काठमाडौं- तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा दुर्घटनामा परी मृत्यु भयो। २७ वर्षअघिको यो दुर्घटनाका एक मात्र साक्षी अमर लामा (त्रिलोकप्रताप राणा नेतृत्वको 'दासढुंगा दुर्घटनासम्बन्धी न्यायिक जाँचबुझ आयोग २०५१' लाई दिएको बयानमा उनले आफ्नो नाम अमरजंग तामाङ भएको बताएका छन्) लापरबाहीपूर्वक सवारी चलाएर नेताद्वयको ज्यान लिएको अभियोगमा पाँच वर्ष जेल परे।
एमालेको तत्कालीन नेतृत्वले जेठ ३ मा भएको सो घटनालाई देशीविदेशी शक्तिको आडमा भएको षड्यन्त्रपूर्ण हत्या भनिरहे। तर न एमालेले गठन गरेको छानबिन आयोगले यसको पुष्टि गर्न सक्यो, न नागरिक आयोगले नै।
दासढुंगा घटनाको छानबिन गर्न सरकारले गठन गरेको पूर्वन्यायाधीश प्रचण्डराज अनिलको नेतृत्वको छानबिन आयोगले देशीविदेशी षड्यन्त्र नभई लामाको लापरबाहीका कारण दुर्घटना भएको निष्कर्ष निकाल्दै दिएको प्रतिवेदन एमालेले अस्वीकार गरेपछि सरकारले पुनः सर्वोच्च अदालतका पूर्वन्यायाधीश त्रिलोकप्रताप राणाको नेतृत्वमा अर्को आयोग बनायो।
दुर्घटनाबारे पहिले अरू नै आयोगलाई बयान दिइसकेको भन्दै बयान दिन अस्वीकार गरेका लामाले पछि आयोगसमक्ष बयान दिन राजी भएका थिए। २०५१ साउन २८ र साउन ३० मा उनले आयोगलाई दिएको बयानमा दासढुंगा घटना प्राविधिक त्रुटीबाट भएको दुर्घटना मात्र भएको बताए। तर एमालेले विपक्षी दलको रूपमा सरकारलाई घेर्न यसलाई रहस्यमय घटना बनाएको दाबी गर्दै लामाले आफूमाथि आफ्नै पार्टीले अन्याय गरेको दाबी गरेका थिए।
आयोगमा बयान दिनेक्रमममा उनले दुर्घटनापछिका क्रियाकलाप र आरोपले आफ्नो जीवन असुरक्षित भएको दाबी गरेका थिए। पाँच वर्ष कैद सजाय काटेर रिहा भएपछि पत्रकारिता पेसामा आबद्ध भएका लामा २०६० साउन १२ गते डिल्लीबजारको कालिकास्थानबाट अपहरणमा परे र किर्तिपुरको नयाँबजारमा लगेर गोली हानेर हत्या गरियो।
जसरी दासढुंगाको रहस्य खुल्न सकेको छैन त्यसरी नै लामाको हत्या कसले र किन गर्यो भन्ने खुल्न सकेको छैन। दुर्घटना भएको २७ वर्ष पुगे पनि दासढुंगा दुर्घटनाप्रतिको चासो अझै उस्तै छ।
राणा आयोगसमक्ष लामाले दिएको बयानले दुर्घटनाका धेरै पाटो खुलाएको छ। आयोगका अध्यक्ष राणासहितको उपस्थितिमा लामाले दिएको बयान जस्ताको त्यस्तै:
१. तपाईको नाम, थर, वतनसमेत खुलाई दिनुहोस्।
मेरो नाम अमरजंग तामाङ। २७ वर्षको भएँ, पेसा मजदुरी। घर तनहुँ भानु गाविस वार्ड नम्बर ८ चामवासमा छ।
२. आज किन उपस्थित हुनुभयो?
प्रहरीले यहाँ उपस्थित गराएकोले बयान दिन उपस्थित भएको हुँ।
३. २०५० साल जेष्ठ ३ गते पोखराबाट नारायणघाटतर्फ आएको बा.अ. च. ८७९२ का पजेरो जीप जुन दासढुंगामा दुर्घटना भयो र त्रिशूली नदीमा खस्यो, त्यो हाक्ने ड्राईभर तपाईं हो/होईन?
हो।
४. उक्त पजेरो जीपमा पोखराबाट आउँदा को-को आएका थिए?
मदन भण्डारी, जीवराज आश्रित, ऋषि कट्टेल र म थियौं।
५. उक्त जीप पोखराकै हो कि काठमाडौंबाट ल्याएको हो? जीपमा कोको काठमाडौंबाट आएको हो?
जीप काठमाडौंबाट ल्याएको हो। पहिले नक्सालबाट केशवलाल श्रेष्ठलाई लिएर महाराजगञ्जमा गई वाचस्पति देवकोटालाई लिई पार्टी अफिस बागबजारमा आई पार्टीको सामानहरू उठाई जीवराजलाई लिन डल्लु गएँ। डल्लुबाट अन्दाजी ९ बजे पोखरा प्रस्थान भयौं। उक्त कुरा जेष्ठ १ गतेको हो।
६. काठमाडौंबाट जीप पोखरामा कुन दिन पुग्यो? तपाईं र जीवराज आश्रित पोखरामा कसको घरमा बस्नुभयो र खाना खानुभयो?
जेष्ठ १ गते नै पोखरा पुग्यौं। पोखरामा बेलुका वाचस्पति देवकोटाको डेरामा खाना खायौं र सुत्नलाई हरि पाण्डेको घरमा गयौं।
७. हरि पाण्डेको घरमा कुन कोठामा कोसँग सुत्नु भयो? वा बेग्लै सुत्नु भयो?
हरि पाण्डेको घरमा १ तलामाथि बाटोको छेउ साइडको कोठामा वाचस्पति र म अलगअलग सुत्यौं। पहिलो दिन एउटै कोठामा र दोश्रो दिन म छुट्टै कोठामा सुतें।
८. हरि पाण्डेको घरमा आश्रितजी सुत्नु भयो/सुत्नु भएन, सुतेको भए कुन कोठामा हो?
उहाँ छुटै कोठामा सुत्नु भयो।
९. तपाईंले कहिलेबाट उक्त जीप हाक्न थाल्नु भएको हो? जीप पोखरा ल्याउँदा डेन्टिङ पेन्टिङ गरिएको थियो कि? डेन्टिङ पेन्टिङ गरेको भए कहिले गरिएको थियो?
०४८ सालको संसदको चुनावपछि सो जीप चलाएको हुँ। दुर्घटना हुनुअगाडि पनि गाडी बनाएको हो। गाडी डेन्टिङ पेन्टिङ बनाउने जिम्मा शैलेन्द्रजंग थापाले लिएको थियो। डेन्टिङ पेन्टिङ गरेको घटना हुनभन्दा ६-७ महिना अगाडि हो। थापाको अर्को नाम भाईहजुर भनिन्छ।
१०. तपाईंले हाँकेको उक्त जीप कति वर्ष पुरानो हो? कुनै खराबी पनि थियो कि?
गाडी अन्दाजी १०-१२ वर्ष पुरानो होला। गाडीको अवस्था स्टेरिङ अलि दायाँ तान्दथ्यो। गाडीको मालिक विश्वबन्धु थापाकोमा रहँदा पनि धेरै चोटि दुर्घटनामा परेको थाहा थियो र सोही बेलादेखि नै सो गाडीको स्टेरिङ बक्सको 'केम' बिग्रेका थियो भन्ने सुन्नमा आएको थियो। सोही कारणबाट स्टेरिङ केही दायाँ तानिन्थ्यो।
११. पोखरा आउनुअघि किन मर्मत गराउनु भएन?
'केम' फेर्न धेरै चोटि खोजिएको हो। कुनै वर्कसपमा पनि किन्न पाइएन र गाडी बनाउन जिम्मा लिने साथी भाईहजुरले पनि र मिस्त्रीले पनि फेर्न नपर्ने र हाल काम चल्ने भनेको हुँदा सोही अवस्थामा चलाएको हुँ। सोही अवस्थामा त्यसभन्दा पहिले पनि पूर्वपश्चिम धेरै ठाउँमा गएको हो।
१२.पोखरामा सम्मेलन कति दिन चल्यो?
सम्मेलन तीन दिन चल्ने हो, जेष्ठ २,३ र ४ तर हामीहरु दुई र तीनको कार्यक्रम सकेर हिँडेको हो।
१३. पोखरा सम्मेलन हुँदा सम्मेलन भवननिर तपाईंले विदेशीसँग भेटेको र कुरा गर्नुभएको थियो?
पोखरामा कुनै विदेशीसँग भेटेको छैन। मैले पोखरामा विदेशी भेटेको छु भन्ने कुरा र नक्सा कोरेको भन्ने कुरा असत्य र झुठ हो।
१४. पुष्पज्योति ढुंगानाले सम्मेलनमा तपाईंले विदेशीलाई भेट्नु र कुरा गर्नुभयो भनेको छ, कसो हो? झुठा पोल गर्नुपर्ने कारण के हो त?
यदि त्यहाँ मैले त्यसरी कुनै विदेशीसँग भेट हुँदा र त्यस्तो नक्सा कोर्दा उहाँले सोही बेलामा मलाई किन सोध्नुभएन? उहाँले त्यसो भन्नुको कारण पूर्वाग्रही मनोवृत्ति हुन सक्छ।
१५ .गणेश बहादुर केसी समेतले सवाल १४ कै कुरा भनेका छन्। उसले पनि त्यसो किन भनेछ?
त्यसमा पनि मेरो सवाल १४ कै जवाफ हुन्छ।
१६. तपाईं सम्मेलन स्थलबाट पटकपटक बाहिर जानुभएको थियो/थिएन? जानु भएको भए सोको कारण के हुन्?
मैले काठमाडौंबाट पोखरा आउँदा कोरस सांस्कृतिक परिवारबाट गीति क्यासेट 'आशाको किरण' र 'फूलबारीको कथा, हवाईको व्यथा'नामक क्यासेट चक्का बिक्री गर्न ल्याएको थिएँ। सोही चक्का बिक्री गर्न दायाँबायाँ हिँडेको हुन सक्छ। यसको अलावा चिया खाँदा साथीहरुसँग र गाडी बनाउने क्रममा ब्रेक, ह्यान्ड ब्रेकको तार खोज्ने क्रममा वर्कशपहरूमा गएको हुँ।
१७. ह्यान्ड ब्रेकको सिलसिलामा हरि पाण्डेसँग सम्पर्क राख्न भनिएको थियो/थिएन? भनिएको भए सम्पर्क राखी बाहिर जानुभएको हो कि?
यस विषयमा जीवराजजीले कृष्ण थापासँग सम्पर्क राख्न भन्नुभयो र उहाँले नै थापालाई मोटरसाइकलको व्यवस्था गर्नु भई थापाको मोटरसाइकलमा ब्रेकको तार खोज्न र स्टुडियोसम्म गएको हुँ। ह्यान्ड ब्रेकको तार विषयमा हरी पाण्डेसँग कुरा भयो कि भएन मलाई यकिन भएन। थापाको मोटरसाइकलमा अरु नै साथीले हाकेर बाहिर गएको हुँ।
१८. सम्मेलन सिध्याएर पोखराबाट नारायणघाट भरतपुर आउने समयमा पनि तपाईं समयमा उपस्थित नभई मदन भण्डारी र जीवराज आश्रितलाई कुराउनु भयो भन्ने छ। कहाँ जानु भएको?
मदन र जीवराज हलमा बिदा लिन जानुभयो। सो दिन मलाई सामान्य डायरिया भएको थियो। उहाँहरू भित्र जानु भएपछि म दीपेन्द्र सभागृहको दायाँतर्फ रहेको ट्वाइलेटमा गएको थिएँ। म फर्केर आउँदा उहाँहरु निस्किसक्नु भएको रहेछ, सो अवस्थामा त्यसभन्दा बाहिर अन्यत्र गएको छैन।
१९. डायरियाले च्यापेको उल्लेख गर्नु भयो तर सोअघि र पछि तपाईंले त्यस्तो उल्लेख नगर्नु र सोसम्बन्धी कुनै औषधि नखानुको कारण के हो?
सो दिन बिहानदेखि नै मलाई पेटको गडबडी भएको थियो। सामान्य डायरिया भएको कुरा किन भनिरहनु भन्ने लागेर भनिनँ। औषधिको हकमा पाचक र जीवराज कमरेडसँगै भएको तातोपानी खाइरहेको थिएँ।
२०. पोखरा रहँदा सम्मेलन ताका तपाईंको अन्य स्वास्थ्य कस्तो थियो? पोखरामा रहँदा सम्मेलनताका तपाईंको कसैसंग झगडा/मनमुटाव भएको थियो कि?
पोखरा रहँदा मेरो अवस्था सामान्य थियो। मेरो कसैसँग झै-झगडा भएको छैन। कसैसँग मनमुटाव पनि थिएन।
२१. पोखरा सम्मेलनमा साविक जस्तो स्पष्ट, फुर्तिलो, फरासिलो नभई तपाईं घोसे, कम बोल्ने, अनुहार खसेको थियो भन्ने तपाईंको स्वभाव जाने/बुझेका सोमनाथ अधिकारी समेतको भनाई छ। स्वस्थ हुनुहन्थ्यो भने किन त्यसो भएको? कुनै षड्यन्त्रको योजनामा सोचविचार हुन गएको कारणबाट भएको होला भन्ने भनाई छ, कसो हो?
प्रश्नमा भनिएजस्तो मेरो अवस्था थिएन। यदि भएको भए पनि शारीरिक अवस्थाको कारण भएको हुन सक्छ र म पोखरामा सबै साथीहरुसँग हासीखुशी र आत्मीयपूर्ण अवस्थामा रहेको थिएँ। जहासम्म योजना र षड्यन्त्रको कुरा छ, त्यो मेरो सोच र कल्पनाभन्दा धेरै टाढाको विषय हो। जहाँसम्म सोमनाथ अधिकारी र अन्य साथीहरूको भनाई छ, त्यो उहाँको पूर्वाग्रही सोचाई हो।
२२. साथीहरू पूर्वाग्राही हुनुपर्ने कारण के हो त?
पार्टीले दुर्घटना भएको अवस्थादेखि नै दुर्घटनाको वास्तविकतालाई तथ्यसत्य ढंगले जनसमक्ष ल्याउनेभन्दा पनि पार्टीको राजनैतिक स्वार्थपूर्ति गर्नको लागि दुर्घटनालाई जसरी हुन्छ, षड्यन्त्रमा परिणत गर्न लागिपर्यो। यसैको नतिजाको उपज हो साथीहरूको पूर्वाग्रही चिन्तन।
२३. राजनैतिक स्वार्थ कस्तोलाई भन्न खोज्नु भएको हो?
नेकपा (एमाले) पनि संसदमा जिम्मेवार विपक्षमा रहेको पार्टी हो। कुनै पनि राजनैतिक पार्टीलाई र त्यसमा पनि अझ विपक्षी पार्टीलाई सरकार र विपक्षीको विरोधमा जान विविध राजनैतिक हतियार चाहिन्छ। जस्तो उदाहरणको लागि संसदको चौथो अधिवेशनसम्म कर्मचारी आन्दोलन र टनकपुर काण्डलाई लिन सकिन्छ। दासढुंगाको दुर्घटना भएको केही समयपछि संसदको पाचौँ अधिवेशन बस्दै थियो। सो अवस्थासम्म कर्मचारी आन्दोलन र टनकपुर काण्ड बासी भइसकेको थियो। यसै कारण एमालेलाई पनि ताजा राजनैतिक मुद्दा चाहिएको थियो। त्यसैकारण सोही दासढुंगा दुर्घटनालाई व्यापक राजनीतिकरण गर्न पार्टी लागी पर्यो। यही निर्देशन आम पार्टी कार्यकर्ताहरूमा पनि फैलिएको हुँदा आम कार्यकर्ताहरूले पार्टीको निर्देशन मान्न माथि भनिए जस्तो पूर्वाग्रही ढंगले लागेको हुनुपर्छ।
२४. तपाईं सम्मेलन समाप्त भएपछि कुन दिन कति बजे नारायणघाट भरतपुरतर्फ पोखराबाट उक्त जीप हाँकी आउनुभयो? कहाँकहाँ रोकिनुभयो? कहाँ के खानु भयो? दुर्घटना कहाँ र कसरी भयो? विस्तारसाथ भन्नुहोस्।
जेठ ३ गते अन्दाजी दिउँसो २ बजेतिरको समयमा मदन, जीवराज, ऋषि कट्टेल र म ४ जना थियौं। जीप मैले हाँकी ल्याएको हुँ। आउँदा बाटोमा गाडीमा रहेको झण्डा खस्न लाग्दा गाडी रोकी झण्डा बाँधेको हुँ। ठाउँको नाम थाहा भएन।
त्यसपछि गाडीमा आउनुभएको कट्टेल गोरखा जानुपर्ने हुँदा आँबुखैरेनीमा झारी हामी नारायणघाटतर्फ प्रस्थान गर्ने समयमा मुग्लिङदेखि अन्दाजी १ किलोमिटर यता नारायणघाटतर्फको पछि थाहा पाएअनुसारको स्याउलीबजारमा गाडी रोकी मदन र मैले चिया पिएको हौं। जीवराजलाई अल्सर भएको हुँदा उहाँले चिया पिउनुभएन। चिया पिएपछि हामी पुन:नारायणघाटतर्फ लाग्यौँ।
सो दिन पोखरादेखि आउँदा नै भीषण पानी परिरहेको थियो। हामीले चिया खाने ठाउँसम्म पनि सोभन्दा यताको सडकमा पनि पानी पर्न रोकिएको थिएन। सोही पानीको कारण गाडीको सिसामा भित्रपट्टि बाफ बस्ने गर्दथ्यो। दुर्घटनास्थल आइपुग्दा पनि सोही बाफ सिसामा लागिरहँदा मैले आफ्नो अगाडि डेस्कबोर्डमा रहेको रुमालले बायाँ हातले अगाडि सिसाको बाफ आफ्नो र मदन कमरेड अगाडि बाफ पुछ्ने क्रममा गाडी केही दायाँ साइडमा गएको देखेँ। झस्याङ्ग भएर गाडीलाई सन्तुलनमा ल्याउन बाँया काटेँ। बायाँ काटेपछि बढी मात्रामा बायाँ काटियो। त्यसपछि गाडी बायाँ बढी काटिएपछि पुन: साइडमा ल्याउन दायाँ काटेँ। गाडी सन्तुलनमा नआई एक्कासी छेउतर्फ हान्निएर गएपछि पुनः सन्तुलनमा ल्याउन बायाँ काटेँ। बायाँ काट्दा गाडी एक्कासी भित्तातर्फ मुख भएर पछाडिको भाग थुम्को छेउतर्फ घुम्यो। त्यसपछि गाडी भित्तातर्फ बत्तियो, म आत्तिएँ। ठोकिएला भनी दायाँ काटेँ। दायाँ काट्दा जति साइडमा आउनु पर्ने हो त्यो नआई हान्निएर भीरतिर गाडी खस्यो। खस्नु अगाडि गाडी असन्तुलित हुँदा मदनले 'के भो? के भो?' भनेर सोध्नुभएको थियो।
गाडीलाई सन्तुलनमा ल्याउन लागिरहेको र आफैँपनि निकै आत्तिएको हुँदा उहाँलाई कुनै जवाफ दिन नपाउँदै गाडी भीरतर्फ खस्यो, जब गाडी भीरतर्फ खसेपछि नदी र सडकछेउको बीच भागनिर एउटा ढिस्कोमा गाडीको मुख बजारियो। गाडी भीरतर्फ खसेपछि मैले आफ्नो साइडको ढोकाको लकमा खोल्न हात के पाएको थिएँ, गाडी बज्रिना साथसाथै म पनि भूईमा खसें। खसेपछि गुल्टिदै तल पाखा बगरमा पुगेँ। बगरमा पुगी कमरेडहरु कतै हाम फाल्नु भएको छ कि भनी र गाडी कतै अड्कियो कि भनी दायाँबायाँ हेरेँ, कतै केही थिएन। पछि कमरेड मदनको ब्रिफकेस र मेरो झोला पानीबाट निस्कियो।
२५. यस अगाडिको बयानमा मदनको हात देखियो भन्नु भएको रहेछ। कसरी एकिन भो?
शरीरको कुनै अंग भनेको हुँ। त्यस क्रममा सो अंग हात वा कुनै पनि हुन सक्छ। पानीमा डुब्दा प्राय मानिसको हात खुट्टा चल्छ। सो क्रममा पनि मदनको हात या खुट्टाका कुनै अंग हुनु पर्दछ भनी अनुमानमा मैले भनेको हुँ।
२६. देखिएको कुरा सोधिएको हो। वस्तुतः तपाईंले कुन कुरा देखेको हो प्रष्ट भन्नुहोस्।
शरीरको कुनै अंग अवश्य हो तर त्यो हात वा खुट्टा कुनै पनि हुन सक्दछ। यही भाग हो भनेर मलाई यकिन भएन।
२७. तपाईंले चितवन जिल्ला अदालतमा र यहाँ 'गाडी भीरतर्फ खसेपछि ढोका खोल्न हात के पुर्याएको थिएँ गाडी बज्रिनको साथसाथै म पनि भूईमा खसें' भन्ने र प्रहरी कार्यालयमा बयान गाडाबाट हाम फालेँ भन्ने। अनिल आयोगमा गाडीबाट फालिएर झरेँ भन्नु भयो। अदालतमा बयान गर्दा 'एउटा पहरा जस्तो ठाउँमा पुग्दा गाडी घोप्टो नै भयो, मैले ढोका खोली हामफाल्न नपाउँदै खसेँ' भन्नुभयो। कतै के र कतै के भन्नु भएकोले कुन साँचो हो? बयान किन फरक फरक भएको छ?
भनाइहरु फरक फरक भए पनि भन्न लागेको आशय एउटै हो। जुन थुम्कोको कुरा छ मैले यस आयोगलाई बीच भाग भनेको हुँ। सो थुम्को बीच भागमा नै पर्ने हुँदा सोही थुम्कोमा गाडी बज्रिदा गाडी बज्रिनु र म भुईंमा खस्नु एकै पटक भएको हुनु पर्दछ। भनाईमा प्रक्रियागत त्रुटी भएको हुन सक्छ, बयान अलगअलग दिनुपर्ने कुनै कारण छैन।
२८. आफैं हाम्फाल्ने र खस्ने शब्दलाई कसरी एउटै कुराको बोध गराएको मान्ने?
मैले आफूलाई बचाउने कार्यमा आत्तिएर सन्तुलितपूर्वक ढोका खोलेर हाम्फाल्न नभ्याउँदै म खसेको हुँदा मलाई गाडीको बज्रले र गाडीको घोप्टो स्थितिले म खसेको हुँदा खसेको भन्ने शब्द प्रयोग गरेको हुँ।
२९. तपाईंले पानीमा देखेको हातखुट्टा वा अंग मदन भण्डारीको भन्नुभयो, त्यो कसरी निश्चित गरेर भन्नुभयो?
त्यो दुर्घटना भएको भोलिपल्ट गाडीमा निकालेको हो भन्ने थाहा पाएँ। यस्ले गर्दा पानीमा देखिएको अंग मदनको भन्ने पुष्टि हुन्छ।
३०. आँबुखैरेनीमा आइपुग्दा समय कति भएको थियो? स्याउलीबजारको चिया दोकानमा कति बजे आई कतिबेर रोकिनु भयो? दुर्घटनाको बेला कति समय भएको होला?
आँबुखैरेनीमा आइपुग्दा अन्दाजी ३/३:३० बजेको हुनु पर्छ। स्याउलीबजारमा चिया खाँदा अन्दाजी ४/४:३० बजेको हुनु पर्दछ। दुर्घटना हुँदा ५:३० देखि ६ बजेभित्रमा भएको हुनु पर्दछ।
३१. तपाईंले टेलिफोनमा कुरा गर्दा लेखनाथ कोइरालाले के जवाफ दिनुभयो?
दुर्घटनाको जानकारी गराएपछि उहाँले कमरेडहरुको विषयमा सोध्नुभयो र मैले कमरेडहरू पनि सोही गाडीमा पर्नुभएको छ भनेँ।
३२. तपाईंले सडकको भौगोलिक बनावटले दुर्घटना भएको भन्नुभयो त्यो के हो?
सो दुर्घटनास्थल केही सामान्य घुम्ती, केही भिरालो भएको हुँदा मैले अव्यवस्थित बनावट भनेको हो।
३३. मौसमको प्रतिकूलता छ भन्नुभयो त्यस्तोमा किन सफर गर्न भएको हो? दुबै नेतालाई सल्लाह दिनुभएन?
सो दिन चितवन आइपुग्नुपर्ने काम हुँदा नेताहरुको निर्देशनलाई शिरोपर गरी जिम्मेवारी निभाएको हुँ। यसभन्दा अगाडि पनि सफर हुँदा कतै पानी पर्ने गर्दथ्यो। पानीकै कारणबाट पार्टी कार्यक्रम नरोकिने भएकाले मैले आदेशको पालना गरेको हुँ। चितवन आइपुग्नुपर्ने कारण भएको हुँदा उल्टो नेताहरुलाई सल्लाह दिन अस्वाभाविक हुन्थ्यो।
३४. दुर्घटना हुँदा गाडीको स्पिड कति थियो? कुन गियरमा मोटर हाक्नु भएको र दुर्घटना हुने अवस्थामा मोटरको गियर कुन नम्बरमा थियो? गियरले गाडीको रफ्तारलाई कन्ट्रोल गर्न मिल्छ/मिल्दैन? तपाईंले के गर्नु भयो?
हामी पोखराबाट नारायणघाटतर्फ आउँदा अन्दाजी गाडीको स्पीड ५०-६० थियो होला। पजेरो जीप र एउटा कन्डिसनमा रहेको गाडीको हकमा ५०-६० स्पिड सामान्य अवस्थामा रहन्छ। दुर्घटना हुँदा गाडी ४ नम्बर गियरमा थियो र गाडीको गियरबाट पनि गाडीको स्पीड घटाउन बढाउन मिल्छ। दुर्घटना हुने बेलामा पनि अन्दाजी ५०-६० कै स्पीडमा थियो होला।
३५. तपाईंले स्टेरिङको केम खराब भएको भन्नुभयो। २०५०-२-६ गतेको मेकानिकल जाँचको प्रतिवेदनमा स्टेरिङसमेत ठीक छ भन्ने छ। मोटर दुर्घटना कसरी भयो र उक्त रिपोर्ट अनुसार गाडीको गियर १ नम्बरमा (मेन) ट्रान्समिसन गियर न्युट्रलमा भएको अवस्थामा गाडी ओरालोमा गुड्छ/गुड्दैन? गुड्छ भने त्यो अवस्थामा गियर किन देखिए?
दुर्घटनाको मुख्य कारण स्टेरिङको कारणले भन्ने भनाई मेरो होइन। स्टेरिङ बक्सको 'केम' को सम्बन्धमा मैले सो गाडी हाँक्दाखेरि शैलेन्द्रजंग थापालाई जसले गाडी जिम्मा लिनुभएको थियो। उहाँलाई गाडी किन दायाँतिर तानिन्छ भनी सोध्दा उहाँले नै गाडी दायाँ तान्नको कारण स्टेरिङ बक्सको 'केम' बिग्रेको छ भन्नुभएको थियो। यसै कारणबाट भएको होला भनी मैले बयानमा पनि सोही कुरा उल्लेख गरेको हुँ। मेन गियर १ नम्बरमा र ट्रान्समिसन गियर न्यूट्रलमा कसरी गयो त्यो मलाई थाहा छैन। मैले सो गियरलाई अन्यथा ढंगले चलाउन पर्ने कारण पनि छैन। जहाँसम्म मेरो विचारमा गियर चेन्ज भएकोमा गाडी तानेर टुचेनले निकाल्दा र आर्मीले पौडी खेली गाडीभित्र गई एकजना व्यक्तिको लास छ भनी पत्ता लगाएको थियो रे। सो अवस्थामा निज पौडीबाज आर्मीको धक्काबाट वा गाडी दुर्घटना भएपछि हामी ३ जनामध्ये कसैको धक्काबाट अथवा कमरेड मदन निस्कँदा वा कमरेड जीवराज चल्नु भएको अवस्थामा सो गियर लिभरमा धक्का लागी उक्त गियर लिभर चेन्ज भएको होला भन्ने मेरो धारणा छ। पजेरो जीपको गियर लिभर अत्यन्तै नरम अवस्थामा रहन्छ, जसलाई हामी सामान्य धक्काबाट पनि चेन्ज गर्न सक्छौं। मेन गियर १ नम्बरमा वा कुनै पनि गियरमा रहँदा ट्रान्समिसन गियर न्युट्रल भयो भने गाडी गुड्न सक्दछ।
३६. घटना हुनुअघि ब्रेक लगाउनु भयो/भएन? ब्रेक लगाएको गाडी रोकिन्थ्यो रोकिँदैन थियो? नलागाएको भए कारण के हो? गाडी दायाँ बायाँ गएकै अवस्थामा ब्रेक लगाएको भए के हुन्थ्यो? बेक नलगाउनुको कारण पनि छ कि? सबै भन्नहोस्।
ब्रेकको सवालमा गाडी दायाँबायाँ हुँदा त्यसमाथि पनि पानी परेको र ओरालो ठाउँमा इमरजेन्सी ब्रेक लगाउँदा झन् खतरा हुने हुँदा मैले इमरजेन्सी ब्रेक लगाइनँ तर ब्रेक पम्प गरेको हुँ। सो अवस्थामा पनि गाडी सन्तुलनमा आएको थिएन। मलाई याद भएसम्म ब्रेक पम्प गरेको हुँ, तर बक प्याडल सारो भए जस्तो लाग्छ। उक्त सारो हुनुको कारण डाईभर सिटमनि ओटको रुपमा प्रयोग हुने काठको टुक्रा राखेको थिएँ। सो काठको टुक्रा शैलेन्द्रजंग थापाले दिइपठाउनु भएको हो। उक्त दर्घटना हुने अवस्थामा ओरालो र गाडी घच्याकघुचुक हुँदा सो काठको टुक्रा गुडेर ब्रेक प्याडल मनि परेको हुन सक्छ। यसै कारणबाट सो ब्रेक साह्रो भएको हुन सक्छ भन्ने मेरो भनाई छ। सो अवस्थामा म असन्तुलित गाडीको कारणबाट धेरै आत्तिएको थिएँ। यसै कारणबाट के कसो भएको हो सबै यकिन भएन।
३७. समथल सडकमा मोटर दायाँबायाँ भएको देखिन्छ, त्यहाँ ब्रेक लगाउन के अप्ठेरो पर्यो? ओटको लम्बाई चौडाई मोटाई समेत कति थियो? सबै भन्नुहोस्।
समथल सडकमा इमरजेन्सी ब्रेक लगाउन यो कारणले अप्ठेरो भयो कि ओरालो र पानी परेको अवस्थामा गाडी दायाँबायाँ हुँदा इमरजेन्सी ब्रेक लगाउँदा झन् खतरा हुन्छ भन्ने कुरा माथि बताइसकेको हुँ। त्यस्तो अवस्थामा जहाँसम्म समथल सडकको सवाल छ उक्त ठाउँ पूर्ण समथल नभई केही ओरालो रहेको छ। यो कुरा मैले सरजमिनमा जाँदा देखेको हुँ। ओटको सवालमा अन्दाजी लम्बाई सवाफुट जति र चौडाई ४.५ इन्च होला भन्ने मलाई लाग्छ। चौडाई र मोटाई बराबर छ।
३८. घटनास्थलमा गियरको घटबढले स्पीड कन्ट्रोल हुन्छ भने त्यहाँ गियरलाई घटी स्पीडमा ल्याउन किन प्रयोग गरिएन?
यसको जवाफ त्यस्तो व्यक्तिलाई थाहा हुन्छ जो स्वयम् त्यस्तो अवस्थामा परेको छ। उक्त असन्तुलित अवस्थामा मैले गियरलाई चेन्ज गर्न पाइनँ। गियर चेन्ज गर्न नपाउँदै गाडी भीरतर्फ दुर्घटना भयो।
३९. गाडी नदीमा खस्ने भएपछि तपाईंले मदन र जीवराजलाई सतर्क गराउनु भयो/भएन? उहाँहरुलाई हाम्फाल्न भन्नु भयो/भएन? सर्तक नगराएको र हाम फाल्न नभनेको भए किन भनिएन? जिल्ला अदालत समेतको मिसिलबाट तपाई पौडी खेल्ने मानिस देखिन्छ, नदीमा खसेपछि र मदन भण्डारीको जीउ हो भन्ने लागेपछि तपाईंले पौडी खेली बचाउने किन प्रयास गर्नु भएन?
सर्वप्रथम उक्त पानीमा देखिएको अंग मदन भण्डारीको हो भन्ने मलाई तत्काल नभई पछि थाहा लागेको हो। जहाँसम्म पौडी खेली बचाउन प्रयास किन गरिएन भन्ने सम्बन्धमा मेरो भनाई- जो कसैले पनि सबैभन्दा पहिले आफैँलाई बचाउने प्रयास गर्दछ त्यो चाहे जतिसकै आत्मीय व्यक्तिले नै किन नहोस्। यो जन्मसिद्ध र मानवीय देन हो। बचाउने सवालमा सो अवस्थामा म एक्लैले ठोस उद्धार गर्न सक्ने अवस्था थिएन। तर पनि जति सके चाँडो उद्धारको लागि मानिसहरुलाई हारगुहार गर्न पार्टी अफिसमा सूचना गर्ने, प्रहरीलाई सूचना गर्ने प्राथमिक काम गरेकै हो। जहाँसम्म नेताहरुलाई हाम फाल्न सतर्कताको विषय छ, दुर्भाग्य भन्ने कुरा बाजा बजाएर आउँदैन। सो ढंगले दुघटना हुने मलाई थाहा भएको भए अवश्य सचेत गराउने थिएँ। हाम फाल्न नलगाएको सवालमा बाद मैले कमरेडद्वयलाई दर्घटना हुन अगावै हाम फाल्न लगाई उहाँहरुलाई केही भै यदि गाडी सन्तुलनमा आएको भए के हने थियो? के भनिने थियो त्यसलाई? र सचेत नगराउने र हाम फाल्न नलगाउने भन्ने विषयमा तत्काल भन्न सकिने अवस्था थिएन।
४०. गाडी सडकमुनि गुडिरहेको थियो, तपाई हाम्फाल्नु भयो, मदन भण्डारी र जीवराज किन हामफाल्न नसक्ने? भन्नुहोस्।
मैले माथि नै भनिसकेँ मानिसले पहिले आफूलाई बचाउने प्रयास गर्दछ त्यसपछि मात्र अरुलाई। जहाँसम्म उहाँहरु किन हाम फाल्नु भएन भन्ने प्रश्न छ शायद उहाँहरु पनि आफूलाई बचाउन प्रयासमा हुनुहुन्थ्यो होला। अरु, कि उहाँहरु जानुन् कि भगवान जानुन्।
४१ बयान कस्तो भयो? आज नभ्याएकोले भोलि १० बजे उपस्थित हुनुहुनेछ।
आज गरेको बयान पढेँ, सुनेँ। मैले भने बमोजिम लेखिएको ठीक छ। भोलि पुन: १० बजे उपस्थित हुनेछ।
इति सम्वत् २०५१ साल श्रावण २८ गते रोज ६ ------
२०५१।४।३० मा बाँकी बयान
४२. जवाफ २८ मा हामफाल्न नपाउँदै खसेको भन्नुभयो, जवाफ २४ मा ढोकाको लक खोल्न के हात बढाएको थिएँ मोटरबाट खसेँ भन्नु भयो। नागरिक छानबिन समितिमा माथि हामफाली भन्नु भयो। तपाईंको गाडीको तपाई बस्नु भएको ढोकापटिको लक खुला छ। अरु लक बन्द छ, लकको सिस्टम कस्तो छ? तपाईपट्टिको लक खुलेपछि सबै लक खुल्छ/खुल्दैन? मोटर खसेपछि मानिस झिक्ने तर्फ हारगुहार नगरी हतारहतार नारायणघाटतर्फ आउनु भएको कारण के हो?
सबभन्दा पहिला प्रश्नमा श्रीमानबाट नागरिक छानबिन आयोगको प्रतिवेदनमा संलग्न रहेको सवाललाई उठाउनु भएको छ। श्रीमानबाटै जाहेर भइसकेको छ कि सो आयोग व्यक्तिगत आयोग थियो। सो आयोगलाई मेरो शब्दमा परिभाषित गर्ने हो भने सो आयोगका सम्मानित सदस्यज्यू पनि यसै आयोगमा संलग्न रहनु भएको हुँदा म शब्दको लागि माफी चाहन्छु। कथित नागरिक छानबिन आयोगलाई मैले स्वतन्त्र र निष्पक्षभन्दा पनि राजनैतिक वेश्यावृत्तिप्रति उद्यत रहेको मैले पाएँ। कथित नागरिक छानबिन आयोगले स्वतन्त्र र निष्पक्षताको नाममा व्यक्ति, पार्टी, संस्था अनि उपचुनावको मसलाको रुपमा केन्द्रित रहेर प्रतिवेदन ल्याएको मैले पाएँ। यो कुराको पुष्टि यहाँबाट पनि हुन्छ कि छानबिन सकेको ८ महिना पश्चात् उम्मेदवारी नाम दर्ता गर्ने दिनको एक दिन अगाडि पौष १५ गते ल्याउनुले पनि स्पष्ट हुन्छ। जहाँसम्म हाम फालेको/खसेको सवाल छ त्यसमा मैले माथि पनि भनिसकेको छु- आफू तयारीसाथ हामफाल्न नभ्याउदै गाडीको बज्रबाट मलाई हुत्याएको हुन सक्छ। उक्त अवस्थाको संकटकालीन स्थितिमा म आफै पनि कसरी बाँच्न पुगें मलाई आफैलाई आश्चर्य लाग्यो।
जहाँसम्म ढोकाको लकको सवाल छ, सो लक अटोमेटिक लक नभइकन अथवा सो गाडीको सम्पर्ण लक सिस्टम चालकद्वारा संचालित नभई प्रत्येक साईडमा बस्ने व्यक्तिमाथि नै भर पर्दछ। जहाँसम्म उद्धार कार्यमा नलागी हतारहतारमा भरतपुरतर्फ आएको भन्ने सवाल छ। त्यसको जवाफ माथि पनि दिइसकेको छु- कि दुर्घटनास्थलमा हारगुहार गर्ने, रुनेकराउने संलग्न रहेको व्यक्तिसँग सबै कामहरु भएकै हो। यहाँसम्म कि आध्यात्मिक दृष्टिले हेर्ने हो भने पनि मैले भगवानलाई समेत गुहार मागेको छु। भरतपुरतर्फ आएको सवालमा सो स्थलमा ठोस उद्धार त के कृत्रिम उद्धार पनि नदेखिएको हुँदा पार्टीलाई र प्रहरीलाई जतिसक्यो चाँडो खबर गर्दा चाँडो उद्धार होला भनी खबर गर्न आएको हुँ। यहाँनिर मेरो एउटा प्रश्न छ, यदि म जतिसक्दो चाँडो पार्टी र प्रहरीलाई खबर गर्न नआई दर्घटनास्थलमा नै बसिरहेको भए किन चाँडै नै पार्टी र प्रहरीलाई खबर गर्न गइनस् भनी प्रश्न उठ्थेन र?
४३. जिल्ला प्रहरी कार्यालय मार्फत सरकारी वकिलले २०५० साल आषाढ ९ गते टुङ्गाइएको बयानमा गाडीको ढोका खोल्ने तानी म गाडीबाट हाम्फालेँ, म हाम्फाल्ने बित्तिकै केही तल थुम्कोमा गाडीको मुख जोतिन पुग्यो भन्नभयो। यहाँ गाडी ढिस्कोमा बज्रियो म खसें भन्नु भयो के हो त? खुलाउनु होस्।
गाडी जब पिच छाडी भीरतर्फ दुर्घटना भयो त्यसपछि मलाई दर्घटना भयो भन्ने निश्चित भयो। त्यसै क्रममा मैले आफूलाई बचाउने प्रयास गर्नु स्वाभाविक थियो। यस क्रममा मैले ढोका खोल्ने प्रयत्न स्वरुप ढोकाका कब्जामा हात पुर्याउने, गाडी बज्रिनु र म खस्नु एकैचोटि भएको हुनुपर्छ। सो वस्थामा गाडी पूरा घोप्टो परेको हुँदा मेरै हातको दवावबाट कब्जामा धक्का लागी (कब्जा उघ्री) टोका घोप्टिन गै उक्त ढोका मेरो हातको दबाबबाट भन्दा पनि घोप्टो अवस्थामा रहेको गाडीकोका आफ्नै भारले उघ्रिएको भन्ने मेरो अनुमान छ। बत्तिएर आएको गाडी बत्तिएको बेगले म खस्नु, सँगसँगै झर्याम्म भएको आवाज आएको हुँदा मेरो अनुमानमा सो समयमा म खस्नु र गाडी बजिनु एकैसाथ भएको भन्ने मेरो अनुमान छ।
प्रहरी बयानमा भने बमोजिम आफू तयारीसाथ नहाम्फाली गाडीको असन्तुलित अवस्थामा खसेको कुरा मैले बयानमा भने जस्तो लाग्छ। तात्कालीन समयमा अन्योल र भ्रमहरु श्रृजना भैरहेको, आफू १८ दिनको अस्पतालको भर्ना पश्चात् भर्खर डिस्चार्ज भएतापनि शारीरिक, मानसिक असन्तुलनहरु हनु स्वाभाविकै थियो। भनाईका व्यहोराहरु लेखाईको प्रक्रियामा त्रुटीहरु भए होलान्। सो दुर्घटना भएको वेलाको संकटकालीन घडीमा मैले के गरेँ के गरिनँ सबै कुरा एकिन भएको छैन। जहाँसम्म मलाई लाग्छ म बच्नुको कारण माथि भने बमोजिम हुन सक्छ। मैले माथि पनि भनिसकेँ यस्तो अवस्थाको ठोस जवाफ स्वयम् त्यस्ता अवस्थामा परेकाहरुले दिन सक्नेछन् अथवा थाहा हुनेछ।
जहाँसम्म प्रहरी बयानमा हाम्फालेको हो भन्ने सवाल छ मेरो माथिका कुराहरु राख्दा पार्टीका स्थायी समितिका सदस्य केपी ओलीजीले वीर हस्पिटलमा तपाईका भनाईहरु सुन्दा तपाई हामफाल्नु भएको हो अनिल आयोग पनि आउँछन् हाम्फाल्नु भएकै हो भन्नु भए हुन्छ। प्रहरीमा पनि यही प्रश्न आउँदा सोही निर्देशन अनुरुप सहमति जनाएको हुन सक्छ।
४४. मुग्लिङबाट वा सुनकोशी होटलबाट घटनास्थल नपुग्नेज्यालसम्म तपाईको मोटरको अघिपछि कुनै कार, बस, ट्रक, मोटरसाइकल आएको थियो/थिएन? सुनकोशी होटल र दासढुंगाको बीच आफ्नो मोटर कतै रोक्नु भयो/भएन? दुर्घटनास्थलमा कुनै ट्रकलाई पास हुन दिन साइड लाइट दिई आफ्नो मोटरको रफ्तार कम गर्नु भएको थियो कि? भन्नुहोस्।
मुग्लिङदेखि यता दुर्घटनास्थलसम्म चिया खान सुनकोशी होटलमा बाहेक अन्य कतै रोकिएको छैन। बीचमा मैले एउटा ट्रकलाई ओभरटेक गरेको थाहा छ। यत्रतत्र सडकमा आउने गाडीहरु भेटिरहन्थ्यो, को के कसो हो थाहा भएन। दुर्घटनास्थलमा मैले रफ्तार कम गरी प्रश्नमा भने जस्तो कुनै गाडीलाई साइड दिएको थाहा छैन। मैले ट्रकलाई ओभरटेक गरेको ठाउँ सुनकोशी होटल र दुर्घटनास्थलको बीचमा पर्दछ, ठाउँको नाम थाहा भएन।
४५. नागरिक छानबिन समितिले ना.अ.ख. ६२० नं. ट्रकको खलासीले खस्ने गाडी पहिले अगाडि थियो, साइड दियो, डाईभर फुत्त हामफाल्यो भन्ने सम्पूर्ण कुरा तपाईलाई सुनाइन्छ। सोतर्फ तपाईको भनाई के छ?
पहिलो कुरा नागरिक छानबिन आयोगको प्रतिवेदनले आफ्नो प्रतिवेदनमा षड्यन्त्र र सुनियोजितताको कुरा उठाए पनि स्पष्ट रुपमा उस्ले प्रमाण ल्याउन सकेको छैन। सिंगो प्रतिवेदन अनुमान र हचुवाको भरमा प्रत्येक बुँदाहरुमा सम्भावनाहरु हुन सक्छ, भयो होला, भन्ने किसिमका प्रश्नवाचक र प्रश्नवाचक नै खडा भएर आएको छ। मैले माथि पनि भनिसकेँ- कथित नागरिक छानबिन आयोग राजनीतिक उद्देश्य पूर्तिको लागि मात्र थियो।
जहाँसम्म ना.अ.ख. ६२० नं. ट्रकको खलासीको सवाल छ, सो सरासर गलत र झुठा हो। दुर्घटना हुने समयमा तत्काल त्यहाँ त्यस्तो कुनै ट्रक आएको थिएन। यो कुरा अनुमानित रुपमा छ। यस्को पुष्टि यहाँबाट पनि हुन्छ कि गाडी खसेको देख्नु, चालक हाम्फालेको देख्नु, टाउको खसेर उत्तानो परेको देख्नु, तर गाडीमा अंकित रहको डेढ मिटरको झण्डा नदेख्नु, यस्ले गर्दा यो कुरा आफैमा असत्य छ। तर म माथि आएपछि दुर्घटना भएको ५/७ मिनेटपछि मात्र त्यहाँ एउटा ट्रक आएको छ। ५/७ मिनेट पछि आएको खलासीले अगाडि भएको दर्घटना कसरी देख्न सक्छ? ५/७ मिनेट पछि आएको ट्रकको नम्बर मलाई थाहा छैन।
४६. भण्डारीले पाइन्ट लगाउनु भएको थियो वा अन्य पोशाक लगाउन भएको थियो? पाइन्ट भए पेटी र बेल्ट लगाएको थियो थिएन? मोटरमा रहने बेल्ट को-कसले बाँधेको वा थिएन? साथै मदन भण्डारी चढेको यो मोटर अघिअघि कतै दुर्घटना भएको पनि थियो?
उहाँले पाइन्ट लगाउनुभएको थियो। उहाँ प्राय: पेटी लगाउनु हुँदैनथ्यो। सो दिन लगाउनुभयो, भएन थाहा भएन। गाडीमा भएको बेल्ट सो दिन सुनकोशी होटलसम्म कमरेड मदन र मैले लगाएको थियौं र सुनकोशी होटल पश्चात् मदन कमरेडले लगाउनुभएको थाहा छैन। सो बेल्ट मदनले आफैंले लगाउने र खोल्ने गर्न सक्नुहुन्थ्यो। सो जीप पहिला पनि मेरै हातबाट सामान्य दुर्घटनाहरु भएको हो। त्यसको अलावा तत्कालीन रापस विश्वबन्धु थापाको हातमा रहँदा पनि ठूलो दुर्घटना भएर वा पल्टिएर पुन: ओभरहल गरेको भन्ने सुनेको थिएँ।
४७. गणेश बहादुर केसीले तपाईंले पोखरामा साबुनको डब्बा किन्दा ‘बाँचियो भने नारायणघाट गई नुहाउँला’ भन्नुभयो। सोको प्रयोजन के हो र सुनकोशी होटलमा चिया खाँदा आफैंले रोक्नुभएको हो वा जीवराज वा मदन भण्डारीले भनी रोक्नुभएको हो?
मैले पोखरामा साबुन किनेको साँचो हो। गणेश बहादुर केसीको भनाई कपोलकल्पित छ। निजले भने जस्तो कुरा मैले भनेको थिइनँ। उनले के कारणले भने। उनलाई मानसिक असन्तुलनको रोग भएको हो भन्ने मेरो अनुमान छ। होइन भने यस्तो झुटा कुरा किन भने? मुग्लिङ पुल पारी कमरेड मदनले चिया खाने प्रस्ताव राख्नुभयो। शायद झरी पानीको कारणबाट जाडोले हुनसक्छ। सो प्रस्ताव मुताबिक मुग्लिङ बजारमा चिया खान गाडी रोक्दा मदनले नै यहाँ भीड होला यसभन्दा अगाडि कतै एकान्त ठाउँमा खाने भन्नुभयो। सोही प्रस्ताव र निर्देशन बमोजिम मुग्लिङदेखि वरको पहिलो बजारमा चिया खान रोकिएका हौं। यो मेरो मात्र नभई हामी तीनै जनाको सहमति बमोजिम भएको हो।
४८. सवारी चलाउन कहिले सिक्नुभयो? नेकपा (एमाले) को गाडी चालक हुनुअगाडि अरु कसको गाडी कहिलेसम्म चलाउनु भयो? कति पढनु भएको छ? नेपाली भाषा बाहेक अरु भाषाको ज्ञान छ कि?
०४३/०४४ सालतिर सवारी चलाउन सिकेको हुँ। नेकपा (एमाले)को सवारी चलाउनुभन्दा पहिला काठमाडौंकै साहुहरुका निजी ट्याक्सी, टेम्पो चलाएको हुँ। ७ सम्म अध्ययन गरेको छ। अंग्रेजी भाषा मलाई आउँदैन। हिन्दी भाषा काम चलाउ मात्रामा बोल्न आउँछ।
४९. नागरिक छानबिन समितिको प्रतिवेदनमा तपाईंले आफ्नो श्रीमतीलाई लेख्नुभएको चिठीमा आजभन्दा अगाडि भएका गल्तीहरु जे भए ती सबैलाई बिर्सिदेऊ भन्ने वाक्यांश परेको छ। त्यसको आशय के? लेख विवेचना कुनै पत्रिकामा प्रकाशित गर्ने वा समाचार दिने काम गर्नुहुन्थ्यो?
नागरिक छानबिन आयोगको प्रतिवेदनमा प्रकाशित श्रीमतीको नाममा मेरो पत्र मेरो परिवारसँग मात्र सम्बन्धित छ। प्रश्नमा मनसाय के हो भन्ने सवालमा मेरो परिवारको बीचमा पनि अथवा हामी श्रीमान् श्रीमतीमा पनि सामान्य पारिवारिक झगडा भइरहन्थ्यो। त्यस क्रममा हामीबीच हुने सामान्य झैझगडाका विषयला बिर्सिदेऊ भन्ने मेरो आशय हो। यो सम्मानित आयोगसमक्ष म यो पनि अवगत गराउन चाहन्छु कि दुर्घटना हुनु अगावै जेष्ठ १ गतेभन्दा केही दिन अगाडि पनि हामीबीच सामान्य झगडा नभएका होइनन्। हामी श्रीमान र श्रीमतीबीच भएको झगडामा एक पार्टीको जिम्मेवार कार्यकर्ताको हैसियतले पार्टी समक्ष राख्नुपर्ने हुँदा मेरो परिवारमा भएको झगडाले पछि पार्टीमा असर पर्न सक्छ भन्ने हेतुले र पार्टीलाई म सोही पार्टीको कार्यकर्ताको कारणबाट नराम्रो असर पर्न सक्ने भएको हुँदा मैले सो कुराहरु पार्टीका श्रद्धेय मदन, आश्रित, ईश्वर पोखरेल, वाचस्पति देवकोटा, लेखनाथ कोइराला, शैलेन्द्रजंग थापा लगायतका साथीहरुलाई पूर्व अवगत गराएको थिएँ। सो विषयमा मैले कमरेड ईश्वरसँग कमरेड सानु श्रेष्ठको विवाहको दिन क्षेत्रीय पार्टी कार्यालयको प्रांगणमा मलाई यस विषयमा निर्देशन चाहियो भन्दा उहाँले पछि पार्टीमा बसेर कुरा गरौंला भन्नुभयो।
सोही विषय मदनलाई अवगत भएको हुँदाहुँदै पनि मैले २०५० बैसाखको अन्तिम दिन महाराजगञ्जमा पार्टी अध्यक्ष मनमोहन अधिकारीको घरमा उहाँलाई अवगत गराएको थिएँ। यसबारे उहाँको निर्देशन यस्तो थियो-
त्यसो भए हाम्रो एक महिने पूर्वाञ्चल भ्रमण छ। यस अवधि भर हामी बाहिर हुन्छौं। श्रीमतीलाई तर्साउने हेतुले केही दिन आफू अलग रहनू भन्नु भएकोकाले मैले सोही दिन मदनलाई पार्टी अध्यक्षको घर (जहाँ स्थायी समितिको बैठक चल्दै थियो)मा छाडी सोही गाडी लिई कोठामा रहेको निजी सामग्री र किताबहरू लिएर पार्टी अफिसमा लगी थन्क्याएको हुँ। सो सामग्रीमा पछि मेरै श्रीमतीबाट केही मात्रामा फिर्ता भयो।
यहाँ निर मेरो परिवारमा मूल कारण के हो भने मेरो श्रीमतीले म सशक्त रूपमा राजनीतिमा नउत्रियोस् भन्ने चाहन्थिन्। उनको मतलब हामीजस्तो गरिबले राजनीतिमा सशक्त भएर उत्रनु हुँदैन भन्ने थियो। यही क्रममा म राजनीति छोड्न चाहन्नथेँ। यिनै विषयमा झगडा हुँदा अतीतका तीता कुरा बिर्सिदेऊ भन्ने मेरो मनसाय हो। जहाँसम्म लेख विवेचना र पत्रपत्रिकाको सवाल छ म एमालेको तत्कालीन एक जिम्मेवार सदस्यको हैसियतले पार्टीको नजिकमा रहेका पत्रिका दृष्टि, छलफल, जनता साप्ताहिक, प्रकाश र जनबल साप्ताहिकहरूमा लेखरचना र समाचार लेखी सहयोग गर्दथेँ। यसको अलावा जनता र जनबल साप्ताहिकमा नियमित स्तम्भ ओगटी लेख लेख्ने गर्दथेँ। एउटै अंकमा दुई स्तम्भ वा लेख लेखिँदा आफ्नै नामबाट र विजय लामाको नामबाटसमेत लेख लेख्दथेँ। म तत्कालीन समयमा जनता साप्ताहिकको संवाददाता थिएँ। यसको पुष्टि मसँग रहेको संवाददाता परिचयपत्र पूर्व प्रकाशित लेखरचना भएको पत्रिकाहरुबाट हुन्छ।
त्यतिमात्र नभई कुलेश्वर क्लबको नवौं वार्षिकोत्सवमा महाराजधिराजको ४७औं जन्मोत्सवको उपलक्ष्यमा कुलेश्वर क्लबद्वारा प्रकाशित बुलेटिनमा एक सान्दर्भिक र खोजपूर्ण 'आफ्नै समाजमा असुरक्षित छन् वादी जातिहरू' साथै सोही बुलेटिनमा प्रकाशित सांसद कृष्णगोपाल श्रेष्ठको शुभकामना सन्देश उहाँको मञ्जुरीमा उहाँकै सासंद लेटरप्याडमा मैले ड्राफ्ट गरेको थिएँ। यसका अलावा नेताहरूसँग पत्रिकाको लागि साक्षात्कार समेत गर्दथेँ। जनबल साप्ताहिकमा प्रकाशित पहिलो अंककै साक्षात्कार स्तम्भ मैले सुरु गरेको हो। यस कुरालाई अहिले साथीहरूले ढाकछोप गर्न सक्छन् तर यो वास्तविकता हो।
यस्तै जेठ २ गते राती हरि पाण्डेको घरमा केही लेखेको थिएँ कि भन्ने सवालमा सो दिन दिउँसो भएको कार्यक्रमको रिपोर्टलाई बुँदागत रूपमा केही लेखेको हुँ। पछि थाहा भयो सो दिनको कार्यक्रम रिपोर्ट पोखरास्थित दृष्टि प्रतिनिधि पुण्य पाण्डेले दिनुभएको थियो। त्यसैले मैले काठमाडौंमा प्रकाश साप्ताहिकलाई तयार पार्न आँटेको रिपोर्ट पूरा नलेखी सुतेको थिएँ। त्यसमा के के लेखेको छ यकिन भएन। काठमाडौंबाट निस्कदा पनि दृष्टि र प्रकाशका साथीहरूले समाचार पठाउनू, पछि खर्च हामी व्यहोरौंला भनेको हुँदा सो डायरीमा केही लेखेको हुँ। सो डायरी हाल दुर्घटनास्थलबाट निकाली लगेको एमाले केन्द्रीय कार्यालयमा रहेको झोलामा हुनुपर्छ। दैनिक लेख्ने मेरो बानी छैन। माथि उल्लेखित हरि पाण्डेको घरमा लेखेको डायरी महाधिवशेनमा प्रयोग भएजस्तो पल्टाउन मिल्ने नोटबुक हो। लेटर प्याड हो। साथै सोही झोलामा निजी डायरी भएको पनि अवगत गराउँछु।
५०. फण्ड उठाउने हेतुले विदेशीहरुलाई त्यो मोटरमा ओसारपसार गरेको छ छैन? भए को कस्तालाई गरेको हो? पार्टीको विषयमा पनि विदेशीहरुसँग कुराकानी हुने गर्दथ्यो कि?
पार्टीको काम बाहेक वा पार्टीमा प्रयोग नहुँदा पार्टीकै सम्पर्कमा रहेका ठमेल स्थितको ट्रान्स सर्भिसलाई भाडामा दिने गर्दथ्यो। सो प्रयोजनको लागि काम शैलेन्द्रजंग थापाले नै मिलाउनुहुन्थ्यो। मैले खाली चालक भूमिका मात्र निर्वाह गर्दथें। मोटान्स सर्भिसले पठाए अनुसार जाइका, अष्ट्रेलियन एम्बेसीद्वारा सञ्चालित विदेशीहरुलाई लिई टप्चे भन्ने ठाउँ आँखा शिविरमा गएको हुँ। ट्रान्स सर्भिसद्वारा मलाई अन्दाजी ०४९ सालतिरकै कुरा हो, बालुवाटारस्थित एशिया फाउण्डेशन भन्ने ठाउँबाट पनि केही विदेशीलाई लिई नेपालगन्ज र दाङमा रहेको गैर सरकारी संस्था ब्याकवार्ड सोसाइटी एजुकेशन संस्थाद्वारा सञ्चालित कार्यमा विदेशीलाई लिएर गएको हो। चालकको नाताले र पार्टीले दिएको निर्देशन अनुसार ट्रान्स सर्भिसद्वारा पठाउने ठाउँहरुमा जान्थें। यो कुरा ट्रान्स सर्भिसलाई मात्र नभई पार्टीको लेखा समितिमा रहेको आम्दानी हिसाबमा समेत उल्लेखित छ। ट्रान्स सर्भिसका मालिकको नाम विजय श्रेष्ठ हो। उनी पनि एमालेकै समर्थक हुन्। विदेशी संस्था र विदेशीको हकमा महाधिवेशनमा आमन्त्रित विदेशी अतिथि बाहेक अरुहरुसँग चिनापर्ची र सम्पर्क छैन। महाधिवेशनमा आउनु भएका विदेशीहरुसँग सोही गाडीमा पार्टीले अह्राए बमोजिम साइट सिन र सँगै खाने, सँगै फोटो खिच्ने, आत्मीयता र भाईचाराको दृष्टिकोणले भएको हो। अरु मलाई थाहा छैन।
ट्रान्स सर्भिसबाट विदेशीहरुलाई लिएर जाँदा विदेशीसँग पार्टीको विषयमा कुरा गर्ने त परै जाओस् शैलेन्द्रजंग थापा र विजय श्रेष्ठले गाडीको डेस्क बोर्डमा टाँसिएको साविकको रुसको झण्डाको स्टिकर समेत ग्राहक भड्किन्छ भनी उप्काउन लगाउनुहुन्थ्यो। पार्टीको कुरा गर्नु त सवाल नै भएन।
५१. एशिया फाउण्डेशनबाट कस्ता, जाइका र अष्ट्रेलियन एम्बेसीबाट कस्ता राष्ट्रियताका विदेशीहरुलाई ओसारपसार गर्नुभएको हो खुलाई दिनुहोस्।
जाइकाबाट लगेका विदेशीहरु खानेपानीका जापानी इन्जिनियर हुन् भन्थे। अष्ट्रेलियन एम्बेसीबाट त्रिशूलीको टुप्चेस्थित आई क्याम्पका अष्ट्रेलियन डाक्टर हुन् भन्थे। एशिया फाउण्डेशनबाट उठाएको विदेशी कुन राष्ट्रको हो थाहा भएन।
५२. नेकपा (एमाले) सँग तपाईको सम्बन्ध कस्तो छ। मदन भण्डारी र जीवराज आश्रितसँग तपाई कहिले परिचित हुनु भयो? सम्बन्ध र घनिष्टता तपाईंको कस्तो थियो?
नेकपा (एमाले)मा म सदस्यको हैसियतले कार्यरत थिए। जुनबेला मैले नेकपा (एमाले) मा रहेर जिम्मेवार सदस्यको रुपमा कार्यरत थिएँ, त्यसबेला आफ्नो सिंगो पार्टीलाई नै आफ्नो जीवन ठानी पार्टीका, जिम्मेवारीलाई आत्मासात गरी वफादार सदस्यको हैसियतले कार्यरत थिएँ। पार्टीभित्रका सम्पूर्ण नेता कार्यकर्ताहरुसँग मेरो आत्मीयतापूर्ण सम्बन्ध थियो। कमरेड मदनको सवालमा उहाँ मेरो एक नेता मात्र नभई अभिभावकको रुपमा पनि रहेको कुरा अवगत गराउँछु। हामी एकै परिवारका सदस्य थियौं। शायद उहाँसँग मेरो खाने थाल र सुत्ने विछ्याउना फरक रहन्थ्यो होला।
०४६ सालका आन्दोलनपश्चात् २०४७ सालमा बनेको संविधान दरबारबाट लागू हुन ढिलाई भएको हुँदा तत्काल संविधान लागू होस् भन्ने हेतुले काठमाडौंमा एक विशाल जुलस भएको थियो। सोही दिन कमरेड मदन सार्वजनिक हुनुभएको थियो र खुल्ला मन्चमा आमसभा पश्चात उहाँसँग सामान्य परिचय भएको हो।
त्यसपछि पार्टीको विविध कार्यक्रमहरुमा सहभागी हुन्थें। यसै सिलसिलामा कमरेड जीवराजसँग बागबजारस्थित केन्द्रीय कार्यालय उदघाटन कार्यक्रमका दिन परिचय भएको हो।
जीवराज पहिले भूमिगत अवस्थामा गण्डकीमा कार्यरत रहनु भएकोले र मेरो घर पनि गण्डकीमै पर्ने हुँदा उहाँसँगको परिचय सजिलो भएको हो। त्यसपछि म पार्टीका कार्यक्रम मार्फत केन्द्रीय नेताहरुसँग सम्पर्कमा आए। एक मजदुर चालकको नाताले र सोही पार्टीको कार्यकर्ताको हैसियतले केन्द्रमा रहेर काम गर्न निर्देशन भयो। यसै सिलसिलामा कमरेड मदनको परिवारको एक सदस्य हुन पुगें। यो मेरो सौभाग्य र गौरवको विषय थियो। त्यो सौभाग्य र गौरवलाई समयले दीर्घ रहन दिएन। यो मेरो जीवनको दुर्भाग्य र दुःखदायी थियो।
महाधिवेशन र विचारको सवालमा 'म महाधिवेशनको प्रतिनिधि चुनिएको थिएँ। २०४९ को माघ १४-२० मा सम्पन्न सो ऐतिहासिक महाधिवेशनमा म कमरेड मदनको नवीन विचार जनताको बहुदलीय जनवादलाई प्रचारप्रसार र मत समेत दिएको हुँ।
सिंगो पार्टीले दुर्घटना पश्चात् दुर्घटनाका वास्तविकतालाई तथ्य सत्य ढंगले जनसमक्ष ल्याउनेभन्दा पनि राजनीतिक स्वार्थ र उद्देश्य पूर्तिको लागि मलाई बलीको बोका बनाएर सो दुर्घटनालाई राजनीतिक हतियार बनाई झुठ र असत्यको राजनीति गरिरहेको छ। म पार्टीको विश्वासिलो सदस्य र कमरेड मदनको विश्वासको पात्र (यो भनाई दुर्घटना पश्चात् पार्टीकै शीर्षस्थ नेताहरुबाट जाहेर भएको छ) लाई झुठा अभियोग लगाएर यसरी अन्यायपूर्ण ढंगले थुनेको हुँदा यसले कमरेड मदनको आत्मालाई संतप्त पारेको हुँदैन र? यो कुरा अझ स्वयं कमरेड मदनकै आत्माले प्रत्यक्ष देखेको भए पार्टीलाई धिक्कार्ने थियो। यति मात्र नभई सिंगो पार्टी अझ कमरेड मदनको आस्था, आदर्श, महाधिवेशनका म्याण्डेट विपरीत गइरहेको छ भन्ने कुरा मेरो ठहर छ। यो कुराको पुष्टि दुर्घटनादेखि आजसम्मको क्रियाकलापले बताउँछ। दुर्घटना पश्चातका क्रियाकलाप र आरोपहरुले गर्दा अझ मेरो जीवन नेपाली सलमान रुस्दी र तसलिमा नसरिन बन्न पुगेको छु। यसतर्फ सम्मानित आयोगको ध्यान केन्द्रित गर्न चाहन्छु।
५३. एमाले पार्टीमा चालकको रुपमा तपाईंले कहिलेबाट काम गर्नुभयो? कसले परिचय गरायो? मदन भण्डारी चढ्ने गरेको सो मोटर को कसले हाँक्ने गर्दथे? अरु ड्राइभर पनि थिए कि?
संसदको चुनावपछि (०४८ साल) सो गाडी चलाएको हुँ। सिफारिसको हकमा म सोही पार्टीको कार्यकर्ता र एक चालक पनि भएको थाहा पाई कानपा १३ का वार्ड अध्यक्ष जीवन मानन्धरले कुलेश्वर आवास क्षेत्रस्थित मेरो डेरामा आई तपाईंलाई केन्द्रीय कार्यालयमा बोलाएको छ भनेका थिए। केन्द्रीय कार्यालय जाँदा तत्कालीन केन्द्रीय कार्यालयका सुरेश निरौला (शर्मा) ले समेत सोही विषयमा कुरा भई कमरेड मदनको डेरामा गई सोही दिनदेखि सो गाडी चलाउने जिम्मा लिएको हुँ। ड्राइभिङ्को सवालमा म बाहेक शैलेन्द्रजंग थापाले पनि हांक्ने गर्नुहुन्थ्यो। तर बढी मात्रामा म हाक्न गर्दथें। मेकानिक्स ज्ञानको सवालमा सामान्य ज्ञान छ इन्जिन र ठूला पार्टपूर्जा बारेमा त्यति ज्ञान छैन। सो गाडी मेरो विकल्पमा शैलेन्द्रजंथ थापाले हाँक्नु हुन्थ्यो। तर उहाँले पारिश्रमिक लिने गर्नु भएको थिएन।
५४. पार्टीको गाडी यो मात्र थियो कि? मदन भण्डारी गाडीमा बसेको अवस्थामा शैलेन्द्रजंग थापाबाट चलाएको बेला पनि कुनै दुर्घटना भएको छ कि?
पार्टीको सोबाहेक अर्को गाडी छैन। शैलेन्द्रजंग थापाले हाँक्दा दुर्घटना भए नभएको थाहा छैन।
५५. दुर्घटनास्थलको सडक चाक्लो छ, त्यस्तो ठाउँमा दुर्घटना हुनु र आफू बच्नु, गाडी सडक छोडी गुडेपछि नेताद्वयलाई सतर्क नगराउनु, नदीमा बचाउने प्रयास नगर्नु, ड्राइभरी तलबले पुगेन भनी कतै कतै गुनासो गर्नु, बराबर सम्मेलन स्थलबाट बाहिर जान र मोटरमा चिनारीको लागि झण्डा राख्ने, यी सबै क्रियाले मदन भण्डारी, जीवराज आश्रितलाई हत्या गर्ने योजना पडयन्त्रमा प्रलोभनमा परी भएको हो भन्ने शंका र भनाई छ, कसो हो?
दुर्घटना भन्ने विषय कहीं कतै पनि हुनसक्छ। त्यसमाथि पनि मिशिनरी चीजमा भर पर्ने कुरा। त्योभन्दा पनि अझ सामान्य र खुला सडकहरुमा पनि धेरै दुर्घटना भएको नजीर हामीसँग छ। सडकको विषयमा पछि सर्जमिनको लागि सो स्थलमा जाँदा आफू समेत आश्चर्यमा परें कि यति ठूलो ठाउँबाट कसरी दुर्घटना हुन पुग्यो? तर पनि उक्त स्थल केही अव्यवस्थित नै छ। नेताहरुलाई सजग नगराएको बारे माथि नै जवाफ दिइसकेको छु। मेरो आर्थिक अवस्था र पारिवारिक समस्याको कठिनाइबाट मैले मात्र नभई केन्द्रीय कार्यालयकै सम्पूर्ण स्टाफहरुबाट संयुक्त रुपले तलब वृद्धिको माग भएको हो। झण्डाको सवालमा कुनै अन्यथा चिनारी नभई पार्टीकै चिनारीको लागि प्रयोगमा ल्याएको हो। कुनै पड्यन्त्र र प्रलोभनमा म परेको छैन र पर्न सक्दिनँ पनि र यो कुराको जवाफ प्रश्नमै निहित छ कि त्यो शंका मात्र हो। शंका जोसुकैले जे पनि गर्न सक्छन्। जसले षड्यन्त्र र प्रलोभनका कुरा उठाइरहेका छन्, आजसम्म उनीहरु कसैबाट पनि ठोस प्रमाण ल्याउन सकेको छैन। षडयन्त्र र प्रलोभनमा परी श्रद्धेय नेताद्वय मदन-आश्रितको हत्या गर्यो कि भन्ने शंका मेरो हकमा धेरै टाढाको विपयवस्तु हो। उक्त काम मेरो तर्फबाट गर्न त परै जाओस् सोच्न र कल्पना समेत गर्न सक्दिनँ। यदि कसैले यसको पुष्टि गर्न सक्छ भने म जेल जीवन मात्र होइन, लाखौं जनताको बीचमा मृत्युवरण गर्न तयार छु। यसको साक्षी मेरो हस्ताक्षरयुक्त यही बयान हुनेछ।
५६. हम्फ्रेजको रगत जाँचको रिपोर्टमा मदन भण्डारीको रगतमा ट्रेसेज अफ आइसोप्रोपानल, आइसोबुटानल र डाइल्कोरोमिथेन, जीवराजको रगतमा आइसोबटानल, पेन्टानल र डाइक्लोरोमिथेन रहेको पाइन्छ र यी तत्वहरु मृत्यु हुनुभन्दा अगाडि फोक्सोबाट स्वास प्रक्रियाबाट गएको भन्ने र त्यसको प्रभावले स्नायु प्रणालीलाई असर पुग्छ भन्ने छ, त्यसमा तपाईंको के भनाई छ?
तत्वहरु उहाँहरुको शरीरमा के कति कारणबाट गयो या भयो मलाई थाहा छैन। जहाँ रगतमा देखिएको तत्वहरुको सवाल छ, रगत जाँच गर्ने डाक्टरले आफ्नो प्रतिवेदनमा शर्तबद्ध लेखिएको छ, जसका विविध शर्तहरु जस्तै पोष्टमार्टम गर्दा बोतलमा रगतलाई कभरिङ गर्दा र आल्टच्यूडको कारणबाट पनि यो हुन सक्छ भन्ने रहेको छ। मेरो सवालमा उहाँहरुको स्वस्थ रगत नभइकन कीटाणुयुक्त रगत थियो। यसको पुष्टि यहाँबाट पनि हुन्छ कि जीवराज ११ रात र कमरेड मदन २ रात दुषित भेल पानीमा रहनुभएको थियो। यसरी पानीमा डुब्दा त्यो पनि एक दुई रातसम्म दूषित पानीमा रहँदा सोही दुषित पानी शरीरमा गई उहाँहरु दुवै जनाको रगत कीटाणुयुक्त र अस्वस्थ भइसकेको थियो भन्ने मेरो मत हो। सम्मानित चितवन जिल्ला अदालतले पनि डा. हम्फ्रेजको प्रतिवेदन जाँचपछि षडयन्त्र र विषपानको कुरालाई स्पष्ट दिएको छ। मेरो यिनै भनाईको साथ डा.हम्फ्रेजको शर्तहरुमा पनि यस सम्मानित आयोगको ध्यान केन्द्रित गराउन चाहन्छु।
५७. आक्रमण गराई वा लठ्याउने औषधि वा विष प्रयोग गरी एवं भण्डारीको मृत देहलाई दासढुंगाभन्दा तल फाल्न लगाएको अन्यको भनाई पनि छ । यसमा तपाईंको के भनाई छ?
शत प्रतिशत असत्य र कपोलकल्पित छ। त्यो काम मेरो सोचभन्दा धेरै टाढाको विषय हो। यो प्रश्नको सम्बन्धमा मलाई सुन्दा पनि दु:ख र आश्चर्यचकित हुन्छ।
५८. तपाईले हाँकेको गाडीमा पेन्ट रिमुभर राखेको थियो वा यस्तै किसिमका अरू चिज थिए कि? वा गाडीबाट मैलो भएको हात धुनका लागि कुनै अरू पदार्थ राखेको थियो कि? खुलाई भन्नुहोस्। नेताद्वयको आफ्नै कोठा झ्यालमा रंगरोगन लगाएको थियो कि?
यस्ता कुनै पदार्थ मैले गाडीमा राखेको थिइनँ। अरू कसैले कतैबाट गाडामा रखिदिएको भए मलाई थाहा छैन। उहाहरूको घर कोठाहरू उहाँहरुबाट त्यसरी रंगरोगन भउको मलाई थाहा छैन।
५९. तपाईका स्वास्नी छोराछोरी कति छन्? काठमाडौंको घर ठेगाना के हो? तपाईंको आर्थिक अवस्था कस्तो छ? कुनै बैंकमा रुपैयाँ जम्मा गर्नु भएको छ भने त्यो कुन बैंक हो र तपाईंको डेरामा राजनैतिक चाख राख्ने कुनै विदेशी पनि आउदथे कि?
मेरो श्रीमती गोमा लामा र छोरा अमित लामा छन्। काठमाडौंको मेरो तत्कालीन डेरा कानपा १४ नम्बर वडा कुलेश्वर आवास क्षेत्रमा पर्दथ्यो। म जेल परेपछि मेरो परिवार संरक्षकविहीन भएर स्थायी घर तनहुँमा नै बस्दछन्। मेरो आर्थिक अवस्था नाजुक छ। म एक सामान्य किसानको छोरा हुँ। मेरो नाममा र मेरा दाजु भाई वा कसैको नाममा पनि एक घडेरी बराबर जग्गा पनि छैन। कृषि विकास बैंक रत्नपार्क काठमाडौंमा बचत खाता छ। सो खातामा हाल अन्दाजी १ हजार/११ सय हुनुपर्छ । अन्त कतै बैंकमा खाता छैन।
६०.तपाईलाई पैसा नपुगे कुनै विदेशी पोजेक्टमा लगाइदिन्छु भनी सिपी मैनालीले भन्नु भएको थियो थिएन? विदेशी प्रोजेक्ट कुन थियो? र सुनकोशी होटलबाट १०-१५ मिनेट लाग्नुपर्नेमा ३४-३५ मिने लागेको छ भन्ने छ कसो हो?
पार्टीको तलबले नपुगी अन्यत्र जागरि खाने सवालमा मेरो आर्थिक कठिनाइको कारण मैले सिपी मैनाली र झलनाथ खनलालाई अवगत गराई पार्ठ्ठीको नजिकमा रहेको कुनै यस्तो ठाउँ छ भने काममा लगाइदिनुहोस् भन्दा उहाँहरूबाट आशातीत हुने आश्वासन आएको थियो। प्रोजेक्टको नाम लिइएको थिएन। सुनकोशी होटलबाट दुर्घटनास्थल कति मिनेटमा आइपुग्नुपर्ने हो सो बारे मलाई थाहा छैन।
६१. सुनकोशी होटलको ट्वाइलेटमा तपाई मात्र जानु भएको हो कि अरु पनि गएको हो? गएको भए को गए? त्यहाँ टवाइलेट छ भन्ने तपाइलाई जानकारी थियो कि? नारायणघाटबाट ट्रंकल गर्दा कति तिर्न भयो? र सुनकाशा होटलमा चियाको मोल कस्ले दियो?
सुनकोशी होटलको ट्वाइलेट सोधेपछि मात्रत्र थाहा भएको हो। मभन्दा अगाडि कमरेड मदन आश्रित ट्वाईलेट जानु भएको थियो। त्यसपछि मेरो पेटको खराबीले पनि ट्वाइलेट गएको हुँ। चियाको पैसा आफैले तिरेको हुँ। नारायणघाटबाट ट्रंकल गर्दाखेरि पैसा कसले तिरेको भन्ने सवालमा मलाई जहाँसम्म लागे अनुसार सो ठाउँमा पैसा विजय सुवेदीले तिरेको हुनु पर्दछ। के कति तिरियो, त्यो मलाई थाहा भएन।
६२. तपाईं भरतपुर अस्पतालमा गएपछि घटना पछिको क्रममा मदनकुमार भण्डारीलाई भेट गराइदेऊ भनी बराबर भन्नु हुन्थ्यो भन्ने केहीको भनाई छ, कसो हो?
सो समयमा हस्पिटलमा माथिका प्रश्न कसैसँग भने/भनिनँ यकिन छैन। यद्यपि भनेतापनि मलाई के कसो भयो अथवा उहाँहरु पनि कतै निस्किहाल्नु भयो कि भनी नेताहरुप्रतिको श्रद्धा र सम्मानको कारण सो कुरा भनेँ होला।
६३ तपाईको भन्नु पर्ने केही छ?
चितवन जिल्ला अदालत र तत्कालीन अनिल आयोगको प्रतिवेदनमा लापरबाहीको अभियोग लगाइएको छ। यो अभियोगसँग म शतप्रतिशत असहमत छु। यस अभियोगलाई स्वयम् एमालेले समेत इन्कार गरेको छ भने अर्कोतर्फ षड्यन्त्रको प्रोपोगण्डालाई अदालतले स्पष्ट इन्कार गरेको छ। यसबाट पनि यो प्रमाणित हुन्छ कि त्यो मात्र आकस्मिक दुर्घटना थियो। म पार्टीको जिम्मेवार सदस्यको नाताले र साथमा पार्टीको शीर्षस्थ नेताहरू रहँदा त्यस किसिमको लापरबाही गर्ने प्रश्न नै उठ्दैन।
अन्तमा, दुर्घटनाको वास्तविकतामाथि नै उल्लेख गरेको छ। कथित आरोप कपोकल्पित, निराधार, अनुमान र हचुवाको भरमा आएका छन्। जस्को कारण आम जनता, सिंगो राष्ट्र अन्योल र भ्रममा परेको छ। यसै कारणवस भोलिका दिनमा मेरो जीवनमा समेत खतरा उत्पन्न भएको छ। यसर्थ यस सम्मानित आयोगसमक्ष यो अपेक्षा गर्न चाहन्छु कि कुनै राजनैतिक पार्टीको दबाबमा नपरी स्वतन्त्र र निष्पक्ष छानबिन गरी सिंगो राष्ट्रमा उत्पन्न भएको अन्योललाई निवारण गर्नेछ भन्ने अपेक्षासहित भोलिका दिनमा मैले पनि सलमान रुस्दी, तसलिमा नसरिनको स्थिति आइनपरोस् भन्ने अनुरोध सम्मानित आयोग समक्ष सादर अनुरोध बिन्ती जाहेर गर्दछु।
पूरक प्रश्न
६४. घटनास्थलमा ३ थुप्रो बालुवा बराबरी दूरीमा र भुसको थुप्रो अर्को ठाउँमा राखिएको देख्नुभयो/भएन? सो चिनारी भन्दछन् कसो हो?
उल्लेखित भुस र बालवाको थप्रो राखिएको मलाई थाहा छैन। जहाँसम्म त्यहाँ यस प्रकारको भुसको थुप्रो थियो भन्ने करा दुर्घटनास्थलकै मानिसहरुबाट निकै समय अगाडि राँगो ल्याउने ट्रकले झारी गएको भन्ने जाहेर भैसकेको छ। थुप्रोको सवालमा मेरो भनाई यो छ कि बाख्रा हराउनु र बाघ कराउनु भन्ने नेपाली उखानलाई सम्झाउन चाहन्छु।
६५. बयान कसो भयो?
बयान पढेँ, सुनेँ, भने बमोजिम लेखिएको ठीक छ।
इति सम्वत् २०५१ साल श्रावण ३० गते रोज १ शुभम्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।