काठमाडौं– हरेक प्रदेशमा एक-एक वटा आवासीय मातृभाषी विद्यालय स्थापना गरिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बुधबार पाँच वर्षे शैक्षिक मार्गचित्र सार्वजनिक गर्दै प्रदेशमा मातृभाषी विद्यालय स्थापना गर्ने जनाएका हुन्।
'हरेक प्रदेशमा एक-एक वटा आवासीय मातृभाषी विद्यालय स्थापना गर्नुका साथै विद्यार्थीको रुचि, क्षमता र वौद्धिकतालाई सम्बोधन गर्न कला, खेलकुद लगायतका विशिष्टीकृत विद्यालय स्थापना र सञ्चालन गर्ने नीति लिइनेछ', मार्गचित्रमा उल्लेख छ।
त्यस्तै, शिक्षकले सिकाइ सहजीकरण गर्दाको कम्तिमा पनि आधा समय अनिवार्य रुपमा बालकेन्द्रित क्रियाकलापमा खर्चिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइनेछ।
प्रधानाध्यापकलाई विद्यालयको नतिजाप्रति उत्तरदायी बनाइने मार्गचित्रमा उल्लेख छ। 'शिक्षकको विज्ञता परीक्षण र विद्यालयका प्रधानाध्यापको नेतृत्व परीक्षण गर्ने व्यवस्था मिलाइनेछ', मार्गचित्रमा भनिएको छ, 'प्रधानाध्यापकलाई थप सवलीकरण गरी विद्यालयको नतिजाप्रति उत्तरदायी बनाइनेछ।'
दुर्गमका विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने समस्या देखिइरहेका बेला मार्गचित्रमा भने समयमै पाठ्यपुस्तक पुर्याउने कार्यलाई अभियानकै रुपमा अगाडि बढाउने बताइएको छ। त्यस्तै, 'शिक्षकको हातमा पाठ्यक्रम, विद्यार्थीको हातमा पाठ्यपुस्तक' को प्रभावकारी कार्यान्वयन गरिने समते उल्लेख गरिएको छ।
अब विश्वविद्यालयलाई राष्ट्रिय तथा प्रादेशिक विश्वविद्यालयमा वर्गीकरण गरिने भएको छ। 'संघीय र प्रादेशिक विश्वविद्यालयका लागि संघीय सरकारमार्फत हुने लगानीको ढाँचा निर्धारण गरिने छ', मार्गचित्रमा उल्लेख छ।
मार्गचित्रमा दुई वर्षभित्र साक्षर नेपाल घोषणा गरिने उल्लेख छ। 'दुई वर्षभित्र साक्षर नेपाल घोषणा गरिनेछ। जीवनपर्यन्त सिकाइ प्रवर्द्धन गर्न निरन्तर शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। अनौपचारिक शिक्षाबाट प्राप्त ज्ञान तथा सीपलाई आयमूलक कार्यक्रमसँग आबद्ध गर्दै लगिनेछ', मार्गचित्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।