काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा देशको व्यापार घाटा हिसाब गर्न नमिल्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५२औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले अत्याधिक आयातलाई न्यून निर्यातसँग तुलना गरेर व्यापार घाटाको हिसाब गर्न नमिल्ने बताएका हुन्। उनले भने, 'व्यापार घाटा भएको होइन व्यापार नै नभएको हो।’
प्रधानमन्त्री ओलीले अबको ३ वर्षभित्र नेपाल विकासशील देशमा स्तरोन्नति हुनेसमेत बताए। त्यसका लागि प्रधानमन्त्री ओलीले विकास निमार्णको कार्यमा जोड दिन सबैलाई आग्रह गरेका छन्।
उनले भने, 'अहिले देशमा ३६ प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि छन्। त्यसलाई अन्त्य गर्न मुलुकले गतिशील रुपमा विकास निमार्णका कार्य अगाडि बढाउनुपर्छ।’
विकासका लागि नयाँ प्रविधिको प्रयोग गरेर उद्योगधन्दा अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ थियो। उनले मुलुकमा अब पुराना मेसिन नभित्र्याउने जानकारी दिए। भने, ‘सस्तो मूल्यको लोभमा परेर पुराना मेसिन भित्र्याउँदा त्यसले प्रभावकारी काम गरेको छैन। त्यसैले हामीले नयाँ प्रविधिलाई जोड दिएर नयाँ मेसिन भित्र्याउछौं।’
उद्योगी व्यवसायीले लामो समयदेखि राख्दै आएको ऐन परिर्वतनको मागलाई सरकारले प्राथमिकतामा रखेको प्रधानमन्त्री ओलीले जनाकारी दिए। उनले सरकार ऐन परिर्वतन र संशोधनको तयारीमा रहेको जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।