काठमाडौं– ३० वर्षे जागिरे जीवनका ‘तीतामिठा’ कुरा बाँडेर प्रहरी महानिरीक्षक प्रकाश अर्याल नेपाल प्रहरीबाट बिदा भएका छन्। बुधबार साँझ प्रहरी मुख्यालयमा आयोजित बिदाइ कार्यक्रममा उनले आफ्ना अनुभवबाट सिकेका पाठ सुनाउँदै नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई केही महत्वपूर्ण सुझाव समेत दिए।
प्रहरीको जागिरमा आफूले कहिल्यै महत्वाकांक्षी सपना नपालेको उनको भनाइ थियो। उनले भने, ‘प्रहरीको हैसियतले मैले प्राप्त गरेको जिम्मेवारी र मेरो भूमिकालाई सदा न्याय गर्ने मेरो प्रयास रह्यो। मातहतप्रति कतिपय प्रसंगमा म कठोर भए हुँला, तालुकप्रति म असभ्य सुनिएँ पनि हुँला! त्यो विषयप्रतिको मेरो प्रतिक्रिया थियो, व्यक्तिप्रति थिएन। यो व्यक्तिगत लाभका लागि पनि थिएन, बरु सांगठनिक हितका लागि थियो भनी स्पष्ट पार्न चाहन्छु।’
सेवा प्रवेशको सुरुवाती दिनदेखि नै संगठनको उद्देश्य प्राप्तिका लागि इमानदार, अनुशासित जीवन र समर्पणभावलाई केन्द्रमा राखी सेवामा समर्पित भएको उनले बताए। ‘मैले हरेक दर्जाको हरेक पोस्टिङमा रहेर कार्य गर्दा निहित लाभका लागि व्यक्तिगत नाफा–घाटाको हिसाब नगरी आफ्नो योग्यता, क्षमता तथा ज्ञान–कौशलको उच्चतम् प्रयोग गरेर उत्कृष्ट सेवा प्रवाह गर्न र संगठनको दीर्घकालीन हितका लागि प्रयासरत रहें,’ अर्यालले भने।

अर्यालले बिदाइ भाषणकै क्रममा खनाललाई छेउमा राखेर केही महत्वपूर्ण सुझाव दिएका छन्। यस्ता छन् उनका ७ सुझाव–
१. प्रहरी महानिरीक्षक सजिलो पद होइन। छनौटको दिनदेखि नै तपाईंका दुर्दिन शुरु हुन थाल्छन्। मातहतलाई तपाईं नियन्त्रण गर्न सक्नुहुन्छ, परन्तु हाम्रोजस्तो मुलुकमा मजकुर कार्यालयहरूको निजी स्वार्थ काबुबाहिरको परिस्थिति बन्दो रहेछ। असल नियतका कामलाई प्रवर्द्धन गर्ने भूमिकामा रहेका कार्यालयहरू झिनामसिना निजी स्वार्थलाई अभिष्ट ठानी बाधकको भूमिकामा देखा पर्दा रहेछन्। नवनियुक्त प्रहरी महानिरीक्षकका लागि पनि यो चुनौतीको विषय हुनेछ।
२. कुनै घटनामा आफ्नो मान्छे पीडित भए थुनाउन र आफ्नो मान्छे पीडक भए छुटाउन जुलुसै लिएर आउने नागरिकलाई हामीले चित्तबुझ्दो सेवा दिन नसकिएला, तर हरेक किसिमका समस्या तथा आपत् आइपर्दा हाम्रो सहारा प्रहरी नै हो भनेर हामीलाई पुकार्ने निमुखा जनता तथा प्रहरीप्रतिको अटल विश्वासले ओतप्रोत भई अमूल्य सहयोग गर्ने नेपाली जनताको मनमा रहेको नेपाल प्रहरीप्रतिको भरोसा र विश्वासलाई दरिलो बनाउनु हरेक नेतृत्व तथा हरेक प्रहरी कर्मचारीको दायित्व हो भन्ने यथार्थ सदा स्मरण रहोस्।
३. विगतको तुलनामा सांगठानिक मूल्य–मान्यता तथा ऐक्यबद्धतालाई अक्षुण्ण राख्ने अनुशासनमा क्षयीकरण हुँदै गएको छ। स्थापित विधि तथा नीतिको उल्लङ्घन गर्नुलाई स्मार्टनेस र बोल्डनेसको स्वघोषित पगरी गुथेर आत्मरतिमा रमाउनेहरू बढ्दै गएका छन्। भाइचारा र अपनत्वभाव हराउँदै गएको छ। नयाँ नेतृत्वलाई सांगठनिक ऐक्यबद्धता कायम गर्नु तथा प्रोफेसनल र पपुलिस्ट प्रहरी अधिकृत खुट्टयाउन कठिन हुने मैले देखेको छु।
५. संवैधानिक व्यवस्थाअनुसार हामी संघीय संरचनामा गइसकेका छौं र निकट भविष्यमा हरेक प्रदेशमा केही हदसम्म स्वायत्ततासहितको प्रदेश प्रहरी रहने कुरा अवश्यम्भावि छ। यस सन्दर्भमा संगठनलाई भौतिक रुपले सम्पन्न तथा भावनात्मक हिसाबले अझै एक ढिक्का बनाइराख्ने कार्य चुनौतीको विषय हुनसक्छ, यसप्रति पनि नवनियुक्त प्रहरी महानिरीक्षकज्यू र हरेक सदस्यको विशेष भूमिका हुने देख्छु।
६. संगठनलाई हाँक्ने अबको नेतृत्व ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शिताका धनी व्यक्तित्व हुनुहुन्छ। मैले उहाँलाई संगठनमा जहिले पनि पारदर्शी र उच्च नैतिक अनुशासनमा रही काम गरेको पाएको छु। उहाँको योग्यता, क्षमता तथा इमानदारिताको मूल्यांकन गर्दै उहाँलाई संगठनको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएको छ।
७. उहाँले आफ्नो कार्यकालमा संगठनलाई थप नयाँ उचाइ दिनहुनेछ भन्ने मेरो विश्वास छ। संगठनमा देखिएका यावत् बाह्य तथा आन्तरिक चुनौतीलाई चिरेर जानुपर्ने सुझाव दिँदै संगठनको यश वृद्धिका लागि आफ्नो नवनियुक्त प्रहरी महानिरीक्षकज्यूलाई रचनात्मक सहयोग गर्न हरेक प्रहरी कर्मचारीलाई अनुरोध गर्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।