काठमाडौं– सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक शैलेन्द्र खनालले वृत्तिविकास लगायत रोकिएका कामलाई तत्काल अघि बढाउने बताएका छन्।
संगठनमा समयमा वृत्ति विकास नहुँदा निराशा छाइरहेका बेला उनले त्यसलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका छन्। नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘संगठनको साँच्चिकै अभिभावक बनेर काम गर्नेछु, वृत्ति विकास लगायत रोकिएका कामहरु तत्काल अघि बढ्नेछन्।’
संगठनलाई सरकारले दिएको म्यान्डेडलाई पूर्ण इमानदारीका साथ पूरा गरिने खनालले बताए। भ्रष्टाचारमाूशुन्य सहनशीलता अपाइने बताउँदै उनले भने, ‘शून्य सहनशीलताका आधारमा सबैलाई समेटेर अघि बढ्नेछु।’
सशस्त्र प्रहरीलाई राष्ट्र र जनताको सेवामा कटिबद्ध बनाउन एक ढिक्का भएर संगठन अघि बढाइने उनको भनाइ छ।
खनाल ४ वर्षका लागि आइजिपीमा नियुक्त भएका हुन्। २०७८ चैत २८ गतेसम्म उनी सशस्त्र प्रहरीको आइजिपी हुनेछन्।
सिंहबहादुर श्रेष्ठले बुधबारदेखि अवकाश पाएपछि खनालले जिम्मेवारी सम्हालेका छन्। श्रेष्ठको बिहीबार बिदाई गरिएको छ। बिहीबार बिहान फुली लगाएपछि खनालले कार्यभार सम्हाल्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।