नेपाली फुटबलमा चिनाइरहनुपर्ने नाम होइन, कर्मा छिरिङ शेर्पा। २० वर्षदेखि फुटबलमा रमाइरहेका शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पनि हुन्। असार ६ गते एन्फाको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ। शेर्पाले यसपटक पनि अध्यक्षमा दोहोरिने चाहना राखेका छन्। उनी प्यानलसहित निर्वाचनमा होमिएका छन्।
यसपटक अध्यक्षका लागि शेर्पा र एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। अध्यक्ष पदका लागि उनीहरूबाहेक एन्फा मार्केटिङ एण्ड एजुकेसन समिति प्रमुख राजीवराज पौड्यालले पनि उम्मेदवारी दिएका छन्। दोस्रो कार्यकालका लागि शेर्पाले किन उम्मेदवारी दिए? उनका योजना के छन्? यीलगायत विषयमा नेपाल लाइभका दीप सुवेदीले शेर्पासँग गरेको कुराकानी।
अघिल्लो पटक एउटै प्यानलबाटै पदाधिकारीमा प्रतिश्पर्धा गरेका तपाईंकै साथीहरूले अध्यक्षको रूपमा असफल हुनुभएको आरोप लगाएका छन्। फेरि किन दोहोरिन चाहनुभयो?
मैले धेरै ठाउँमा भन्दै आएको छु– यो चार वर्षमा धेरै नयाँ कामको सुरूआत भएका छन्। विशेषगरी ग्रासरूट फुटबल, युथ प्रोगाम, ‘ए’ डिभिजन क्लबहरूसँगको सहकार्यमा १० वटा उमेर समूहको एकेडेमी सञ्चालन जस्ता कार्यक्रम सफल भएका छन्। अहिले युथ प्रोग्राम चलिरहेको अन्डर–१३ लाई विस्तार गरेर १५ र १८ पुर्याउने योजना छ। सिटी लिगको परिकल्पना पनि छ। लिगहरूलाई विदेशमा जस्तो ‘होम एन्ड अवे’ को स्वरुपमा ढाल्न र लामो समय खेलाडीलाई लिगमा व्यस्त बनाउन प्रतियोगिताको समयसीमा बढाउने योजना छ। यसले फुटबलको व्यवसायीकरण गर्न सहज हुन्छ। लामो समय लिग सञ्चालनमा आयो भने खेलाडी, क्लब र रेफ्रीहरूले पनि फुटबलबाटै घर परिवार पाल्न सक्ने स्थिति सिर्जना हुन्छ।
मेरो मूलभूत अजेण्डा भनेको क्लबहरूको आर्थिक सबलीकरण हो। क्लबलाई व्यवसायिकतातर्फ उन्मुख गराउने हाम्रो अभियान जारी छ। क्लबहरूको ‘मार्केटिङ’ र मिडिया ‘स्ट्राटेजी’ छैन। हामीले क्लबहरूलाई ‘ट्रेन’ गराउँदै राम्रो आम्दानी हुने योजना बनाइरहेका छौं। व्यापारिक घराना तथा सरकारको क्लबलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने गरी कार्ययोजना बनाइरहेका छौं।
हामीले पहिलो कार्यकालदेखि नै प्रत्येक जिल्लामा ग्रासरूट कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका थियौं। बीचमा दुई वर्ष कोरोनाकालका कारण धेरै डिस्टर्ब भयो। अहिले लिगहरू नियमित सञ्चालन गर्ने र खेलाडी उत्पादन गर्ने योजनामा छौं। यसबाट महिनाको १ लाखसम्म कमाउने वातावरण निर्माण गर्न लागेका छौं।
यस्तै, काठमाडौंमै भएका क्लबहरूको खेल्ने मैदान छैन। त्यसले क्लबहरूले राम्रोसँग प्रशिक्षण गर्न पाएका छैनन्। अहिले हामीले यस्ता क्लब र जिल्लाहरूका लागि ‘ट्रेनिङ सेन्टर’ बनाइदिन सरकारलाई दबाब दिने काम गरिरहेका छौं। पोखरामा ‘एक्सिलेन्ट सेन्टर’ बनाउँदै छौं। यो पूरा भएपछि खेलाडी, रेफ्री, कोच र प्राविधिक जनशक्ति पनि त्यहीँबाट उत्पादन हुन्छन्।
प्रदेश र स्थानीय सरकारसँग धेरै ‘ट्रेनिङ सेन्टर’ बनाइदिन पहल गरिरहेका छौं। संघको हरेक कामलाई डिजिटलाइज गर्ने हाम्रो तयारी छ। अब आउने दिनहरूमा फुटबलमा ‘रिसर्च’ सुरू गर्नु पर्नेछ। यसका लागि एन्फाले ‘डेटा बैंक’ को तयारी गरिरहेको छ। यसमा युवा अवस्थादेखि नै खेलाडी, प्रशिक्षक, रेफ्रीलगायत पदाधिकारीको सम्पूर्ण जानकारी उपलब्ध हुनेछ। यी सबै काम गर्न पहिलो कार्यकाल पर्याप्त नभएका कारण दोस्रो कार्यकालका लागि उम्मेदवार भएको हुँ।
तपाईंले अहिले आफ्ना थुप्रै योजना सुनाउनु भयो, तर विगतमा सञ्चालनमा भएका कोकोकोला कप, ललितस्मृति कप, राष्ट्रिय लिग र नेपाल सुपर लिगलाई निरन्तरता दिन सक्नु भएन। कतै चुके जस्तो लाग्दैन?
कोकोकोला कप मेरो पालामा सञ्चालनमा आएको होइन। त्यसको ‘कन्ट्रयाक’ म आउनुअघि नै समाप्त भइसकेको थियो। मैले पुनः ‘कन्ट्रयाक’ गराउने पहल गरेको थिए। तर, नेपालको ब्रान्चभन्दा पनि विदेशमा रहेको ब्रान्चले निर्णय गर्ने हुँदा सम्भव भएन। तर, त्यसको सट्टा क्विक्स कप सुरू गरेका थियौं। पहिलो वर्ष ५५ लाखको सम्झौता भएको थियो। दोस्रो वर्षमा कोरोना आयो। सबै भताभुङ्ग भयो। त्यसैले म चुकेजस्तो लाग्दैन। बरु, गर्न नपाएर पछुतो लागिरहेको छ। अब आउने दिनहरूमा त्यसलाई निरन्तरता दिने योजना बनाएको छु।
अहिले हामीले क्यालेन्डरमा भएका प्रतियोगितालाई नियमित गराउने प्रयास गरिरहेका छौं। यो सबै एक्लैले मात्र गरेर पनि नहुने रहेछ। फुटबलमा धेरै ‘स्टेक होल्डर’हरू छन्। सबैको चित्त बुझाएर अगाडि बढ्नुपर्ने हुन्छ।
नेपाल सुपर लिगमा कुनै विवाद छ जस्तो लाग्दैन। उहाँहरूलाई बाटो खुला गरेका छौं। उहाँहरूले नै कोरोनाकालमा फुटबललाई चलायमान गर्न सहयोग गर्नु भएको हो। त्यो गुण हामीले बिर्सेका छैनौं।
आर्थिक रूपमा नेपाली फुटबललाई सबल बनाउन र व्यावसायिकतातर्फ डोर्याउन तपाईं पहिलो कार्यकालमा सफल हुनुभयो त?
म निर्वाचित भएर आएपछि दुई वर्ष त कोरोनाले काम गर्न दिएन। बनाएका योजना कार्यान्वयन गर्नै सकेनौं। एक वर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि सञ्चालन भएन। अर्को वर्ष पनि कोरोना महामारी अन्त्य नहुने छाँट देखेपछि फुटबललाई चलायमान बनाउन विदेशमा जस्तै बिनादर्शक लिग खेलाउने प्रस्ताव सरकारसँग गर्यौँ। त्यो स्वीकृत भयो। हाम्रै कारणले गर्दा अन्य खेलहरूलाई पनि प्रतियोगिता गराउने प्रेरणा प्राप्त भयो।
हामी नेतृत्वमा आउँदा भूकम्पले भत्काएको रंगशालामा लिग गराउन सम्भव थिएन। एन्फासँग पैसा पनि थिएन। तर, हामीले एन्फा कम्प्लेक्समा ‘डिजिटल बोर्ड’ हालेर बिनारेलिगेशनका लिगहरू सञ्चालन गर्यौं। ‘ए’ डिभिजन लिग खेल्ने क्लबहरूलाई तयारीका लागि दिइने रकम १० लाखबाट बढाएर २० लाख बनायौँ। खेलाडीको आर्थिक स्थितिलाई सुधार गर्न मेरै पहलमा पहिलो पटक फ्रेन्चाइजी लिग नेपाल सुपर लिग पनि सञ्चालन गर्यौं। यसले फुटबलबाट पलायन हुन लागेका खेलाडी, रेफ्री र प्राविधिकहरूलाई केही राहत मिल्यो। विगतमा ‘ए’ डिभिजनबाट मात्रै खेलाडीहरू राष्ट्रिय टोलीमा पर्ने स्थिति थियो। तर, सुपर लिगले त्यस्तो परम्परालाई तोड्यो।
कोरोनाकालमा ७६ क्लबहरूले ‘सी’ डिभिजन लिगको छनोट खेल खेले। १७ सय खेलाडी दर्ता भए। यो आफैंमा ठूलो उपलब्धि थियो। यसबाट करिब २५० खेलाडी भविष्यमा राष्ट्रिय टोलीबाट नेतृत्व गर्नसक्ने कुरा ‘डेटा’बाट प्राप्त भएको छ। विगतमा खेलाडी अभाव छ, खेलाडी पलायन भए, फुटबल ध्वस्त भयो भन्ने मात्र सुनिन्थ्यो। तर, हामीले खेलाडीको कुनै कमी छैन, उनीहरूको प्रतिभा लुकेर बसेको छ भन्ने प्रमाणित गरेर देखाइदियौं।
प्रतिकूल अवस्थामा पनि राष्ट्रिय टोलीका खेलाडीलाई विमान चार्टड गरेर विदेशमा अभ्यास गर्न पठायौं। त्यहाँ उनीहरूले ओमान र इरानजस्ता बलिया देशसँग मैत्रीपूर्ण खेल खेल्न पाए। अहिले नेपालको राष्ट्रिय फुटबल टोलीको स्तर कस्तो छ? त्यो तपाईंहरू जानकार भएको विषय नै हो। यसबाहेक पनि हामीले कोरोनाकालमा ‘थ्री नेसन्स’ कप आयोजना गरेर देखाइदियौं। संसारमा सबै कुराको ‘अल्टरनेट’ हुन्छ। म नभएको भए पनि यी काम हुन्थे होला। तर, कसरी सम्भव भयो, त्यो ठूलो कुरा हो। मैले फुटबललाई चलयमान बनाउन गरेको प्रयासप्रति म सन्तुष्ट छु।
तपाईंहरू सुरूमा आउँदा ‘चेन्ज एन्फा’ को नारा लिएर आउनु भयो। तर, अहिले ‘चेन्ज कर्मा’ को नारा सुनिन्छ नि?
‘चेन्ज एन्फा’को नारा केही साथीहरूको सामूहिक भावनाबाट निर्मित भएको थियो। हामीले यही नारा लिएर मध्यावधि निर्वाचनमा भाग लियौं। तर, पराजित भयौं। त्यसपछि निर्वाचन लड्ने कि नलड्ने भनेर धेरै छलफल भयो। यो नारालाई स्थापित गराउनु पर्छ भन्नेमा सबैको एक मत भयो। यही नाराको बलमा २०७५ सालको निर्वाचन दुईतिहाइले जित्यौं।
त्यसपछि, हामी घोषणापत्र र योजनाअनुरुप काम गरिरहेका थियौं। तर, काम गर्दै जाने क्रममा जुन नाराका कारण साथीहरू हामीसँग जोडिनु भएको थियो, उहाँहरू छुट्टिनु भयो। साथीहरू संघलाई नयाँ शैलीमा परिवर्तन गर्ने कुरा गर्छन्, तर काम गर्न दिँदैनन्। भष्ट्राचार भयो भन्छन्, अख्तियारमा मुद्दा हाल्छन्, बोर्डमा हाल्छन्, तर प्रमाणित गर्न सक्दैनन्। यस्ता अनेक वाधाहरू चिर्दै फुटबललाई एउटा गन्तव्यमा पुर्याएका छौं। यो चानचुने कुरा होइन।
अहिले खेलाडीहरूले राम्रोसँग खेल्न पाएका छन्। क्लबहरू राम्रोसँग सञ्चालन भइरहेका छन्। जिल्लाहरूमा दुई लिग सञ्चालन भइरहेको छ र नभएको ठाउँमा हुँदै जानेछ। हाम्रो जुन ‘चेन्ज एन्फा’को नारा छ, त्यो निरन्तर चलिरहेकै छ। अब जसलाई ‘चेन्ज कर्मा’को नारा लगाउनु छ, त्यो उहाँहरूको विवेकमा म छोड्छु। यसमा मलाई तर्क–वितर्क गर्नु छैन।
अहिलेको निर्वाचनमा तपाईंको ‘लडाइँ’ गणेश थापासँग हो कि पंकज नेम्वाङसँग?
यो ‘कलेक्टिभ’ छ। उहाँहरूको धेरै गठबन्धन छन्। यो गठबन्धन नेपाली फुटबलको लागि होइन, मेरोविरूद्ध हो। उहाँहरूसँग योजना केही छैन। कुनै पनि हालतमा कर्मालाई सिध्याउनुपर्छ भनेर गठबन्धन बनाउनु भएको हो।
एन्फा परिवर्तनका लागि सँगै हिँडेका साथीहरू नै आफूविरूद्ध लागिरहेका छन् भन्नुहुन्छ, यो अवस्थाको निर्माण कसरी भयो?
तपाईंहरूले देखिरहनु भएको छ। भ्रष्टाचारको आरोप मैले लगाएर लाग्ने होइन। जे कर्म गरेको छ, त्यसको प्रतिफल त भोग्नु नै पर्छ। भ्रष्टाचारी मैले त ठहर गरेको होइन नि, फिफाले बनाएको हो। लेखा समितिले ५८ करोड रुपैयाँ हिनामिना भएको प्रमाणित नै गरेर अख्तियार पठाएको हो। त्यो ‘मिनि पार्लियामेन्ट’ले गरेको निर्णय हो, मैले गरेको त होइन नि।
अर्को कुरा, धेरै स्वार्थ बोकेर आउनुभएका साथीहरूलाई मैले स्वार्थ पूरा गर्न दिइनँ। किनभने फुटबल स्वार्थअनकूल चल्दैन। उहाँहरूभन्दा पहिला बदनाम हुने त मै हुँ नि। अहिले पनि उहाँहरूले गरेको कामको आरोप मैमाथि लाग्छ, त्यो मैले गरेको काम त होइन नि। एन्फामा आफ्नो मान्छे भर्ती गर्ने ‘कल्चर’ थियो, यसले फुटबलको विकास हुँदैन नि। मैले त्यो कल्चरको अन्त्य गरिदिएँ। त्यसैले उहाँहरू मसँग चिढिनु भएको छ। थप कुरा निर्वाचनपछि गर्दा राम्रो होला।
२००८ सालमा गठन भएको फुटबल संघको इतिहास पल्टाउने हो भने कार्यकाल पूरा गरेर ‘फ्रि इलेक्सन’ गराउने जिम्मेवारी पाउने तपाईं पहिलो अध्यक्ष हो। यो निर्वाचन स्वतन्त्र ढंगले हुन्छ त?
फुटबलमा पहिलो पटक प्रजातान्त्रिक परिपाटीको सुरुआत भएको छ। म पनि १६ वर्ष संघमा उपाध्यक्ष भएर बसें। २–३ वटा निर्वाचनमा त हामीले पहिला नै सही गरेर अध्यक्ष चुनेका हौं। त्यो बेला गणेश थापाज्यूलाई ४०–४५ कति भोटर हुन्छन्, उहाँहरूले पहिला नै सही गरेर दिनुहुन्थ्यो। निर्वाचन प्रकृया सुरू हुनुभन्दा अगाडि नै प्रस्तावक र समर्थक जुटाएर उहाँ र्निविरोध निर्वाचित भइसक्नुहुन्थ्यो। अन्य पदमा पनि धेरैलाई लड्न लगाएको जस्तो गरेर आफू अनुकुल मान्छे जिताउनु हुन्थ्यो। म चाँहि त्यो प्रणाली र प्रवृत्ति राम्रो होइन भन्ने ठान्छु। जसले अजेन्डा राम्रो ल्याउँछ, त्यो नै निर्वाचित भएर चार वर्षे कार्यकाल चलाउँछ। जो जितेको छ, त्यसलाई कार्यकालभरि राम्रोसँग काम गर्न दिनुपर्छ।
गणेश थापा जस्तो कर्मा छिरिङ शेर्पा ‘डिक्टेटर’ अध्यक्ष भएन भन्ने आरोप तपाईंमाथि छ। के फुटबल विकासका लागि ‘डिक्टेटर’ हुन आवश्यक छ?
फुटबल ‘डिक्टेटरसिप’ले होइन, विधिअनुसार चल्नुपर्छ। मेरो ‘एप्रोच’ डेमोक्रेटिभ छ। मैले बैठकमा राख्ने अजेन्डामाथि सबैले आ–आफ्नो तर्क राख्न पाउनुपर्छ। सामूहिक निर्णयले नै संस्थालाई बलियो बनाउँछ। डिक्टेटरसिप एउटा लहड हो। यसले न व्यक्तिलाई राम्रो गर्छ, न संस्थालाई। हिजो नेपाली फुटबलमा डिक्टेटरसिपले के भित्र्यायो, हामी सबै भुक्तभोगी होइनौं? त्यसैले म जहिले पनि नियम कानुनले ‘गभर्न’ गर्नुपर्छ। म ठीक, मैले भनेकै सत्य भन्ने चिन्तनले मानिसको सोचलाइ खुम्च्याउने काम गर्छ। म ‘रूल अफ ल’ मा विश्वास गर्ने मान्छे भएको हुनाले यसलाई छोड्न सक्दिनँ।
तपाईंले अगाडि पनि कोरोनाले धेरै काम गर्न नसकेको बताउनुभयो। दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो भने नेपाली फुटबलका लागि गर्नेपर्ने महत्वपूर्ण काम के देख्नु भएको छ?
क्लबलाई व्यावसायिक र लिगलाई लामो बनाउन सक्यो भने नेपाली फुटबलको विकास हुन्छ। अहिले तीन महिना लिग खेल्ने र बाँकी समय खाली राख्ने परिपाटी छ। म लिगको अवधि आठ महिना पुर्याउने अभियानमा लाग्छु। अर्को कुरा– फुटबल अब संघले मात्र चलाउने होइन, पब्लिक पार्टनसिपमा जानेबेला भइसकेको छ। पब्लिक पार्टनरसिपमा गयो भने ‘प्रोफेस्नालिजम’ को सुरूआत हुन्छ जस्तो लाग्छ। यसमा म कटिबद्ध भएर लाग्ने छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।