सुर्खेत– कर्णाली–रारा पर्यटन वर्ष २०७५ को उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली मुगुको रारा पुगेका छन्।
कर्णाली प्रदेश सरकारको आयोजनामा सुरु हुन लागेको पर्यटन वर्षको भोलि नयाँ वर्ष वैशाख १ मा प्रधानमन्त्री ओलीले उद्घाटन गर्दैछन्।
प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्वसभामुख सुवास नेम्वाङ, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रदेशका सबै मन्त्री र सांसदहरु रारा पुगेका छन्। विशिष्ट अतिथिहरु रारा पुगिसकेको जानकारी दिँदै पर्यटन वर्ष घोषणा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले जनाए।
यस्तो छ तयारी
पर्यटन वर्षलाई लक्षित गरी रारामा अस्थायी होटेलहरु सञ्चालन गरिएको छ। नयाँ वर्षसँगै प्रदेश सरकारको निमन्त्रणमा आउने पाहुनालाई आवास व्यवस्थापन गर्न टेन्ट लगाइएको छ। रारा ताल नजिकै करिब डेढ सय टेन्ट राखिएको छ।
प्रधानमन्त्रीसहित विशिष्ट पाहुनाका लागि निकुञ्ज सुरक्षार्थ श्रीदल गुल्मले खाना तथा आवास व्यवस्थापनको जिम्मा लिएको छ भने प्रदेश मन्त्रीहरुलाई निकुञ्जभित्र रहेको भिलेज हेरिटेज रिर्सोटमा बस्ने व्यवस्था मिलाइएको छ।
मन्त्री बुढाका अनुसार सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतलाई टेन्टमा बसाल्ने तयारी गरिएको छ। उनले पर्यटन वर्ष उद्घाटनको सबै तयारी पूरा भएको जनाए। त्यस्तै, पर्यटन वर्ष उद्घाटनका लागि इन्टरनेट सेवा प्रदायक वल्डलिङ्कले इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।
रारा क्षेत्रमा सुरक्षाको उच्च सतर्कता अपनाइएको छ। जसका लागि नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालित छन्। प्रदेश सरकारको पहिलो बैठकले नयाँ वर्ष २०७५ का अवसरमा प्रमुख पर्यटकीय स्थल मुगुको रारा ताललाई केन्द्रमा राखेर ‘पर्यटन वर्ष’ मनाउने निर्णय गरेको थियो। ‘कर्णाली सवृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ पर्यटन वर्ष मनाउन लागिएको हो।
प्रधानमन्त्रीको कार्यतालिका
प्रधानमन्त्री ओलीले कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन गर्नुका साथै रारामा नै बस्ने कर्णाली प्रदेश सरकारको बैठकमा समेत सहभागिता जनाउनेछन्। प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बस्नेछ। प्रदेश सरकारले केन्द्रीय सरकारको कूल बजेटको ५० प्रतिशत बजेट कर्णालीका लागि छुट्याउनुपर्ने, मुगुको तिब्बत नाका नाक्चेनाङ्लालाई राष्ट्रिय प्राथमिकतामा पार्नुपर्ने लगायतका माग प्रधानमन्त्रीसमक्ष राख्ने तयारी गरेको छ।
त्यसअघि प्रधानमन्त्रीले नयाँ वर्षको दिन शनिबार बिहान ८ बजे राराबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ। उक्त सम्बोधन लगत्तै प्रधानमन्त्रीले हुम्लाको हिल्सा नाका अवलोकन गर्ने कार्यक्रम छ। हिल्साबाट उनी पुनः ११ बजे रारा फर्किनेछन्। रारामा प्रधानमन्त्रीले बोटिङ समेत गर्ने कार्यतालिका छ। दिउँसो १२ बजे पर्यटन वर्ष उद्घाटन सकेर २ बजे प्रधानमन्त्री जुम्ला प्रस्थान गर्नेछन्। जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक बस्दैछ। जसको अध्यक्षता प्रधामन्त्रीले गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।