मनाङ- नयाँ वर्ष मनाउन केही वर्षयता आन्तरिक पर्यटकको रोजाइमा मनाङ पर्न थालेको छ।
नयाँ वर्ष मनाउन यहाँ आउनेमध्ये सबैभन्दा धेरैको रोजाइमा तिलिचो ताल पर्ने गरेको छ। जसका कारण आन्तरिक पर्यटकको चाप बढेको छ।
दसैं-तिहारको छुट्टीमा जस्तै नयाँ वर्ष मनाउन आफूहरुको रोजाइमा मनाङ परेको पर्यटक स्नेह कार्की बताउँछन्। विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल, मनाङ गाउँको काखमा रहेको गंगापूर्ण ताल र पिसाङमा रहेको पिसाङ ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेका हुन्।
हिमशृंखलाबाट बनेका तालतलैया र यहाँको मौलिक परम्पराले जो कसैलाई पनि मोहित बनाउँछ। यहाँको सौन्दर्यमा रमाउन स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्छ।
गत वर्ष नयाँ वर्षको दिन यहाँ करिब पाँच सयभन्दा बढी आन्तरिक पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ।
यसपटक उक्त संख्या दोब्बरले बढ्ने मनाङ जिल्ला पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताए। 'मनाङ घुम्न आउने आन्तरिक पर्यटकका कारण यहाँका होटल भरिभराउ हुने गरेका छन्,' उनले भने।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।