काठमाडौं– पछिल्लो पटक अध्यादेश प्रकरणमा असफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग पार्टीभित्रै उठिरहेको छ। बुधबारको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधव कुमार नेपालले उनको राजीनामाको कुरा उठाए।
सोही बैठकमा ओलीले भने बामदेव गौतमलाई प्रधानमन्त्रीको आगामी उम्मेदवारको रुपमा अघि सारे। र, नेता नेपाललाई पनि अध्यक्षको रुपमा प्रस्तावित गरे। यी दुवै प्रस्तावबारे पछिल्ला चार दिनमा व्यापक बहस भइसकेको छ। सम्बन्धित नेता निकटका अन्य नेताहरुले नै बहसलाई विकेन्द्रित गर्न ओलीले चलाखीपूर्वक त्यस्तो प्रस्ताव ल्याएको बताउने गरेका छन्।
यसैक्रममा ओलीले प्रचण्डलाई पनि आश्वासन दिएको खुलेको छ। ओलीलाई भेट्न शुक्रबार प्रचण्ड बालुवाटार पुगेका थिए। भेटमा प्रचण्डलाई ओलीले एकल अध्यक्षको प्रस्ताव गरेको उनी निकट नेताले जानकारी दिएका छन्। ओलीले आफ्नो प्रधानमन्त्री पदमा निरन्तरताको सुनिश्चिता गरे प्रचण्डलाई एकल अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए।
प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने, ‘एकल अध्यक्षको प्रस्ताव आएको रहेछ। तर विश्वास गरिहाल्न सकिने अवस्था छैन।’
पार्टीभित्र ओलीको चर्को विरोध हुन थालेपछि उनले व्यक्तिपिच्छे आश्वासन बाँडेर परिस्थितिलाई साम्य बनाउन खोजेको उनले अर्थ्याए। प्रधानमन्त्रीले ल्याएको प्रस्तावका विषयमा शनिबारको सचिवालयमा छलफल हुने उनले बताए।
बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणपछि उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए। ओली इतरका नेताहरुले आज प्रधानमन्त्रीको सोही प्रस्तावमा टेकेर थप दबाब सिर्जना गर्ने बुझिएको छ। उनीहरुले प्रधानमन्त्रीले राजीनामा दिन तयार रहेकाले त्यसलाई तत्काल अघि बढाउनुपर्ने र बामदेवलाई प्रधानमन्त्री बनाउने स्पष्ट खाका अघि सार्नुपर्ने विषयमा कुरा उठाउने रणनीति बनाएको निकटका नेताहरुले बताएका छन्।
त्यस्तै, स्थायी कमिटीको मिति तोक्नुपर्ने पनि असन्तुष्ट पक्षको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।