णानगर एरियाको लम्बु फरियाद सकिल समूहसँग मिलेर बाघ र सालकको खपटा तस्करीमा संलग्न रहेको तथ्य सिआइबीले भेटाएको छ। लामा बाँके, बर्दिया, कैलाली, कन्चनपुर जिल्लाको भारत-नेपाल सीमावर्ती क्षेत्रमा रहेर वन्यजन्तुको अवैध कारोबारमा संलग्न रहेका जिल्ला वन कार्यालय बाँकेले जनाएको छ।
लामा पक्राउ हुँदा बरामद भएको उनको मोबाइल सेटमा पाटेबाघको छालाको फोटो समेत फेला परेपछि थप रहस्य खुलेको हो। लामाको सिटिजन बैंकको खातामा ५/६ महिनाको अवधिमै करिब ३५ लाख रुपैयाँ कारोबार भएको देखिएको छ। त्यो रकम वन्यजन्तुको तस्करीको कारोबारबाट आएको हुन सक्ने आशंका सिआइबीको पिल्लर फोरले गरेको छ।
लामाले वन्यजन्तुको अवैध कारोबारमा संलल्न बावरिया र लम्बु फरियाद सकिल समूहसँग मिलेर दुर्वभ वन्यजन्तुको हाडछाला लगायतकालाई बझाङ, बाजुरा र हुम्ला नाका हुँदै तिब्बतसम्म पुर्याउने गरेको अनुसन्धानमा संलग्न जिल्ला वन कार्यालय बाँकेका रेन्जर रमेश बुढाथोकीले बताए।
कार्यालयले लामाको अपराधिक गतिविधिबारे अध्ययन अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुरोध गरेको छ।
सिआइबी पिल्लर फोरले लामाका सम्बन्धमा जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय हुम्ला, जिल्ला प्रशासन कार्यालय बाँके, भारतको वन्यजीव अपराध नियन्त्रण ब्युरो तथा इन्टरपोल समेतमा समन्वय गरी जिल्ला वन कार्यालय बाँकेलाई लिखित प्रतिवेदन बुझाएको अनुसन्धान अधिकृत बुढाथोकीले जानकारी दिए।

सिआइबीले बुझाएको प्रतिवेदनलाई समेत आधार बनाएर वन कार्यालयले लामा र उनीसँगै पक्राउ परेका सहयोगी बाँके राप्तीसोनारी २ का सुजितजंग शाहका विरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दायर गर्नका लागि सरकारी वकिलको कार्यालयसँग परामर्श गरिरहेको छ।
लामाविरुद्ध संरक्षित सूचीमा रहेको वन्यजन्तु सालकको खपटाको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा मुद्दा दायर गरिने अनुसन्धान अधिकृत बुढाथोकीले बताए। अभियोग पुष्टि भए लामालाई ५ देखि १५ वर्ष कैद वा दुवै तथा ५ देखि १० लाखसम्म जरिवाना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।