काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चाहन्थे, आफ्नो भारत भ्रमण अगावै वाम एकताको औपचारिक घोषणा होस्। तर, एकीकृत पार्टीको सांगठनिक हिस्सेदारीमा कुरा नमिल्दा ओलीको गृहकार्यले पूर्णता पाएन। नयाँदिल्ली उड्नु अघिल्लो दिन चैत २२ मा प्रधानमन्त्री ओलीले पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा डाकेका थिए।
एकता संयोजन समितिको उक्त बैठकले एकता प्रक्रिया टुंग्याउने विषयमा ठोस निर्णय गरेन। तर, समितिले बनाएका दुई कार्यदलको सुझाव अनुसार एउटा निष्कर्ष निकाल्यो, कम्युनिस्ट पार्टी स्थापनाको दिन वैशाख ९ मा एकताको औपचारिक घोषणा गर्ने। बैठकबाट बाहिरिएका माओवादी केन्द्रका एक नेताले प्रधानमन्त्री भारतबाट फर्किएलगत्तै चैत २७ मा पुनः एकता संयोजन समितिको बैठक बस्ने सहमती बनेको बताएका थिए।
भारतको तीनदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री ओली काठमाडौं फर्किए लगत्तै मुलुक नेपाल प्रहरी र सशत्र प्रहरीको नयाँ नेतृत्वको चयनमा होमिसकेको थियो। गृहमन्त्रालयको नेतृत्व माओवादीसँग थियो। लगाम प्रधानमन्त्रीले समातेका थिए। प्रहरीको नयाँ नेतृत्वमा दुई आकांक्षीले भित्री रुपमा राजनीतिक लबिङ तीव्र पारेका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वेन्द्र खनाललाई नयाँ आइजिपी बनाउन चाहन्थे।
प्रधानमन्त्री ओली खनालको पक्षमा थिएनन्। दुवै नेता आ–आफ्नै अडानमा थिए। चैत २७ बेलुका बालुवाटारमा बसेको एमाले र माओवादीको शीर्ष नेतृत्वसहितको बैठकमा प्रधानमन्त्री ओलीमाथि प्रचण्ड हाबी बने। पार्टी एकता प्रक्रियाको संवेदनशीलतालाई बुझेर लचक बन्न प्रधानमन्त्री ओलीलाई प्रचण्डले आग्रह गरे। पछिल्लो समय माओवादी केन्द्रका नेताहरुको निशानामा रहेका प्रधानमन्त्री ओलीसमेत आइजिपीमा खनालको नाममा सहमत हुन पुगे।
अन्ततः खनाल नै आइजिपी बने। प्रहरीको नयाँ नेतृत्वमा प्रधानमन्त्री पछाडि हट्नुमा प्रधानमन्त्री ओलीप्रति माओवादी नेताहरुको असन्तुष्टि प्रमुख कारण थियो। एकता प्रक्रियालाई निष्कर्ष दिन दुवै दलका शीर्ष नेतृत्व निरन्तर संवादमा छन्, तर, माओवादी नेतृत्व अझै पनि एमालेलाई पूरा विश्वास गरिसक्ने अवस्थामा पुगेको देखिँदैन। प्रधानमन्त्री ओलीका पछिल्ला गतिविधि र संवाद प्रक्रियामा एमालेको अडानका कारण एकता प्रक्रिया अप्ठ्यारो मोडमा रहेको माओवादीका नेताहरु बताउँछन्।
दुवै दलबीच विश्वासको वातावरण बनिनसकेको भन्दै वैशाख ९ मा गर्ने भनिएको पार्टी एकताको औपचारिक घोषणा तत्कालका लागि टरेको माओवादी नेता मणि थापाले बताएका छन्। एमाले र माओवादीको एकता प्रक्रियामा नेतृत्व व्यवस्थापनसँगै दुवै दलका शीर्ष नेताबीच विश्वासको वातावरण बन्न नसकेको दुवै दलका नेताहरु भित्री रुपमा स्वीकार गर्छन्। गत सोमबार बिहानै ललितपुरको खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास पुगेका माओवादी केन्द्रका मन्त्रीहरुले एउटै गुनासो गरे, मन्त्रालयका सचिव सरुवामा प्रधानमन्त्रीले कुनै छलफल गरेनन्।
सरकार सञ्चालनको ब्रिफिङ गर्न खुमलटार पुगेका माओवादीका मन्त्रीहरुले प्रचण्डसामु प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर गम्भीर असन्तुष्टि जनाए। पार्टी एकता प्रक्रियामा रहे पनि सत्ताको प्रमुख साझेदार माओवादी केन्द्रलाई प्रधानमन्त्री ओलीले पेलेर अघि बढ्न खोजेको अनुभव गरेको माओवादीका मन्त्रीहरुको गुनासो थियो। माओवादी नेतृत्वसमेत प्रधानमन्त्री ओलीका पछिल्ला गतिविधि र निर्णयप्रति सशंकित छ।
पार्टी एकता प्रक्रिया संक्रमणकालीन अवस्थाबाट गुज्रिरहँदा एमाले अध्यक्ष ओलीले दुई दलबीच विश्वासको वातावरण सिर्जना गर्न नसकेको माओवादीको ठम्याई छ। प्रधानमन्त्री ओली एकल निर्णयमा अगाडि बढेको र आन्तरिक रुपमा सरकारभित्र लोकतान्त्रिक अभ्यास देखाउन नसकेको माओवादीका एक मन्त्रीले आरोप लगाए। ओलीले एकताको आधार कमजोर बनाउँदै अघि बढ्दा पार्टी एकता प्रक्रिया संकटमा परेको माओवादी नेताहरुको बुझाइ छ। बाहिर असन्तुष्टि नदेखाए पनि माओवादी केन्द्र प्रधानमन्त्री ओलीको भारत भ्रमणबाट खुसी भने छैन।




माओवादीको चाहना थियो, वामपन्थी सरकारको नेतृत्वकर्ताको हैसियतमा प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाट नहोस्। ओलीको ‘भारतविरोधी राष्ट्रवाद’को नारामा उभिन आइपुगेको माओवादीले कुनै तेस्रो मुलुकबाट पहिलो विदेश भ्रमण थाल्न प्रधानमन्त्रीलाई सुझाएको थियो। तर, ओलीले पहिलो विदेश भ्रमणका रुपमा भारत नै रोजे। परम्परागत रुपमा भारतको हेपाहा प्रवृत्तिबाट मुक्त हुन खोजेको सन्देश विदेश भ्रमणले दिनुपर्ने माओवादीको धारणा थियो। तर, प्रधानमन्त्री ओलीले जुन किसिमको सम्बन्ध भारतसँग स्थापित गर्न कोसिस गरेका छन्, त्यो उनको पछिल्लो चरित्रभन्दा विपरीत रहेको माओवादी बुझाइ छ।
माओवादीका एक नेता भन्छन्, ‘राष्ट्रवादको नारामा जनताले जुन स्तरको मत ओलीलाई दिएका थिए, उनले त्यो मतको नेतृत्व गर्दै विदेश भ्रमणको पुरानो ढाचाँलाई परिवर्तन गर्नुपथ्र्यो जस्तो लाग्छ। ओलीजी जनताले दिएको मतको ठाउँमा बसेनन् भन्ने हाम्रो ठम्याई हो।’ निर्वाचनको परिणामपछि नयाँ सरकारको नेतृत्वमा आएका प्रधानमन्त्री ओली भारततिर अलि बढी ढल्किएजस्तो देखिएको ती नेताले बताए। एमालेसँग पार्टी एकता गर्ने घोषणासहित चुनावमा होमिएको माओवादीले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग ६०÷४० को भागवण्डा गर्यो। माओवादीका एक नेता भन्छन्, ‘चुनावी
परिणामपछि प्रादेशिक सरकारमा एमालेलाई ७० प्रतिशत दिएर माओवादी ३० प्रतिशतमा समेटियो। माओवादीभित्र यसबारे असन्तुष्टि पैदा भयो। तर, अध्यक्ष प्रचण्डले एकता प्रक्रियामा जटिलता पैदा हुने भन्दै नेतालाई ‘कन्भिन्स’ गराउनुभयो।’ तर, एकता प्रक्रिया निर्णायक बिन्दुतिर आइपुग्दै गर्दा प्रचण्डले सांगठनिक व्यवस्थापन ‘समानाताका आधारमा’ भनेका छन्। यसको अर्थ प्रचण्डले एकीकृत पार्टीको संरचनामा बराबरी हैसियत खोजेका हुन्।
भातृ संगठनको संख्यामा केही ‘तलमाथि’ भए पनि केन्द्रीय कमिटीमा प्रचण्डले बराबरी संख्या खोजेको ती नेता बताउँछन्। त्यही अनुपातमा पोलिटब्युरो र स्थायी कमिटीमा माओवादी बराबरी हैसियत चाहन्छ। प्रचण्ड स्वयंले विचारका आधारमा पार्टी एकता हुनुपर्ने बताउँदै एकीकृत पार्टीमा दुवै पार्टीले सम्मानजनक स्थिति महसुस गर्न पाउनुपर्ने जनाउँदै आएका छन्। तर, एमाले दुवै पार्टीको वर्तमान सांगठनिक आकार र चुनावी परिणामलाई पार्टी एकताको आधार बनाउन चाहन्छ।
भद्रगोल सांगठनिक संरचना रहेको माओवादीलाई बराबरी हैसियत दिन नसकिने एमाले नेतृत्वले अनौपचारिक संवादमा बताउने गरेका छन्। पार्टी एकतालाई एमालेले माओवादीको आफूमा विलयका रुपमा बुझेकाले समस्या पैदा भएको माओवादीका एक नेता बताउँछन्। ‘पार्टी एकता त विचारका आधार हो। पार्टी एकता भनेको विचार हो। सरकार भनेको शक्ति सन्तुलन हो। असमान तरिकाले शक्तिको मात्र सेयरिङका रुपमा माओवादी एकतामा आउँदैन,’ ती नेताले भने।
दुवै पक्षको गलाउने रणनीति
माओवादी अध्यक्ष प्रचण्डले स्वास्थ्यको कारण देखाएपछि बुधबारका लागि बोलाइएको एकता संयोजन समितिको बैठक स्थगित भयो। अघिल्लो दिन बिरामी भएर बैठक स्थगित गरेका प्रचण्ड लगत्तै भोलिपल्ट गृहजिल्ला चितवनका विभिन्न कार्यक्रममा सहभागी भए। प्रधानमन्त्री ओलीले समेत बिहीबार विभिन्न कार्यक्रममा सहभागी भएर दिन कटाए। वाम गठबन्धनले गठन गरेको कार्यदलका सदस्यहरु अहिले जिल्ला कार्यक्रममा व्यस्त छन्। निर्णायक छलफल गर्ने भनिएको बैठक राख्न दुवै पक्षले चासो देखाएका छन्।
दुवै दलका शीर्ष नेतृत्व एकअर्कालाई गलाएर एकता प्रक्रियाको निर्णायक बिन्दुमा आफूलाई माथि पार्न चाहन्छन्। प्रधानमन्त्री ओलीले एकताका लागि विश्वासको वातावरण बनाउन नसकेको बताउँदै माओवादी नेतृत्व अझै पनि एमालेसँग सशंकित छ। सोही कारण वैशाख ९ मा पार्टी एकताको औपचारिक घोषणाको तयारी गरिए पनि प्रक्रिया लम्बिने देखिएको माओवादीका एक नेता बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।