एजेन्सी- पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले कोरोना भाइरस महामारी नियन्त्रणमा अराजकता अपनाउँदा समस्या जटिल बनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन्। उनले नीजि प्रेस कन्फ्रेन्समा महामारी नियन्त्रणमा अराजक व्यवहार देखाएको भन्दै आलोचना गरेका हुन्।
अमेरिकाको आगामी राष्ट्रपतिय निर्वाचनका उम्मेदवार जो बाइडनको निर्वाचन क्याम्पेनमा खटिएका कर्मचारीलाई सम्बोधन गर्दै उनले सरकारले अधिकतम प्रयास गर्दागर्दै पनि कोरोना भाइरसको संक्रमणले अमेरिकालाई अहिलेको अवस्थामा पुर्याउनुमा गलत मनस्थिति कारण रहेको भन्दै आलोचना गरेका थिए।
सिएनएनका अनुसार अमेरिकामा १३ लाख मानिसमा कोरोना भाइरस संक्रमण भएको पुष्टी भइसकेको छ भने ७८ हजार जनाको ज्यान गइसकेको छ। केही राज्यले लकडाउन लागू गरे पनि अहिले आवतजावत खुकुलो बनाउँदै काममा फर्कन आग्रह गरिरहेका छन्। स्वास्थ्य विज्ञहरुले भने अहिले लकडाउन खुकुलो बनाउने समय नआइसकेकोले यसले अवस्था थप जटिल बनाउन सक्ने भन्दै चेतावनी दिइरहेका छन्।
कोरोना भाइरस संक्रमण देखिन थाले पनि अमेरिकी राष्ट्रपति ट्रम्पले प्रारम्भमा यो आफैं हराएर जाने भन्दै गम्भीर रुपमा लिएका थिएनन्। उनले अमेरिका बन्द हुन बनेको देश हैन भनेका थिए। कोरोनाकाे संक्रमण गम्भीर रुपमा अगाडि बढेपछि मध्य मार्चबाट मात्रै उनी गम्भीर देखिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।