सुर्खेत- कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक मुगुको रारामा बसेको छ।
नयाँ वर्षको पूर्वसन्ध्यामा रारा तालको किनारमा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको हो। बैठकले कर्णालीको समृद्धिसँग जोडिएका दीर्घकालीन योजनाहरु निर्माणका लागि केन्द्र सरकारलाई ध्यानाकर्षण गराएको छ।
केन्द्र सरकारसँगको पहलमा कर्णाली पर्यटन प्राधिकरण गठन गर्ने निर्णय बैठकले गरेको छ। यसका लागि पहल गरिदिन केन्द्र सरकारलाई समेत आग्रह गरिएको छ। त्यसैगरी सुर्खेतदेखि हुम्लाको हिल्सासम्म जोड्ने दुर्त मार्ग निर्माण गर्ने र त्यसलाई प्रधानमन्त्री दुर्तमार्ग नामाकरण गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।
भेरी–कर्णाली करिडोर निर्माणका लागि केन्द्र सरकारले नै बजेट विनियोजन गर्नुपर्ने, कर्णाली प्रदेश र चीनसँगका तीन वटै उत्तरी नाका सञ्चालनका लागि केन्द्रबाटै पहल गरिनुपर्ने, तत्काल मुगुको नाक्चेनाग्ला र हुम्लाका हिल्सा नाका सञ्चारका लागि केन्द्र सरकारले तदारुकता देखाउनुपर्ने निर्णण गरिएको केसीले जानकारी दिइन्।
त्यस्तै कर्णाली एकृकीत बस्ती विकास र व्यवस्थित सहरी विकास गुरुयोजना बनाउने निर्णय पनि बैठकले गरेको छ। यसका लागि पनि केन्द्र सरकारलाई सहयोगको आग्रह गरिएको छ।
मन्त्रिपरिषद्को बैठकलगत्तै प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्णयबारे जानकारी गराएको थियो।
कर्णाली–रारा पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न रारा पुगेका प्रधानमन्त्री ओलीलाई प्रदेश सरकारका निर्णयबारे जानकारी गराइएको मन्त्री बस्नेतले बताइन्। साथै प्रधानमन्त्री ओलीले पनि कर्णालीको विकासका लागि केन्द्र सरकारले विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।