काठमाडौं– कुवेतमा अवैध रुपमा बस्दै आएका ३ हजार ५ सय नेपालीले आममाफी पाएका छन्।
कुवेतले अवैध रहेका नेपाली श्रमिकहरुलाई अप्रिल २६ देखि ३० तारिखसम्म आममाफी प्रक्रियामा सहभागिका लागि मिति तोकेको थियो।
विश्वमा कोरोना भाइरस फैलिएसँगै कुवेतले त्यहाँ रहेका अवैध आप्रवासी श्रमिकहरुलाई आममाफी दिएर स्वदेश फर्काउन सुरु गरिसकेको छ। यस्ता अवैध श्रमिकहरुका लागि जरिवाना समेत मिनाहा गरी फर्काउन सुरु गरेको हो।
पाकिस्तान, बंगलादेश, भारत, श्रीलंका, चीन, म्यानमार लगायत अन्य मुलुकहरुले आफ्ना देशका नागरिकहरु फर्काउन सुरु गरिसकेका छन्।
भारतको बाटो हुँदै कुवेत प्रवेश गरेका तथा करार अवधि सकिएपछि पनि लुकीछिपी कार्यरत रहेका नेपाली श्रमिकहरुलाई कुवेत सरकारले आममाफी दिएको हो।
आममाफी पाएका श्रमिकहरुले स्वदेश फर्किन कुनै शुल्क तिर्नुपर्दैन।
कुवेत सरकारले पनि आममाफी पाएका अवैध आप्रवासीहरुलाई घर फर्काउन तयारी अवस्थामा राखेको दूतावासले जनाएको छ। यसरी आममाफी पाएका श्रमिकहरुलाई स्वदेश फर्काउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
आममाफी अवैध रुपमा रहँदै आएका श्रमिकहरुका लागि एउटा अवसर पनि भएकाले नेपाल सरकारले आममाफी पाएका श्रमिकहरुलाई स्वदेश फर्काउन पहल गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए।
आममाफी पाएका श्रमिकहरुलाई कसरी सुरक्षित साथ ल्याउने र व्यवस्थित क्वारेन्टाइनमा राख्ने भनेर गृहकार्य पूरा भइसकेपछि उनीहरुलाई नेपाल ल्याउने उल्लेख गरिएको छ।
‘विदेशबाट फर्काइहाल्ने भन्दा पनि प्रशस्त पूर्वतयारी गर्नुपर्ने देखिएको छ सोही अनुसार तयारी भइरहेको छ’, महानिर्देशक दाहालले भने।
कुवेतमा ठूलो संख्यामा भारतको बाटो हुँदै गएका तथा करार अवधि सकिएपछि पनि अवैध रुपमा रहँदै आएका नेपाली श्रमिकहरुको संख्या हजारौंको भएको अनुमान छ। सात हजारभन्दा बढी त अवैध रुपमा बसेका कामदारहरु नै हुनसक्ने अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।