काठमाडौं– ‘अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदमा तपाईंको उम्मेदवारी किन?’ वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई यो प्रश्न सोधेको खण्डमा सहज उत्तर हुने गर्छ– ‘अध्यक्षज्यूले खोलो तरेपछि लौरो बिर्सनु भयो। एन्फा शुद्धीकरण अभियानमा होमिनु भएका उहाँ आफैं आर्थिक रूप अपारदर्शी हुनुभयो।’
कुनै समय एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेम्वाङ एकै सिक्काका दुई पाटो मानिन्थे। तर, हिजोआज उनीहरूबीच पानी बाराबारको अवस्था छ।
अहिले एन्फामा चुनाव लागेको छ। यस्तो बेला विगतका दुई ‘जिग्री’बीच हानथापको अवस्था हुँदा एन्फाका अन्य पदाधिकारी पनि विभाजित हुन थालेका छन्।
यो अवस्था चुनावी माहोलका बीच मात्र तयार भएको होइन। ‘कथा’ केही लामो छ। यी दुईको मित्रता एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाविरुद्धको संघर्षबाट जोडिएको थियो। थापा हटेसँगै ‘दुश्मनी’ सुरु भएको छ।
विश्व फुटबल महासंघ (फिफा) ले भ्रष्टाचारको मुद्दामा गणेश थापालाई कारबाही गर्दा यी दुई पात्र ‘चेन्ज एन्फा’ को नारा बोकेर मैदानमा उत्रिएका थिए। फिफाले कारबाही गरेपछि पनि नेपाली फुटबलको बागडोर आफ्नो हातबाट उम्कन नदिन आफ्नै साला मणि कुँवरलाई अध्यक्षको प्रत्यासी बनाएका थिए। शेर्पा र नेम्वाङले नै कुँवरविरुद्ध मोर्चाबन्दी गरे। थापाको २२ वर्षे कार्यकालमा भएका भ्रष्टाचारलाई उजागर गर्न हातेमालो गरे।
शेर्पाको टिमबाट उदाएका नेम्वाङ
२०७५ सालको एन्फा चुनावमा कर्मा छिरिङ शेर्पाको प्यानल नै विजयी भएको थियो। अध्यक्षमा शेर्पाले ६३ मत पाउँदा मणिले १२ मत मात्र पाए। नेम्वाङले शेर्पाकै प्यानलबाट अत्यधिक मतसहित उपाध्यक्ष निर्वाचित भएका थिए।
चुनाव जित्ने अभियानमा शेर्पाले जसरी स्वार्थ समूहसँग गठजोड गरे, त्यो नै अहिले उनका लागि ‘गलपासो’ बनेको छ। चुनाव जितेको केही दिनमा शेर्पा र मानार्थ अध्यक्ष टासी घलेको सम्बन्ध बिग्रिन पुग्यो। तर, यतिबेला उनै घले पुनः शेर्पाको समर्थनमा लागेका छन्।
उतिबेला शेर्पासँगको ठाकठुकलगत्तै थापा समूह सक्रिय भएको थियो। यसले शेर्पालाई सशंकित पारेको थियो। शेर्पाले पदभार सम्हालेको दुई दिनपछि कार्यसमिति बैठकले इन्द्रमान तुलाधरलाई महासचिवमा मनोनीत गर्यो। तर, नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष चयन गर्न कार्यसमितिकै अन्य सदस्यले विरोध जनाए। तुलाधरलाई महासचिव नियुक्त गर्दा नेम्वाङले त्यही बैठकबाट वरिष्ठ उपाध्यक्ष तोकिने अपेक्षा गरेका थिए।
सोही पदका लागि अर्का उपाध्यक्ष वीरबहादुर खड्काले पनि आफ्नो दाबेदारी प्रस्तुत गरे। उनले नेम्वाङ आफूभन्दा जुनियर रहेको भन्दै ‘वरिष्ठ’ नस्वीकार्ने बताए। तर, यसपटक खड्का उनै पंकजको प्यानलबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन्।
वास्तवमा त्यसबेला खड्काभन्दा नेम्वाङ ‘जुनियर’ नै थिए। तर, ‘चेन्ज एन्फा’को नारामा आफूलाई नजिकबाट सहयोग गरेको भन्दै शेर्पाले ‘भिटो’ प्रयोग गरेर नेम्वाङलाई वरिष्ठ बनाए। शेर्पाले आफ्नो कार्यकालको सुरुआतमा नेम्वाङलाई अन्य महत्त्वपूर्ण जिम्मेवारी पनि दिएका थिए। एन्फाको छात्रावास पुनर्निमाण, विराटनगरमा भएको दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको व्यवस्थापनलगायतको जिम्मा नेम्वाङलाई दिइएको थियो।
शेर्पाविरुद्ध नेम्वाङको साँठगाँठ थापासँग
नेम्वाङप्रति शेर्पाको बढ्दो झुकाव देखेर एन्फामा असन्तुष्ट हुने जमात ठूलै थियो। यसैबीच नेपाली मूलका जर्मन नागरिक नवीन पाण्डेसँग शेर्पाको सम्बन्ध बिग्रिनु नै ‘शेर्पा–नेम्वाङ युद्ध’को सुरुआत थियो।
जर्मनीबाट नेपाल फर्किएका पाण्डेलाई सुरुका दिन हिमालयन शेर्पा क्लबमार्फत् नेपाली फुटबलमा परिचय दिलाउने शेर्पा नै थिए। पछि उनी शेर्पा र नेम्वाङको ‘चेन्ज एन्फा’ अभियानमा सक्रिय भए।
शेर्पा एन्फाको नेतृत्वमा स्थापित भएपछि पाण्डेले नेपालको प्रचलित कानुन विपरीत एन्फाको विदेश विभाग प्रमुखको जिम्मेवारी पाए। नेपाली मिडियामा यसको ठूलो विरोध भए पनि आफूलाई सघाउने पाण्डेलाई शेर्पाले संरक्षण गरिरहे।
यसपछि चुलिएको पाण्डेको आत्मविश्वास पछि शेर्पाकै लागि ‘घातक’ बन्यो। पाण्डेले आफै एन्फा अध्यक्ष भएसरह एन्फा पदाधिकारीको मानमर्दन गर्ने, हरि खड्का, उपेन्द्रमान सिंह जस्ता नेपाली फुटबलका हस्तीहरूको लगानीको उपहास गर्ने र ‘ग्रुपिजम’ गर्ने गर्दा शेर्पाले बाध्य भएर उनलाई पदमुक्त गरे।
पाण्डे त्यसपछि शेर्पाविरुद्ध लागे। ६ महिनाभित्र शेर्पालाई फिफा र एएफसीमार्फत पदच्युत गरेर नेम्वाङलाई एन्फाको अध्यक्ष बनाउने आश्वासन दिए। यस्तो आश्वासन पूरा हुन संभव नै थिएन। बरु पाण्डेले नेम्वाङलाई ‘भ्रष्टाचारी’ आरोपमा आफैंले जोविरुद्ध आन्दोलन छेडे, उनै गणेश थापा क्याम्पमा पुर्याइदिए।
अहिले नेम्वाङको अध्यक्ष बन्ने अभियानमा पाण्डे र थापाको साथ छ। नेम्वाङले दुई वर्षदेखि शेर्पालाई आर्थिक पारदर्शिताको मुद्दामा घेर्न खोजेका छन्। तर, थापासँगको गठजोडले नेम्वाङलाई कमजोर बनाएको छ। जुन व्यक्तिलाई भ्रष्टाचारको मुद्धामा फिफाले १० वर्ष प्रतिबन्ध लगाएको छ र जसको प्रतिबन्धको अवधि समाप्त भएको छैन, त्यही मान्छे बोकेर चुनाव लड्न हिँडेका नेम्वाङको आर्थिक सुशासनको एजेन्डाले यही मार खाइसकेको छ।
अब हेर्न बाँकी छ, आफ्नो सालोलाई चुनाव जिताउन नसक्ने गणेश थापाको दममा नेम्वाङले कसरी चुनाव जित्लान्? उनको सुशासनको नारा नेपाली फुटबललाई पुनः 'भ्रष्टाचारी'को हातमा सुम्पिनका लागि हो वा आफ्नै लागि, त्यो समयले बताउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।