चितवन- चितवनका पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाउन आउने पर्यटकहरुको संख्या बर्सेनि बढ्दै गएको छ। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार तीन वर्षयता नयाँ वर्ष मनाउन यहाँ आउने संख्या बढिरहेको हो।
त्यसअघिका वर्षहरुमा अंग्रेजी नयाँ वर्ष मनाउन पर्यटक आउने भए पनि नेपाली नयाँ वर्षमा पर्यटकीय क्षेत्र प्रायः सुनसान जस्तो हुन्थे। पछिल्ला वर्षहरुमा नेपाली नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकले होटल भरिभराउ हुने गरेका छन्।
गतवर्ष नेपाली नयाँ वर्षमा ८० प्रतिशत सौराहाका होटल बुकिङ भएका थिए। यसवर्ष ९० प्रतिशत होटल बुकिङ भइसकेको घिमिरेले बताए। उनका अनुसार ६० देखि ७० प्रतिशत आन्तरिक तथा बाँकी बाह्य पर्यटक सौराहामा छन्। अंग्रेजी नयाँ वर्षमा शतप्रतिशत होटल बुकिङ हुने गर्छ। सौराहाका ११० होटलमा ५ हजार ५ सय पर्यटक राख्न सकिन्छ। धेरै आन्तरिक पर्यटक आज आएर भोलि फर्किने गर्छन्। बाह्य पर्यटक दुई-तीन दिनसम्म बस्न सक्छन्।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरी सौराहाका होटल रेस्टुरेन्टहरु पर्यटकले भरिएको बताउँछन्। उनका अनुसार बिहीबारदेखि नै पर्यटकको चहलपहल बढेको छ। त्यसो त विदेशीले भन्दा नेपाली पर्यटकले बढी खर्च गर्ने उनी बताउँछन्। 'नेपालीको गोजीमा रु एक हजार भयो भने रु ९ सय खर्च गर्छन्। विदेशीले रु एक हजार भयो भने रु ३ सयसम्म मात्रै खर्च गर्छन्।' आम्दानीको हिसाबले स्वदेशी पर्यटक फाइदाजनक हुने उनले बताए।
नयाँ वर्षको अघिल्लो दिन शुक्रबार तथा १ गते शनिबार परेकाले पनि नयाँ वर्ष मनाउन आउनेको संख्या बढी भएको उनको भनाइ छ।
रेवानले नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। सौराहाकै केही होटलले पनि सांस्कृतिक कार्यक्रम राखेका छन्। सौराहा आउने पर्यटक राप्ती किनारको बगरमा बसेर निकुञ्ज नियाल्दै रमाउँछन्। पर्यटकले हात्ती, डुंगा र जिप सफारी पनि गर्छन्।
देशको तेस्रो पर्यटकीय गन्तव्य मानिने चितवन राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ एकसिंगे गैँडा, बाघलगायत जंगली जनावर हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।