काठमाडौं- नेता कमल थापाको खेलाडी परिचयलाई राजनीतिले उछिनेको जस्तो देखिन्छ। फुटबल, स्क्वास हुँदै अहिले लनटेनिसका खेलाडी रहेका थापा पञ्चायतदेखि गणतन्त्रसम्म जसरी राजनीतिमा छन् त्योभन्दा पहिलेदेखि खेलकुदमा।
लनटेनिसका भेट्रान खेलाडी थापाको खेलकुदको सुरुवात फुटबलबाट भएको हो। नेपाली घरेलु फुटबलमा सक्रिय रहँदै अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षसमेत बनेका थापा नेपाली राजनीतिमा अहिले उस्तै सक्रिय छन्।
उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री र गृहमन्त्री बनिसकेका उनी खेलकुदको हार र जित स्वीकार गर्ने अनुशासनले नै राजनीतिमा लागिरहन सकेको बताउँछन्। त्यसैले जस्तै कठीन समयमा पनि खेलकुददेखि पर छैनन्।
राप्रपाका अध्यक्ष रहेका उनी भन्छन्- ‘आज व्यवस्था परिवर्तन भएर ठूलो राजनीतिक उथलपुथल हुँदा पनि मैले आफ्नो स्थान बनाइरहन सकेको छु, त्यसमा खेलकुदको योगदान ठूलो छ।’
उनै थापासँग उनको खेल जीवन र नेपाली खेलकुदका बारेमा गरिएको कुराकानी-
अहिले खेलकुद र शारीरिक व्यायामका हिसाबले दिनचर्या कस्तो छ?
व्यायामका लागि समय मिलाइराखेको छु। पहिला म बिहान करिब दुई घन्टा नियमित शारीरिक अभ्यास गर्थें, अहिले अलिकति कार्यतालिका परिवर्तन गरेर बिहान एक घन्टा र साँझ एक घन्टा नियमित रुपले खेलकुद र शारीरिक अभ्यास गरिरहेको छु।
तपाईंमा खेलकुदको रुची त पहिलेदेखिको नै हो, राजनीतिक रुपमा चिनिनुअघि पनि खेलाडीका रुपमा परिचय बनेको थियो। बाल्यकालमा खेलकुदमा लाग्दाको कुनै सम्झनाहरु छन्?
वास्तवमा हाम्रो पारिवारिक वातावरण नै खेलकुदमैत्री थियो, त्यही कारणले बाल्यकालदेखि नै खेलकुदमा रुचि बढ्दै गयो। त्यो बेला पहिलो प्राथमिकतामा त फुटबल नै थियो। हेटौंडामा रहँदा बाल्यकालमा फुटबलमा राम्रै खेल्ने भइसकेको थिएँ।
पछि एसएलसी दिन काठमाडौं आएपछि अन्तरमाध्यमिक विद्यालयस्तरीय प्रतियोगिता पनि खेलेँ। त्यसमा हामी पद्योदय माध्यमिक विद्यालयबाट खेलेर पहिलो भएका थियौँ। त्यो क्षण अहिले मलाई राम्रो सम्झना भइरहेको छ।
फुटबलमा त तपाईंले लिग फुटबल पनि खेल्नुभयो होइन?
पद्योदय विद्यालयबाट एसएलसी पास भएपछि सुरुमा एक सिजन मैले सहिद स्मारक लिग प्रतियोगिताको बी डिभिजनमा खेलेँ। त्यो बेला विद्यार्थी खेल मण्डल भन्ने टिम बी डिभिजनमा हामीले खेल्ने क्लब थियो। हामीले त्यसलाई ए डिभिजनमा उकाल्न सफल भएका थियौँ।
त्यसपछि १७ वर्षको उमेरदेखि मैले सहिद स्मारक लिगको ए डिभिजनबाट फुटबल खेलेँ। दुई सिजन विद्यार्थी खेल मण्डलबाट नै ए डिभिजन खेलेपछि २०३५ सालसम्म संकटाबाट खेलेँ। संकटा त्यो सयम राम्रो थियो।
त्यसबेलाको प्रतिष्ठित त्रिभुवन च्यालेन्ज सिल्ड पनि जितेका थियौँ। त्यसको साथसाथै काठमाडौं ११ भर्सेस राष्ट्रिय टिमको खेलमा पनि खेलेँ। २०३५ को अन्त्यतिर फुटबल संघको अध्यक्ष भएपछि युवा अवस्थामा नै फुटबलबाट सन्यास लिएँ।
बीचमा केही समय स्क्वास पनि खेलेँ। स्क्वासमा म राम्रै खेल्थेँ। विस्तारै राजनीतितिर समय बढी दिन थालेपछि खेलकुदमा समय कम भयो।
लनटेनिस खेलाडीका रुपमा कसरी जोडिनुभयो?
सन् १९९८ मा परराष्ट्र मन्त्री भएको बेलामा त्यो समय काठमाडौंमा रहेका केही राजदूतको प्रेरणामा लनटेनिस सुरु गरेको थिएँ। अहिलेसम्म निरन्तर रुपमा लनटेनिस खेलिराखेको छु। मलाई योभन्दा खुसी लाग्छ कि अनेक राजनीतिक उतारचढावका बाबजुद म खेलकुदमा निरन्तर रुपमा संलग्न छु।
लनटेनिसमा अहिलेसम्म पनि प्रतिस्पर्धात्मक खेल खेल्दछु। विभिन्न उमेरसमूहका राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको छु। कतिपय प्रतियोगिताहरुमा सफलतासमेत पाएको छु।
मेरो रगतमा नै खेलकुद छ भन्ने मलाई लाग्छ। राजनीति एउटा सयोगको रुपमा आइपुगेको हो भने खेलकुद मेरो निरन्तर र नियमित कार्य हो।
राजनीतिज्ञबाहेक खेल रुची हुने अहिलेको पुस्ताले तपाईंलाई लनटेनिस खेलाडीका रुपमा चिन्छन्, तपाईंका लागि फुटबल र लनटेनिसमा रोज्नुपर्दा कुन पहिले आउँछ?
स्वभाविक रुपले फुटबल नै हो। विश्वमा सर्वाधिक लोकप्रिय खेल नै फुटबल हो, त्यसैले मेरो पनि रुचीको पहिलो खेल त फुटबल नै हो। तर फुटबल एक्लैले वा दुई जनाले खेल्ने कुरो आएन। त्यसैले एउटा उमेर पार गरिसकेपछि त्यसलाई व्यक्तिगत रुपमा निरन्तरता दिन सकिँदैन। जब कि टेनिस विभिन्न उमेर समूहमा खेल्न पाइने हुँदा शारीरिक रुपमा सक्दासम्म खेल्न सकियो। त्यसकारण टेनिसलाई अहिले आफ्नो रुचिको खेल बनाएको हो।
शारीरिक रुपमा तन्दुरुस्त हुन त सबैजसो खेलमा आवश्यक भइनै हाल्छ, त्यसमा पनि लनटेनिस शारीरिक रुपमा पनि कठीन नै खेल हो। कसरी मिलाइरहनुभएको छ?
अब वास्तवमा समय सबैको निमित्त उही नै हो। तर प्राथमिकता र व्यवस्था कसरी मिलाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ। तपाईंको प्राथमिकताका आधारमा समयको व्यवस्थापन गर्ने हो। मेरो पहिलो प्राथमिकतामा शारीरिक अभ्यास र खेलकुद रहेको हुँदा अरु विषयलाई पन्छाएर भए पनि निरन्तर रुपले खेलकुदमा सहभागी भइरहेको हुन्छु।
मन्त्री रहँदा मन्त्रीपरिषदको बैठकमा जानुअघि पनि समय मिलाएर खेलेर सिधै बैठकमा धेरैपटक गएको छु। लनटेनिस खेलेर फिल्डबाटै त्यहाँबाट गएको दिनहरु धेरै छ। अहिले पनि खेललाई निरन्तरता दिन मलाई समयको अभाव छैन। खेलिरहनाले शारीरिक रुपमा पनि फाइदा पुगिरहेकै छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष भएर पनि काम गर्नुभयो। तपाईंले काम गर्दाको समय र अहिलेको समयको खेल क्षेत्रमा केही राम्रो या केही नराम्रो भएको छ भन्ने लाग्छ?
मैले फुटबल संघको अध्यक्षको रुपमा आठ वर्ष काम गरेको हो। यद्यपी राष्ट्रिय खेलकुद परिषदमा झण्डै १० वर्ष संलग्न थिएँ।
मैले फुटबल संघमा जिम्मेवारी सम्हाल्दा शून्यको अवस्था नै थियो। कार्यालय पनि थिएन। प्रतियोगिताहरु नियमित हुँदैन थियो। विदेश भ्रमणमा टिमहरु गएका थिएनन्। मैले जिम्मेवारी लिएपछि संस्थागत रुपमा विकास गर्ने प्रयासहरु गरेको थिएँ। त्यसको तुलनामा अहिले धेरै ठूलो परिवर्तन र विकास देखिन्छ। यद्यपी फुटबल संघभित्र अहिले बेलाबेला आन्तरिक विवाद देखिराखेको छु। त्यो फोहोरी विवादले फुटबलको विकासलाई नकरात्मक प्रभाव पारिराखेको छ।
पहिले साधन स्रोतको अभाव रहन्थ्यो, अहिले साधन स्रोत छ तर खेलाडीहरुको निमित्त पर्याप्त सम्भावना हुँदा हुँदै पनि अपेक्षा गरेजस्तो विकास भएको छैन। त्यसले अलिकति खिन्नता लाग्छ। तर पहिलेको तुलनामा खेलको स्तरमा निकै सुधार भएको छ। त्यसमा खेलाडी र प्रशिक्षकलाई म विशेष धन्यबाद दिन चाहन्छु। अहिलेको खेलको आधुनिक शैलीलाई केही हदमा भए पनि रुपान्तरण गर्न खेलाडीहरु सफल भएका छन्।
अहिलेको मात्र सरकारको होइन, जहिले पनि सरकारले खेल क्षेत्रलाई कसरी हेरिरहेको हुन्छ? सरकारको प्राथमिकतामा खेलकुद कत्तिको परिरहेको छ?
वास्तवमा एक प्रकारले भन्दा दुर्भाग्य नै भन्नुपर्दछ कि खेलकुदलाई जुन एउटा ब्यवस्थित प्राथमिकता दिनुपथ्र्यो त्यसको अभाव छ। प्राथमिकता दिनुपर्छ भन्ने सोचको कमि छैन। साधन स्रोत विनियोजनमा पनि सरकारले कन्जुस्याइँ गरेको छैन। एउटै प्रतियोगिताको लागि करोडौँ बजेट उपलब्ध गराइरहेको देखिन्छ तर बजेट उपलब्ध गराउनु मात्र पर्याप्त हुँदैन। ब्यवस्थापकीय कुरा अन्योलग्रस्त रहेको मैले पाएको छु।
खासगरी राजनीतिक नेतृत्वमा रहनेमा खेलकुदको रुची त छ तर खेलकुदलाई ब्यवस्थित रुपमा सञ्चालन गर्न केही सोचाइ र जानकारीको अभाव पनि देखिन्छ। केही वर्षयता त समाजको अन्य क्षेत्र जस्तै खेलकुदमा पनि तीब्र राजनीतिकरण भएको छ। त्यसको प्रभाव पनि खेलकुदको विकासमा परेको छ। गरिब देशले जति दिन सकेको छ त्यसमा पनि मिलाएर काम गर्ने हो सुधार गर्न सकिन्छ।
तपाईंले यतिका समयमा कोही राजनीतिज्ञ भेट्नुभयो जसले खेलकुद मन्त्रालय सम्हालेर खेल क्षेत्र सुधार गर्न चाहेको होस्?
वास्तवमा मन्त्रालयहरु मध्ये खेलकुदसँग सम्बन्धित मन्त्रालय राजनीतिक व्यक्तिहरुको सबैभन्दा कम प्राथमिकतामा पर्दछ। म आफै पनि पटक पटक मन्त्री भएँ तर खेलकुद मन्त्रालयको जिम्मेवारी लिने मेरो चाहना रहेन। स्वभाविक रुपले पाएसम्म अरु महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिने नै सबैको चाहना हुन्छ। त्यसैले अहिले पनि खेलकुद मन्त्रालयको जिम्मेवारी लिने उत्सुकता कमै रहेको मैले पाएको छु।
तपाईंको खेल समयको कोही साथी राम्रो खेलाडीका रुपमा नाम लिनुपर्दा कसको सम्झना हुन्छ?
मसँगै खेलेका साथीहरुमा स्वर्गीय रुपक शर्माको सम्झना हुन्छ। उहाँ मेरो अभिन्न मित्र हुनुहुन्थ्यो। हामी पद्योदयमा खेल्दादेखि नै सँगै थियौँ। उहाँ हाम्रो टिमको कप्तान हुनुहुन्थ्यो। पछि उहाँ राष्ट्रिय टिमको पनि कप्तान हुनुभयो।
मलाई व्यक्तिगत रुपमा प्रेरणा दिने व्यक्ति अच्युतकृष्ण खरेल हो। विष्णुगोपाल श्रेष्ठ हो। मेरो समकालीन खेलाडीहरुमा अशोक केसी अर्को उत्कृष्ट खेलाडी हुनुहुन्थ्यो। त्यसबाहेक मलाई मन पर्ने मित्र पनि जो फुटबल खेल्दा खेल्दै दुर्घटनामा परेर निधन हुनुभयो, ईश्वर तुलाधर हुनुहुन्थ्यो। उहाँ संकटाको कप्तान हुनुहुन्थ्यो। राष्ट्रिय टिमको प्रशिक्षणकै क्रममा रहँदा एउटा दुर्घटनामा उहाँको निधन भएको थियो।
पछिल्लो पुस्तामा हेर्दा गणेश थापा, मणि शाहरु उत्कृष्ट खेलाडी थिए। अब हामीभन्दा अगाडि पनि केही राम्रा खेलाडी थिए। सँगै महावीरमा एक सिजन खेल्दाका साथी अनुप राणाको पनि सम्झना गर्न चाहन्छु।
फुटबल खेल्ने समयका कुनै सम्झनाहरु छन्?
खेलकुदमा सहभागी हुँदाको यादहरु धेरै छन्। दुर्घटनाको कुरा गर्ने हो भने खेलकुद अभ्यासकै क्रममा मेरो चार पटक हात भाँचिएको छ। एकपटक खुट्टा भाँचिएको छ। एकपटक कुममा हड्डी घुमेको छ। कलिलो उमेरमा नै खेल्न थालेँ त्यसले पनि शारीरिक चोटहरु देखिएको होला।
नेपालले १९८२ दिल्लीमा भएको एसियाली खेलकुदको फुटबलमा कुवेतविरुद्ध वाइ बी घलेले गरेको गोल पनि मलाई असाध्यै सम्झना आउँछ। त्यसमा जसरी खेल भएको थियो, त्यो नेपाली फुटबल इतिहासको गौरवपूर्ण क्षणका रुपमा लिएको छु। नारायणी अञ्चलबाट खेलेर नरट्रफी जित्दाको क्षण पनि सुखद छ।
अर्को एउटा दुःखद घटनाको पनि सम्झना हुन्छ। म फुटबल संघको अध्यक्ष रहँदा त्रिभुवन च्यालेन्ज शिल्डको फाइनल खेल दशरथ रंगशालामा भइरहेको थियो। नेपालको जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीच खेल भइरहेको थियो। अचानक ठूलो हावाहुरी आँधि बतास चल्यो। सिंगो रंगशाला अन्धकार भयो। त्यसमा भागदौड हुँदा ७१ जनाको ज्यान गयो।
त्यो दृश्य र पछि अस्पतालमा ज्यादै दर्दनाक दृश्य देखेँ। त्यो असह्यै थियो। आँसु थाम्न सकिने अवस्था पनि थिएन। त्यो घटनाको भोलिपल्ट मैले धेरै ठूलो चाहना सपना हुँदाहुँदै पनि नैतिक जिम्मेवारी लिएर अखिल नेपाल फुटबल संघबाट बिदा भएँ। त्यो क्षण मेरो निमित्त दुःखद घटनाको रुपमा रहिरहेको छ।
खेल हेर्नको लागि पछिल्लो पटक रंगशाला कहिले जानुभएको थियो याद छ?
रंगशालामा भूकम्पको असरपछि बन्द भएर खुलेको गएको वर्ष मात्रै हो। त्यसअघि नेपालको राष्ट्रिय टिमको एक खेल हेर्न म गएको छु। कुन देशविरुद्धको खेल थियो भन्ने अहिले ठ्याक्कै सम्झना चाहिँ भएन। खेल अन्तर्राष्ट्रिय नै थियो।
खेलाडी स्वभावले राजनीतिमा फाइदा बेफाइदा के भयो भन्ने लाग्छ?
राजनीतिमा मात्रै होइन, मेरो व्यक्तिगत जीवनशैलीमा खेलकुदले ठूलो प्रभाव पारेको छ। अनुशासन र इमानदारिताका साथै कठोर परिश्रम मैले खेलकुदबाट नै सिकेको हुँ।
दोस्रो कुरा खेलकुदमा सधैँ विजय मात्र प्राप्त हुँदैन। हारलाई पनि सहज रुपमा स्वीकार गर्ने जुन चरित्र हो त्यो मैले खेलकुदबाटै सिकेको हुँ।
मैले राजनीतिक जीवनमा धेरैपटक हारेको छु। तर जसरी खेलमा हारेपछि फेरि अर्को खेलको निमित्त अझ विशेष तयारी गएर गइन्छ, त्यसैगरी मैले राजनीतिक जीवनको कयौँ अवरोधबाट पाठ सिकेर फेरि अगाडि बढेको छु। जसले आज व्यवस्था परिवर्तन भएर ठूलो राजनीतिक उथलपुथल हुँदा पनि मैले आफ्नो स्थान बनाइरहन सकेको छु, त्यसमा खेलकुदको योगदान ठूलो छ।
अहिलेको पुस्ताका खेलाडीलाई कत्तिको विचार गरिरहनुभएको छ? उनीहरुका लागि केही भन्नु मन छ?
मेरो आफ्नो अनुभव र मैले सिकेको आधारमा म नेपाली युवाहरुलाई के आग्रह गर्न चाहन्छु भने नेपालमा खेलकुदमा सहभागी भएर पनि सफल व्यावसायिक जीवन बिताउन सक्ने अवसर आएको छ। खेल्नु जीवन वर्वाद गर्नु होइन। त्यसका निमित्त अनुशासन, इमानदारिता र कठोर परिश्रम गर्नुपर्छ।
भिडियोमा हेर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।