काठमाडौं- अफगानिस्तान क्रिकेट बोर्डले लगाएको भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण क्रिकेटर सफिकुल्लाहमाथि ६ वर्षको प्रतिबन्ध लागेको छ। उनले सन् २०१९-२० को बंगलादेश प्रिमियर लिगमा म्याच फिक्सिङको प्रयास गरेको आरोपसमेत छ।
अफगानिस्तान क्रिकेट बोर्डका अनुसार उनीमाथिको प्रतिबन्ध भने मुख्यगरी २०१८ को अफगानिस्तान प्रिमियर लिगमा भ्रष्टाचार प्रयास गरेको आधारमा लगाइएको हो। विकेटकिपर ब्याट्सम्यान सफिकुल्लाहले ६ वर्षसम्म कुनै पनि क्रिकेट खेलमा सहभागी हुन नपाइने बताइएको छ।
अफगानिस्तानबाट दुई टी २० विश्वकपसमेत खेलिसकेका सफिकुल्लाह अफगानिस्तानलाई एकदिवसीय मान्यता दिँदा पनि टिमका महत्वपूर्ण सदस्य थिए।
२००९ देखि २०१९ सम्ममा सफिकुल्लाहले २४ एकदिवसीयका साथै ४६ टी २० खेल खेलिसकेका छन्। तर उनी गएको वर्ष सेप्टेम्बरदेखि अफगानिस्तानका लागि खेलेका छैनन्।
अफगानिस्तान क्रिकेट बोर्डका सिनियर एन्टी करप्सन म्यानेजरले सफिकुल्लाहमाथिको प्रतिबन्ध अरु खेलाडीका लागि पनि चेतावनी रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।