काठमाडौं- बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्गको अन्तिम 'ब्रेक थ्रु'को आज औपचारिक उद्घाटन गरिएको छ। सुरुङको सिन्धु ग्याल्थुम खण्ड ७.५ किमी 'ब्रेक थ्रु' भएको हो।
उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी तथा सरसफाइमन्त्री बिना मगर र एसियाली विकास बैंक (एडिबी) का दक्षिण एसिया महानिर्देशक हुन किमले आयोजनाको निकै अप्ठेरो मानिएको अन्तिम सुरुङ 'ब्रेक थ्रु'को आज औपचारिक उद्घाटन गरे।

२६ किलोमिटर लामो सुरुङ केही महिनामा पूर्ण रुपमा सञ्चालनमा आउनेछ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट वितरण गर्ने गरी काठमाडौं उपत्यकामा आपूर्तिका लागि मेलम्ची नदीबाट पानी ल्याउने तयारी छ।
सरकारले जुलाईको सुरुसम्म सबै काम सम्पन्न गर्ने र सुरुङको परीक्षण गर्ने योजना बनाएको छ। मेलम्ची नदीको पानी सुन्दरीजल खानेपानी प्रशोधन प्लान्टमा जुलाईमा पठाउन र काठमाडौं उपत्यकामा नयाँ प्रसारण र वितरण प्रणालीको परीक्षण अगस्टमा सुरु गर्न योजना सरकारको छ।
उक्त कार्यक्रममा उपराष्ट्रपति पुनले राजधानीवासीलाई हिमालको काखमा रहेको स्वच्छ खानेपानी दसैंअघि नै उपलब्ध गराउने बताए। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले सिन्धु अडिटदेखि ग्याल्थुमसम्मको सुरुङ जोड्ने काम सम्पन्न भएको र योजना सम्झौताअनुरुप काम अगाडि बढेमा अबको चार महिनाभित्र आउँदो भदौसम्ममा सुन्दरीजलमा पानी खसाल्ने बताए।
देवकोटाका अनुसार २७.५ किलोमिटरको सुरुङमध्येको काठमाडौँको सुन्दरीजलदेखि पानीको मुहान सिन्धुपाल्चोक जिल्लाको अम्बाथानसम्म जम्मा चार किलोमिटर सुरुङको मात्र ‘फिनिसिङ’ सम्पन्न भएको र अझै २३.५ किलोमिटर ‘फिनिसिङ’ गर्न बाँकी छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।