काठमाडौं- २०७४ सालमा नेप्से परिसूचकमा ३ सय ७४ अंकको गिरावट आएको छ। यस वर्षको पहिलो कारोबारको दिन बैसाख ३ गते १ हजार ६ सय ५१ दशमलव ५१ को बिन्दुमा रहेको नेप्से परिसूचक सालको अन्तिम कारोबारको दिन १ हजार २ सय ७७ को बिन्दुमा आएर रोकिएको छ।
यद्यपि सालको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक ४ दशमलव २२ अंकले बढेको छ। यस दिन परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको छ। बिहीबार १ सय ६५ कम्पनीको ४४ करोड ३० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकि बुधबार २९ करोड ३५ लाख ४ हजार २ सय ९९ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
बिहीबार कारोबारमा आएको मध्ये फाइनान्स समूह र बैंकिङ समूहमा गिरावट आएको छ भने अन्य समूहमा हरियाली छाएको छ। फाइनान्स समूह ५ दशमलव शून्य ६ अंकले घटेको छ भने बैंकिङ समूह १ दशमलव १२ अंकले घटेको छ।
बिहीबार सर्वाधिक कमाउनेमा बिमा समूह अन्तर्गतका लगानीकर्ता रहेका छन्। बिमा समूह ७९ दशमलव ८७ अंकले बढेको छ। त्यस्तै उत्पादन तथा प्रशोधन समूह ३८ दशमलब ७४ अंकले बढेको छ। भने, होटल समूह १९ दशमलव ५८ अंकले बढेको छ।
बिहीबार नबिल बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ। बैंकको संस्थापक सेयरको २ करोड २६ लाख ६० हजार ७ सय २० रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। त्यस्तै, ओम डेभलपमेन्ट बैंकको १ करोड ९७ लाख ३७ हजार ५ सय ४४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
बिहीबार प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य ६४ रुपैयाँ अर्थात् ६ दशमलव ७४ प्रतिशतले बढेको छ। त्यस्तै सूर्या लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ४६ रुपैयाँ कमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।