काठमाडौं– हातहतियार तथा खरखरजना मुद्दामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सोमबार ‘गुन्डा नाइके’ गणेश लामालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए।
आदेशलगत्तै लामालाई केन्द्रीय कारागार पठाउन प्रशासन कार्यालयको मुद्दा शाखाका कर्मचारीले पत्र बनाए। तर, त्यो पत्र तत्कालै च्यातेर अर्को पत्र तयार पारियो। किनकि लामाले केन्द्रीय कारागार नभई आफू डिल्लीबजार कारागार जाने जिकिर गरे।
लामाका लागि डिल्लीबजार 'अनुकूल' जेल हो।
उनी मात्रै होइन धेरैजसो ‘भिआइपी कैदी/बन्दी’ले डिल्लीबजार कारागार नै रोज्ने गरेका छन्। सदरखोरका नामले चिनिने यो जेलमा भिआइपी कैदी/बन्दीहरुको भिड छ।
पूर्वआइजिपीदेखि नेतासम्म
गत बिहीबार पाटन उच्च अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएपछि नेपाली सेनाका जर्नेल डा रमेश बिष्टलाई नख्खु कारागार लैजाने तयारी थियो। तर, उनले डिल्लीबजार कारागार नै लैजान आग्रह गरे। उनी हाल डिल्लीबजार कारागारको ‘क’ ब्लकमा छन्।
सोही ब्लकमा पूर्वआइजिपी ओमविक्रम राणा पनि १० महिनादेखि छन्। उनी जेलमा चौकीदारहरु सुत्ने माथिल्लो तलाको सुविधायुक्त कोठामा सुत्छन्। प्रहरीको सुडान भ्रष्टाचार प्रकरणमा उनी २ वर्षका लागि जेल परेका हुन्। उनीसँगै जेल परेका पूर्वआइजिपी हेम गुरुङसहित ५ जना पूर्व उच्चअधिकारी सोही जेलमा बसेर हालै मात्र छुटेका छन्।
श्रीमती हत्याको आरोपमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइराला पनि डिल्लीबजार कारागारकै ‘क’ ब्लकमा छन्। सोही ब्लकमा चर्चित व्यापारी सुधीर बस्नेत छन्। बस्नेत जेलमा भाइनाइके नै भइसके। हाउजिङ तथा सहकारीको ठगी मुद्दामा उनी जेल परेका हुन्।
त्यस्तै माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलले पनि नख्खुबाट डिल्लीबजार कारागार नै रोजेर त्यहाँ स्थानान्तरण भएका हुन्। उनी जेलको 'ख' ब्लकमा छन्।
यसअघि पनि भ्रष्टाचार मुद्दामा जेल परेका चिरञ्जीवी वाग्ले लगायत नेताहरु डिल्लीबजार कारागारमै बसेका थिए।
प्राय: पहुँचवाला व्यक्तिहरुले डिल्लीबजार कारागार रोज्ने गरेका छन्।
तुलनात्मक रुपमा डिल्लीबजार कारागारको भवन कमजोर छ। तर, पनि यही जेल रोज्नुका पछाडि भेटघाटमा हुने सहजता पनि हो।
अन्य जेलमा छुट्टै भेटघाट गर्ने ठाउँ छैन। तर, डिल्लीबजार जेलमा चौकीदार, नाइके, भाइनाइके र ‘पहुँचवाला’ व्यक्तिहरुका लागि भनेर घेटघाट गर्ने छुट्टै स्थान बनाइएको छ। जेलको प्रांगणमा सुविधासम्पन्न भेटघाटस्थल नै छ।
कारागार व्यवस्था विभागका निमित्त महानिर्देशक कृष्ण आचार्य धेरैले डिल्लीबजार कारागार रोज्ने गरेको तर कारणबारे आफूलाई जानकारी नभएको बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।