काठमाडौं- एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जीप दुर्घटनामा मृत्यु भएको २७ वर्ष पूरा भएको छ। २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना भएको थियो। सो दुर्घटनालाई तत्कालीन एमालेका नेता कार्यकर्ता मात्रै होइन, भण्डारी र आश्रितलाई माया गर्ने धेरैले स्वभाविक दुर्घटना ठान्दैनन्, षड्यन्त्रको रुपमा लिन्छन्।
प्रत्येक वर्ष जेठ ३ गते भण्डारी र आश्रितको सम्झना हुन्छ र दासढुंगा घटनाको छानबिन गर्ने प्रतिबद्धता पनि दोहोरिन्छ। तर, उनकै पार्टीले पटकपटक सरकारको नेतृत्व गर्दा पनि यो घटनालाई चित्तबुझ्दो किनारा लगाउन सकेको छैन। बरु त्यसलाई षडयन्त्रकै रुपमा चर्चा गरिरहेर राजनीतिक फाइदा लिने रणनीतिमा लागेको देखिन्छ। स्वयं भण्डारीकै पत्नी विद्या राष्ट्रपति छिन्, उनकै पार्टी इतिहासकै बलियो सरकारको नेतृत्व गरिरहेको छ। तर, सत्यतथ्य सुल्झाउने प्रयत्न देखिँदैन।
घटना भएपछि सरकारले प्रचण्डराज अनिल आयोग गठन गर्यो। एमालेले अहिलेका प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा आफ्नो आयोग गठन गर्यो। जनस्तरबाट भन्दै पद्मरत्न तुलाधर आयोग गठन भयो। उनीहरुले आफ्नो प्रतिवेदन पनि दिए। सरकारी आयोगको प्रतिवेदनलाई एमालेले स्वीकार गरेन। बरु त्यसका विरुद्ध संघर्ष गर्यो। र सरकारलाई अर्को आयोग गठन गर्न बाध्य बनायो। चौथो आयोगको रुपमा गठन भयो- त्रिलोकप्रताप राणा नेतृत्वको आयोग। २०५१ असारमा पछिल्लो आयोग गठन भयो।
सो आयोगलाई मदन पत्नी तथा अहिलेकी राष्ट्रपति तथा दुर्घटनामा निधन भएका नेता भण्डारीकी श्रीमती विद्या भण्डारीले दिएकी बयान नेपाल लाइभले प्रकाशित गरेको छ। अब विद्या भण्डारीले आयोगलाई दिएको बयान जस्ताको तस्तैः
OOO
विभिन्न पत्रिकाहरुमा आफ्नो धारणाहरु त्यतिखेर बताइसकेको थिए। सम्मानित आयोगकमा म आफैं खडा भएको छु। यसमा घटनाको बारेमा खास गरेर हाम्रो पार्टी राजनीतिसँग सम्बन्धित घटना हो। तर म प्रत्यक्ष सरोकारवाला व्यक्ति मेरो श्रीमानलाई षड्यन्त्रपूर्ण ढंगले सुनियोजित ढंगले मारेको हो भन्ने मलाई लागेको छ। त्यस्तो भएको हुनाले मैले जुनबेलादेखि अमर लामालाई भेटें अथवा चिने पार्टीको ड्राइभरको रुपमा त्यतिखेरदेखि मैले सम्झेको उसको बानी व्यहोरा बारेमा र चालचलन गतिविधि र अहिलेसम्मको कुराहरुलाई सम्मानित यस आयोग समक्ष राख्ने मेरो आफ्नो इच्छा थियो र मलाई यहाँ बोलाएर यस घटनाबारे बुझ्ने प्रयास गरियो।
यसले गर्दा मैले आफ्नो कुराहरु राख्ने मौका पाएँ। अमर लामालाई कुनै दिन पार्टीले नियुक्त गर्यो त्यो मलाई एकिन थाहा छैन। पहिले पार्टीको पजेरो गाडी जुन मेरो पतिले प्रयोग गर्नुहुन्थ्यो, अमर लामाले ल्याएको पहिले दिन हो। म र मेरो श्रीमान् वीर अस्पतालसम्म सँगै गयौँ। त्यसपछि म हस्पिटलतर्फ लागेँ। उहाँ पार्टीका काममा जानुभयो। यो आम निर्वाचनपछिको कुरा हो। त्यही दिनदेखि पार्टीको ड्राइभरको रूपमा मैले अमर लामालाई चिनेकी हुँ।
पहिलो दिन निज (अमर लामा)लाई देख्दा त्यस्तो पातलो दुब्लो मानिसले पजेरो गाडी कसरी चलाउलान् भन्ने लागेको थियो। पार्टीले नियुक्त गरेको हुँदा मेरो केही भन्नु थिएन। त्यसबखत मैले फरासिलो खालको मान्छे देखिनँ। अलि अध्यारो घोसे जस्तो लागेको थियो। त्यसपछि ऊ दिनकै जसो उहाँलाई लिन आउने जाने गर्थ्यो। पार्टीको पाँचौ महाधिवेशन २०४९ सालमा हुनुभन्दा अगाडि उहाँ (मेरो श्रीमान्) धेरै नै व्यस्त हुनु भएकाले दिनहुँ नै जस्तो ल्याउने पुर्याउने गर्दथ्यो।
कहिलेकाँही एक दिनमा दुई तीन चोटी नै ल्याउने लैजाने गर्थ्यो। राति कहिले ११-१२ बजे पनि मेरो श्रीमानलाइ पुर्याउने गर्दथ्यो। बिहान ५-७ बजे पनि जानुहुन्थ्यो। यही बीचमा मेरो छोरीहरु र हामीहरुसँग नजिक र एकप्रकारले पार्टीको विश्वासिलो मानिस हो भन्ने रुपमा विश्वास प्राप्त गर्यो। हामीले पनि विश्वासिलो मान्यौँ।
मलाई दिदी भन्थ्यो। उहाँलाई कमरेड भनेर आदर गर्थ्यो। छोरीहरू पनि उसलाई अंकल भनेर झुम्मिने गर्थे। खाना खाँदा सधैँ, उसलाई नसोधी खानु हुँदैनथ्यो। नखाएको भए सँगै एकै टेबलमा राखेर खानुहुन्थ्यो। मैले सुरुमा उसलाई शंकाको दृष्टिले हेरिनँ। उसलाई समान रुपले व्यवहार गर्न गरेकी थिएँ। ड्राइभरको रूपमा हेर्ने गरेको थिइनँ।
घटना भएपछि टिकाराम राईले साँझ पर्नु अगाडि मदन कमरेडलाई भेट्नु थियो भने। फेरि अर्को फोन आयो। ममता भण्डारी हुँ मदन दाईको गाडी नारायणघाटमा दुर्घटना भयो रे हो भाउजु भनी सुनाएको थियो। त्यसपछि अरु एक दुई फोन आयो र मैले पार्टी अफिसमा फोन गरे। इन्गेज भयो। त्यसो हुँदा पार्टी केन्द्रीय कार्यालयको सचिव ईश्वर पोखरेलको डेरामा फोन गरें। निजकी श्रीमतीले फोन उठाउनु भयो। ईश्वर कमरेड हुनुहुँदो रहेनछ। फोन राखेँ। पार्टी अफिसमै कन्ट्रयाक्ट गरेँ। प्रदीप नेपालसँग फोनमा कुरा भयो।
उहाँलाई सोधेपछि घटना भएको बुझ्नलाई अमृत बोहोरा, वामदेव गौतमहरु गइसक्नुभयो भन्नुभयो। २ गते पोखरा जानुभएको थियो। साढे नौ बजेतिर पार्टी अफिस जानुभएको थियो। एयरपोर्टबाट १२ बजेतिर फोन आएको थियो। मेरो भाइले फोन उठायो। प्लेनको टाइम भयो। उहाँ आइपुग्नुभएन। रोकेर राखेको छ भने। मैले पार्टी अफिसमा भनिदेऊ भनेँ। पार्टी अफिसमा फोन गर्दा उहाँ हिडिसक्नुभएको थाहा भयो र ढुक्क भएँ।
घटनाक्रम हेर्दा ४ गते जीप भेटियो। त्यसैले घटनास्थल म गइनँ। आश्रितजीलाई जीपसँगै भेटियो। तर उहाँ जीपमा रहनुभएन, भेटिनुभएन। ५ गते गुंजनगरमा भेटियो। गुंजनगरमा निकुंजको नजिकै रहेको कुरा मैले सुनेको। सरकारले तदारुकतासाथ गरेको भन्ने छ। ४ गते नै गुंजनगरमा शरीर देखेको भन्ने छ। शाही सेना समेतलाई खोजी गराउन सकिने थियो, त्यसो भएन। सरकारले खोज्न लगाएको भए तिनीहरूले गएर खोज्दथे। खोजीमा तदारुकता भएन।
मैले माथि नै घटनाको सम्बन्धमा आफ्नो धारणा स्पष्ट गरेको छु कि यो सुनियोजित र षड्यन्त्रपूर्ण राजनैतिक हत्या हो। मेरो यस्तो धारणा किन लाग्यो भने पहिलो कुरा उहाँको बारेमा ०४६ सालको आन्दोलनदेखि प्रखर रूपमा नेपालको राजनीतिमा देखापर्नुभयो र चर्चित हुनुभयो। हाम्रो कानमा के कुरा पर्यो भने नेपालको राजनीतिमा राम्रो मानिस टिक्न सक्दैन। मदन भण्डारीको लामो आयु छैन भन्ने हल्ला चल्यो। आम निर्वाचनको अन्तिमसभा टुँडिखेलको मञ्चमा हुँदा उहाँ जानुअगाडि टेलिफोनमा त्यस्तो चर्को चर्को भाषण गर्ने होइन, छाला टांगिन्छ भनेको थियो। त्यो टेलिफोन मैले उठाएको थिएँ। उहाँलाई भाषणमा जान अगाडि भनिनँ। पछि आएपछि मात्र भनेँ।
त्यसबेलादेखि उहाँको जीवन सुरक्षित छैन भन्ने लाग्यो र एक प्रकारको त्रास मनमा पस्यो। म उहाँलाई निरन्तर सचेत गराइरहन्थें। हामी जनताको मान्छे हौँ, हामीलाई कसले के गर्छ भन्नुहुन्थ्यो। उत्तेजना गराउने खालको फोन बेलाबेलामा आउने गर्दथ्यो। टनकपुरको विषयमा जुन सडक र सदनमा आन्दोलन भयो, आन्दोलनको सिंहदरबार धर्ना दिन थियो। त्यो टुंगिएपछि कुनै लोग्ने मान्छेको टेलिफोन आयो। मलाई भाउजू भनेर सम्बोधन गर्यो। भाउजू मदन दाइलाई धर्नामा नपठाउनू। त्यहाँ टियर ग्यास र घुँडामुनि गोली हान्ने मात्र होइन, ताकीताकी गोली हानिनेछ। पछि तपाईंले पछुताउनु शिवाय केही हुँदैन। तपाई को? भनेर सोध्दा सेक्रेसी रहँदैन। कृपया मेरो नाम नसोध्नुहोस् क्षेत्रपाटीबाट गरेको भनेका थिए।
यो जानकारी मैले उहाँलाई दिएँ। उहाँले ए फेरि धम्की दिन थालेछन् भन्नुभयो। धर्ना कार्यक्रम सकेपछि अमर र उहाँसँगै खानुभयो। टनकपुरको घटनापछि संसदमा मतभिन्नता आयो। यो संसदको दुईतिहाई मतबाट पारित हुनुपर्छ भन्ने उहाँहरुको भनाई थियो। राष्ट्रिय सहमति हुनुपर्छ भन्ने कुरामा गणेशमानजीहरूको पनि सहमति थियो। गणेशमानजीहरूले मलाई खोजे भने मलाई खबर गर्ने भनी ईश्वर पोखरेललाई जेठ २ गते (०५०) बिहान आफ्नै डेरामा बोलाई भन्नु भएको थियो। कार्यक्रमको बारेमा कुन दिन कहाँ भनेर हाम्रो बीचमा कुराकानी हुँदैन थियो। ४ गते चितवनमा महिला भेलालाई सम्बोधन गर्ने कुरा मलाई थाहा थियो। तर उहाँ ३ गते नै पोखराबाट चितवनतिर आउनुभयो।
उहाँहरुको गाडीमा आँबुखैरेनीसम्म ऋषि कट्टेलसँगै हुनुहुन्थ्यो भन्ने कुरा मैले सुनेको। त्यो गाडी मुग्लिङबाट नारायणघाटतर्फ जाँदा नारायणघाटतर्फ नलागी काठमाडौंतर्फ आयो। त्यहाँ ठूलो झन्डा भटभट आवाज आउँदो गरेर काठमाडौंतर्फ नलागी नारायणघाटतर्फ मोडियो भन्ने तत्कालको चर्चामा मैले सुनेको हुँ। उहाँहरुको गाडी दासढुंगा पुग्ने केही किलोमिटर वर एउटा ट्रकले त्यो गाडीलाई देखेको रहेछ। ना.अ.ख ६२० को ट्रक डुम्रेबाट नारायणघाटतर्फ गएको त्यसमा ड्राइभर खलासी सहित १०/१२ जना व्यक्ति थिए। त्यो ट्रकलाई पछाडिबाट हर्न दिएपछि ट्रकले बाटो छोडिदियो। जीप अगाडि लाग्यो। त्यो लोडेड ट्रक पछिपछि जीप अघिअघि केही पर पुगिसकेपछि दासढुंगामा पुगिसकेपछि बिस्तारै खस्यो र त्यसबाट ड्राइभर हाम्फालेर दुइटा घुँडा र दुईटा कुहिनाले टेकेर उभियो। त्यसपछि ट्रकमा बस्नेहरुले त्यो देखिसकेपछि ट्रक अगाडि लैजाने कि नलैजाने भन्ने खालको उनीहरुका बीच कुरा भयो। उनीहरुको ट्रकमा डुम्रेबाट तीनटा काठको टुना राखेको थियो। हामी त्यहाँ गयौं भने यो अवैधानिक हुन्छ त्यहाँ जान हुँदैन भनी गाडी ब्याक गरेर डुम्रे आए। डुम्रे आएपछि एकजना ट्रकको कामदार नाउँ थाहा नभएको धनकुटा ६ नं. बुधबारे बस्ने लामा थर भएको व्यक्तिले मदन भण्डारी चढेको गाडी पल्टेछ भन्ने थाहा पाए। त्यो गाडी जुन पल्टेको देखेको थिए सो देख्दा उनीहरुलाई साहुदेखि रिस उठेको रहेछ। गाडी फालेर आफू हाम्फाले भन्ने लाग्यो। त्यही सोचेर उनीहरु फर्के।
उपरोक्त लामाले मदन भण्डारीजी बस्नुभएको गाडी नै हो भन्ने थाहा पाएपछि उनले ६ नं. बुधवारे धनकुटामा पार्टीको कार्यक्रममा मदन भण्डारीलाई भेटेर चिनेका रहेछन्। धनकुटामा वीरेन्द्र झापालीले लिएर जानु भएको रहेछ। त्यहाँ मदन भण्डारीलाई चिनेको रहेछ। वीरेन्द्र झापालीलाई लामाले आएर भेटेर यो ड्राइभर हामफालेको कुरा बताएपछि वीरेन्द्र झापालीले मलाई भनेपछि थाहा पाएँ। अमरले 'गाडी स्वाभाविक ढंगले दुर्घटना भएको भनेको छ। त्यो गलत भनाई हो। किनभने स्वाभाविक ढंगले गाडी दुर्घटना हुँदा उसले हामफालेको भनेको छ र उसले हामफाल्दा उहाँहरु के गरेर बस्नुभयो? डाइभरले हामफाल्दा उहाँहरु पनि हामफाल्न सक्नु हुन्थ्यो। यसमा मेरो सोचाई उहाँहरुलाई कि त उसले गाडीबाट हामफाल्नु अगाडि मारेको हुनु पर्छ, कि त बेहोस गराइएको हुनुपर्छ।
एकै ठाउँमा खसेको मोटरभित्रको दुईजना मान्छे दुई बेग्लाबेग्लै ठाउँमा फेला पर्नुभएको छ। यसमा मेरो अर्को विश्वास के छ भने उहाँ कुन बेलामा के निर्णय गर्नुपर्छ तुरुन्तै निर्णय गरिहाल्नु हुन्छ। त्यस्तो निर्णय क्षमता र डिटर्मिनेसन भएको व्यक्ति ड्राइभर हामफाल्दा त्यत्तिकै कसरी बस्नु भयो होला? त्यस्तो पनि हुन सक्दछ?
यस सम्बन्धमा दुईटा उदाहरण दिन चाहन्छु। उहाँ संखुवासभा जानुभएको थियो। संखुवासभाबाट प्लेनमा फर्कदा बेस्सरी हावा चल्यो। प्लेन बेस्सरी हल्लियो। त्यो घटनालाई त्यही दिन घरमा आइसकेपछि चिया खाँदै हामीसँग कुरा गर्दाखेरि प्लेनमा त केही गर्न सकिँदैन, बस जीपमा रोडमा भए त्यस्तो अलिकति घच्याकघुचक भए हामफाली हालिन्छ (सकिन्छ) भन्नु भएको थियो। यसको आशय जीवनरक्षाको निमित्त तत्काल केही आइपरे उहाँले आफ्नो केही कदम चाल्न सक्नुहुन्थ्यो।
अर्को कुरा उहाँ चुरोट पिउनु हुन्थ्यो। दुई छोरी, म र उहाँ बसी टेलिफिल्म हेर्दा एउटा सीनमा चुरोट पिएर मानिसलाई क्यान्सर भएको हेर्दा छोरीहरुले उहाँलाई पुलुक्क हेरे। अनि उहाँले मलाई चुरोटले केही हुँदैन। अझै बीस वर्षसम्म मलाई ५ तल्ला माथिबाट फाले पनि केही हुँदैन। यसबाट के कुरा पुष्टि हुन्छ भने दासढुंगाको त्यो ठाउँमा जीप दुर्घटना स्वाभाविक ढंगबाट हुँदा उहाँहरु पाखा उत्रन सक्नुहुन्थ्यो, तर बीचबाट ड्राइभर हाम्फालेको छ। बिस्तारै गाडी गएको छ। यस्तो अवस्थामा दुइटै मात्र कुरा हुन सक्छ, उहाँहरुलाई लठ्याइएको हुन सक्छ, या त अगाडि नै मारेको हुन सक्छ।
मलाई अझै के लागेको छ भने जीवराज कमरेडलाई त्यहाँ गाडीसँगै फालेर मदन कमरेडलाई छुट्टै फालेको पनि हुन सक्छ। किनभने गाडी दुर्घटना भएको ठाउँ र उहाँलाई भेटिएको ठाउँ फरक छ। यसको बारेमा डाइभरलाई सबै कुरा, यो हत्या काण्डको बारेमा थाहा छ। उसको सहयोग नलिइकन जसले यो घटना घटायो ऊ सफल हुनै सक्दैन। यसले गर्दा फेरि ड्राइभरले अहिलेसम्म सबै कुरा लुकाइराखेको छ।
सरकारी रवैयाको बारेमा मलाई शंका लागेको छ। ड्राइभर त्यो अभियुक्त हो, जो सामान्य चोर डाँका वा हत्यारा मात्र होइन, उसले नेपालको राजनीतिका त्यस्ता व्यक्तिहरुको हत्या गरेको छ, नेताहरुको बारेमा मैले परिचय गराइरहनु पर्दैन। विपक्षी दलको पार्टीका प्रमुख नेता प्रतिनिधिसभाको सदस्य जस्को हत्याको आरोप लागेको ड्राइभरलाई सरकारले जस्तो ढंगले कडा बयान लिनुपर्ने, त्यस्तो नगरेर रेडियो अखबारहरुबाट ऊ निर्दोष हो भन्ने आशयको कुरा प्रचार भइरहनु आपत्तिजनक कुरा हो।
अर्को कुरा ३ गते त्यो घटना भयो ४ गते मदन कमरेडलाई नभेटिकनै जो पीडित पक्ष हो, नेकपा (एमाले) त्योसँग पनि केही वास्ता नगरी एक सदस्यीय अनिल आयोग गठन गर्नु, आयोगले सबै जाँचबुझ नगरी रिपोर्ट दिनु, रिपोर्ट दिने बेलामा र त्यस्तो देशमा राजनैतिक दुर्घटना भएको बेला देशका प्रधानमन्त्री, गृहमन्त्रीलगायत प्रायजसो मन्त्री विदेश जानु, उहाँहरुलाई आग्रह भएको थियो कि भियनाको सम्मेलनमा प्रधानमन्त्री, गृहमन्त्री नै जानु आवश्यक छैन। अरुले पनि देशको प्रतिनिधित्व गर्न सक्छ। यो कुरा खुलामञ्चबाटै आह्वान गरिएको थियो। यतिसम्म कि प्रधानमन्त्रीलाई जान दिदैनौँ एयरपोर्ट घेर्छौँ, यो समस्या सुल्झाउन पर्छ भनेर आह्वान गरिएको थियो। उहाँले जनता र पार्टीको आग्रहलाई वास्ता गर्नु भएन। उहाँले त्यतिखेर देशभित्र बस्नु पर्दथ्यो।
मेरो आग्रह के छ भने बहुदलीय व्यवस्था ल्याउनको लागि लडेका पार्टी त्यसका प्रमुख व्यक्तित्व जसले यो व्यवस्था ल्याएका छन्, त्यही व्यवस्थामा ती नेताहरुको हत्या भएको छ। व्यापक जनआन्दोलन भएको छ र न्यायिक छानबिनको लागि जनता सडकमा ओर्लेका छन्। त्यस्तो अवस्थामा जन निर्वाचित सरकार जनताप्रति र पार्टीप्रति जनताको जीउधनको सुरक्षा, राष्ट्रिय महत्वको घटना, राष्टियता र प्रजातन्त्रसंग जोडिएको प्रश्नलाई समाधान नगरी त्यसरी बाहिर जान अत्यन्त ठूलो गैरजिम्मेवार कुरा हो। हामी जो पीडित पक्ष छौं नेकपा (एमाले), बहुत संयमित ढंगले त्यो घटनालाई नेतत्व नगरेको भए देशमा हत्या हिंसा जस्तो अराजकताको स्थिति भएर मुलुकमा गृहयुद्धको स्थिति हुन सक्दथ्यो। जनता विभाजित हुनु भनेको नै मुलुक विभाजित हुनु हो।
यस्तो बखतमा सरकारको जिम्मेवारी जनतामा व्यक्त असन्तोष र शंकालाई निवारण गरी सत्य तथ्य जनता समक्ष राखिदिनु पर्दथ्यो। तर हाम्रो सरकारबाट त्यो भएन। अनिल आयोगको रिपोर्ट प्रधानमन्त्रीले लिनुपर्छ भन्दाभन्दै बाहिर भियना सम्मेलनमा जानुभयो। जब फर्किनुभयो अनिल प्रतिवेदन बारेमा व्यापक असन्तोष थियो। तर आउने बित्तिकै एयरपोर्टमा नै अनिल आयोगको रिपोर्ट ठीक छ अर्को आयोग गठन गर्नुपर्दैन भन्नुभयो। यसले गर्दा अर्को आशंका, सरकारप्रति नै जनताको आशंका भयो। अनिल आयोगको प्रतिवेदनको विरुद्धमा आन्दोलन भयो। पछि भाद्र १ गते सम्झौता भयो। पुनः आयोग गठन भयो।
प्रधानमन्त्रीले अनिल आयोगको प्रतिवेदनलाई कुन आधारमा समर्थन गर्नुभयो र अर्को आयोग गठन गर्नु पर्दैन भन्नुभयो? यसले गर्दा यो घटना सानोतिनो दुर्घटना वा रिसइबी कुनै कारणबाट भएको होइन यो सुनियोजित हत्या हो। अमर लामाले बीचमा कुरा गर्दा मेरो छोरीहरुले ड्याडी कहिले आउनुहुन्छ अंकल भनी सोध्दा अब ड्याडी कहिले आउनुहुन्न भनी अमर लामाले भनेको कुरा मेरो भाइले २ चोटि सुनेको रहेछ।
अर्को प्रत्यक्ष मैले सुनेको सिंहदरबार हुँदै कुपन्डोलतर्फ जाँदा सिंहदरबार अगाडि पुगेपछि मेरो छोरीले हाम्रो ड्याडी प्रधानमन्त्री भएपछि यहाँ बस्नुहुन्छ? भनी सोध्दा अमरले के भन्यो भने ड्याडी यहाँ बस्नहुन्न। राष्ट्रपति बनाउनुपर्छ भनी भन्यो। यो कुरा सुन्दा केटाकेटीको अगाडि यस्तो कुरा गर्न नहुने भन्ने मेरो मनमा लाग्यो। तर मैले उसलाई केही भनिनँ। घटनाक्रम र आशंकाको क्रमले गर्दा यो सुनियोजित हत्याकाण्ड धेरै माथिल्लो तहबाट योजना बनाएर गरेको लाग्दछ। यसको रहस्य खोल्ने प्रस्थान बिन्दु अमर लामा एउटा ज्युँदो प्रमाण छ। उसबाट आयोगको जुन अधिकार छ त्यसलाई प्रयोग गरेर जाँचबुझ गर्दा पत्ता लाग्न सक्छ। पार्टीको माग अनुसार जाँचबुझ गर्न आवश्यक स्रोत साधनआवश्यकता अनुसार विदेशी खुफियाहरु समेतको सहयोग लिई उच्चस्तरबाट छानबिन हुनुपर्दछ भन्ने मलाई लागेको छ।
मदन भण्डारी जीवराज आश्रितको डेरामा कत्तिको जाने गर्नुहुन्थ्यो? २०५० जेठ २ गते पोखरा प्रस्थान गर्नुभन्दा १०/१५ दिन अगाडि उहाँ जीवराज आश्रितको घरमा जान भयो भएन? जीवराज आश्रितको घरमा जानु हुँदा छलफलको लागि कति घण्टा जति बस्ने गर्न हुन्थ्यो? कहिलेकाहीँ उहाँ, उहाँको डेरामा रात पनि बिताउनु भएको थियो कि? भनी सोधिएकोमा उहाँहरु पोखरा जानु एक महिना अगाडिसम्म उहाँ आश्रितको डेरामा जान भएको मलाई थाहा छैन। उहाँले आश्रितको डेरामा गै छलफल गरेको थाहा छैन। कहिलेकाहीँ आश्रितजी हाम्रै डेरामा आउनुहुन्थ्यो। रात बस्ने गरी आश्रितजीको डेरामा उहाँ जानु भएको छैन।
यो दुर्घटना हुँदाको अवस्था तपाईंहरू काठमाडौंमा कहाँ कसको घरमा डेरा गरी बस्नुहुन्थ्यो? घरधनीको नाम, थर, वतन, खुलाई दिनुहोस् भनी भन्दा हामी बसेको डेरा नक्साल भगवती बहालको चारढुंगेनिर जगन्नाथ तिवारीको घरमा भाडामा बसेका थियौं। सो घरको सबैभन्दा माथिल्लो तल्लामा बसेका थियौं।
माथिल्लो सवालको जवाफमा उल्लेखित डेरामा यो दुर्घटना हुनुभन्दा एक डेढ महिना पहिलेसम्ममा के कस्तो रंग रोगन लगाइएको थियो? भन्नेबारे हामी बसेको घरमा बाहिर पहेंलो चुना पोतेको छ। भित्र पनि पहेंलो खालको छ। २ साढे दुई वर्ष बीच त्यहाँ रंग पोतेको छैन। हामी बसेदेखि नै त्यहाँ रंग पोतेको छैन।
उहाँ (मदन भण्डारी) धेरैजसो पाइन्ट नै लगाउनुहुन्थ्यो र पेटी पनि बाँध्नुहुन्थ्यो। त्यतिखेर पनि पाइन्टमा पेटी बाँधेर जानुभएको थियो। साधारणतया अल्बम फोटोहरू हेर्यौं भने पनि बेल्ट बाँधेको देख्न सकिन्छ। पाइन्टमा बेल्ट सधैँ बाँध्नु हुन्थ्यो। उहाँले हरबखत बेल्ट लगाउनु हुन्छ। चाइना जाँदा एउटा बेल्ट किनेको हो। पुरानो एउटा बेल्ट सधैँ उहाँले प्रयोग गर्नु हुन्थ्यो।
(दासढुंगा दुर्घटनासम्बन्धी न्यायिक जाँचबुझ आयोग-२०५० लाई विद्या भण्डारीले दिएको बयान)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।